• २१ पुस २०८१, आइतबार

नेपाल प्रहरीको भूमिका महत्त्वपूर्णः मुख्यमन्त्री लामा

blog

अनिल पराजुली
हेटौँडा, असोज ३० गते ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले देशमा शान्ति सुरक्षा कायम गर्न र विपदको समयमा नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण हुने गरेको बताउनुभएको छ । ६९ औँ प्रहरी दिवस–२०८१ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अग्रपङ्तिमा रहेर नेपाल प्रहरीले नागरिकको सुरक्षा गरिरहेको बताउनुभयो ।

उहाँले नेपाल प्रहरीको स्थापनाकालदेखि नै राष्ट्र र जनताका लागि हरेक तवरबाट खट्दै आएको गौरवमय इतिहास रहेको स्मरण गर्दै देशको शान्ति सुरक्षा र अमनचैन कायम गर्ने जिम्मेवारी पनि पूरा गरिरहेको बताउनुभयो । विपदबाट उद्धार, लागूपदार्थ रोकथाम र अपराध अनुसन्धानका लागि नेपाल प्रहरी निरन्तर खट्दै आएको प्रशंसा गर्दै मुख्यमन्त्री लामाले देशमा भएको राजनीतिक परिवर्तन, शान्ति सुरक्षा कायम गर्ने र २०७२ सालको विकाशकारी महाभूकम्पमा समेत निर्वाह गरेको भूमिका सम्मानयोग्य रहेको बताउनुभयो ।

प्रसङ्ग जोड्दै बाढी पहिरोका कारण बागमती प्रदेशमा आएको विपदका समयमा नेपाल प्रहरीले जनताको उद्धारका लागि घटनास्थलमा पुगेर जनताका लागि पुर्‍याएको सहायताप्रति पनि धन्यवाद दिनुभयो । प्रहरीका कारण नै आम नागरिकले ढुक्क भएर चाडपर्व मनाउन सकेको बताउँदै चाडपर्वमा कार्यस्थलमै खटिने प्रहरीको जति प्रशंसा गरे पनि कम हुने उहाँले तर्क गर्नुभयो ।


‘‘राज्यले नागरिकप्रति निर्वाह गर्नुपर्ने मुख्य जिम्मेवारीमध्ये नागरिकको जीउधनकै रक्षा गर्नु प्रमुख जिम्मेवारी हो, उक्त जिम्मेवारी राज्यको तर्फबाट नेपाल प्रहरीले निर्वाह गर्दै आएको छ,’’ मुख्यमन्त्री लामाले भन्नुभयो । नागरिकले जुनसुकै बखत राज्यको खाँचो महसुस गर्दा सबैभन्दा पहिलो राज्यले देखाउने उपस्थिति नेपाल प्रहरीको रहेको उहाँको भनाइ छ ।

दिनरात नभनी खटिने प्रहरी, कर्मचारीको वास्तविक मिहिनेत अनुसार राज्यले प्रयाप्त सेवा सुविधा दिन नसकेको स्वीकार्दै राज्यको अन्य कर्मचारीको तुलनामा नेपाल प्रहरीको खटाई अधिक रहेको मुख्यमन्त्री लामाको विश्लेषण छ । न्यून स्रोत र साधन हुँदा पनि नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्न खटिरहेको उहाँको भनाइ छ । उहाँले बागमती प्रदेशमा प्रहरी सङ्गठनलाई स्रोत साधन र दक्ष जनशक्ति युक्त बनाएर लैजान प्रदेश सरकार सदैव तयार रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले नागरिकको सेवामा सधैँ अग्रभागमा रहेर नेपाल प्रहरीले सेवा दिइरहेको बताउनुभयो । विगतदेखि चुनौतीको सामना गर्दै आएको नेपाल प्रहरीको त्याग, बलिदान सबैका लागि प्रेरणाको स्रोत बनिरहेको बताउनुभयो । हरेक परिर्वतनको साक्षी नेपाल प्रहरी भएको जिकिर गर्दै मन्त्री लामिछानेले प्रतिकूल अवस्थामा पनि नागरिक सेवामा प्रहरी लागिरहेकोप्रति उहाँले प्रशंसा गर्नुभयो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले स्वागत गर्नुभएको कार्यक्रममा बागमती प्रदेश प्रहरी गणले नृत्य प्रस्तुत गरेको थियो । सोही अवसरमा सेवानिवृत्त, उत्कृष्ट कार्यगर्ने प्रहरी, प्रहरी दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका उत्कृष्ट तथा विजेता र उपविजेतालाई मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब महानिरीक्षक कृष्ण हरि शर्माले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।