• ८ मंसिर २०८१, शनिबार

दुर्गा भवानीको मूर्ति विसर्जनको ड्रोनबाट निगरानी

blog

ड्रोन क्यामेरामार्फत सुरक्षा व्यवस्था अनुगमन गर्दै प्रहरी । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, असोज २७ गते । विजयादशमीको घटस्थापनादेखि नेपालगन्जमा स्थापना गरिएका दुर्गा भवानीका मूर्तिहरूको विसर्जन आइतबार दिउँसोबाट गरिने भएको छ । नेपालगन्जको सुरक्षा व्यवस्थालाई कडा पारिएको र ड्रोनबाट निगरानी गरिने भएको छ । 

चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेर कार्यान्वयन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले दुर्गा भवानीको मूर्ति विसर्जन जुलुसको सुरक्षा र निगरानीका लागि थप सुरक्षा योजना बनाएर कार्यान्वयन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताउनुभयो । 

उहाँले सोही योजना अन्तर्गत आइतबार ड्रोन क्यामेरामार्फत सुरक्षा अवस्थाको अनुगमन पनि निरन्तर भइरहेको बताउनुभयो । एसपी कार्कीका अनुसार नेपालगन्जका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा मूर्तिको विसर्जन जुलुस, बजारको वस्तुस्थिति र सुरक्षा अवस्थाबारे निगरानी गर्न जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगन्जद्वारा ड्रोनमार्फत अनुगमन गरिएको छ ।

मूर्ति स्थापना गरिएका सबै स्थानमा हरेक समय प्रहरी राख्न नसकेको अवस्थामा ड्रोन क्यामेरामार्फत पनि त्यहाँको वस्तुस्थिति बुझ्न सहज हुने भएकाले ड्रोन क्यामेराको प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

बाँके जिल्लाका सहर तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएका करिब ४०० बढी दुर्गा मूर्तिलाई राप्ती नदी, डुडुवा खोल र मान खोलामा लगेर सेलाइने गरिन्छ । ट्रक, ट्राली लगायत विभिन्न सवारी साधनमा मूर्तिलाई राखेर लावालस्करका साथ, बाजागाजा, बैण्डबाजा बजाएर नाचगान गर्दै जय मातादीको नारा लगाउँदै मूर्ति सेलाइने गरिएको स्थानीय अगुवा नन्दलाल वैश्यले बताउनुभयो । 

उहाँले घटस्थापनाको दिनदेखि स्थापना गरिएका दुर्गा मूर्तिको नौ दिनसम्म विशेष पूजापाठ गरी दसैँको भोली पल्ट सेलाइने परम्परा रहेको बताउनुभयो । विसर्जन कार्यक्रमलाई सौहार्द, शान्तिपूर्ण र सामाजिक सदभावकासाथ सम्पन्न गर्न विशेष सुरक्षा व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । 

उहाँले मूर्ति विसर्जन रैली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् सौम्य तुल्याउन विसर्जन जुलुस निस्कने रुटहरू लगायत जिल्लाभरिमा सुरक्षा व्यवस्था कडा बनाउन एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो ।