शेरबहादुर सार्की
बाजुरा, असोज २७ गते । बाजुरामा दसैँ लागेसँगै जिल्लाको मार्तडी बजार सुनसान बनेको छ । मार्तडी बस्दैआएका अधिकांश स्थानीय दसैँ मनाउन गाउँघर गएसँगै मार्तडी बजार केही दिनदेखि सुनसान बनेको हो ।
यहाँ बसेकाहरू दसैँ लागेसँगै दसैँ मनाउन धमाधम घर गएपछि मार्तडी बजार सुनसान बन्दै गएको गैरी बजारस्थित होटेल व्यवसायी प्रेमबहादुर बुढाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “दसैको बेला सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी विद्यार्थी र व्यापार व्यवसायी समेत गाउँ फर्किएपछि मार्तडी बजार सुनसान बन्दै गएको छ ।”
बाजुरामा प्रायः अष्टमी नवमी दशमी र पूर्णिमासम्म दसैँ मनाउने गर्दछन् । बाहिर गएकाहरू त्यसपछि मात्र मार्तडी आउने गर्दछन् । बाहिर गएकाहरू यहाँ नआउँदासम्म केही समय यो मार्तडी बजार यसरी नै सुनसान हुनेगरेको बुढाले बताउनुभयो ।
जिल्लामा हुने विभिन्न सेवा सुविधा लिन सहज हुने भएकाले बाहिरका स्थानीय मार्तडी बसोबास गर्ने गरेको बडिमालिका नगरपालिका–८ अस्थायी रूपमा बसोबास गर्दैआएका स्थानीय प्रकाश दानीले बताउनुभयो ।
अस्थायीरुपमा यहाँका बसोबास गर्दै आएकाहरू यसरी प्रत्येक वर्षमा दसैँको समय दसैँ तिहार मनाउन गाउँ जाने गर्दछन् । दसैँ मनाएर मात्र फेरि मार्तडी बजारमा आउने गरेको दानीले बताउनुभयो ।