• ८ मंसिर २०८१, शनिबार

प्रधानाध्यापकलाई आनन्द आश्रम प्रज्ञा सम्मान

blog

सम्मानित भएको अवसरमा लिइएको तस्बिर । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, असोज २७ गते । आँधीखोला ५ मा रहेको आनन्द आश्रम ज्ञानकेन्द्रले दुई जना प्रधानाध्यापकलाई सम्मान गरेको छ । यहाँ तीन दशकदेखि निरन्तर उत्कृष्ट शैक्षिक र प्राज्ञिक कर्म गरेको भन्दै आनन्द प्रज्ञा सम्मानद्वारा काजीमान हरिटीका माविका प्रधानाध्यापक ऋषिराम शर्मा र त्रिभुवन आदर्श माध्यमिक विद्यालयका प्रअ मुक्तिप्रसाद रेग्मीलाई सम्मान गरिएको हो । 

यहाँ आयोजित विचार गोष्ठीमा प्राज्ञद्वयलाई आनन्द आश्रम प्रज्ञा सम्मानले दोसल्ला ओढाएर सम्मान सम्मानपत्रले सम्मान गरिएको हो । काजीमान हरिटीका माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिराम शर्मा माध्यमिक तह प्रथम श्रेणीका शिक्षक विगतमा स्रोत व्यक्ति र प्रशिक्षकको भूमिकामा रही स्याङ्जा जिल्लाको शैक्षिक उन्नयनमा अहम् भूमिका खेल्नुभएको छ ।

यस्तै, त्रिभुवन आदर्श माविका प्रअ मुक्तिप्रसाद रेग्मी गण्डकी प्रदेश परीक्षा समितिको सदस्य हुनुहुन्छ । एउटा सामान्य रूपमा चलिरहेको त्रिआ माविलाई जिल्लाकै नमुना विद्यालय बनाएर हजारौँ विद्यार्थीसहितको रूपान्तरित उदाहरणीय विद्यालयमा परिणत गर्ने सक्षम नेतृत्वका रूपमा रेग्मीलाई चिनिने गरिएको छ । 

जिल्लामै साहित्यिक गतिविधि शून्य भइरहेको बेलामा बुबा आनन्द ढकालको प्राज्ञिक योगदानलाई जीवित बनाउने गरी पूर्वमन्त्री त्रिलोचन ढकालले आनन्द आश्रमलाई साहित्यिक र प्राज्ञिक जमघटको थलो बनाउनु भएको हो । आनन्द आश्रम ज्ञानकेन्द्रले मासिक साहित्यिक कार्यक्रम गर्दैआएको छ ।