• ८ मंसिर २०८१, शनिबार

कोहलपुरमा भएको दुर्घटनामा घाइते रोकाको मृत्यु

blog

बसले मोटरसाइकललाई ठक्कर दिंदा भएको दुर्घटना । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज २५ गते । बाँकेको कोहलपुर–नेपालगन्ज रोडमा भएको दुर्घटनामा गम्भीर घाइते हुनुभएकी २१ वर्षीय मनिषा रोकाको उपचारको क्रममा मृत्यु भएको छ । 

यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएपछि उपचारका लागि भारतको लखनउस्थित देभिना अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा उहाँको निधन भएको हो ।

असोज २३ गते काठमाडौँबाट नेपालगन्ज आउँदै गरेको भे. १ ख. ३७०९ नम्बरको बसले भे. १३ प. ६१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । खजुरा गाउँपालिका–२ का २२ वर्षीय तेजविक्रम मल्ल र उहाँकी पत्नी मनिषा रोका गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

सो दुर्घटनामा मल्लको टाउकोमा चोट लागेको थियो भने मनिषा रोकालाई गम्भीर चोट लागेको थियो । उनीहरुलाई उपचारका लागि लखनउ लगिएको थियो, जहाँ मनिषाको निधन भएको छ । मल्लको उपचार जारी रहेको प्रहरीले जनाएको छ । मृतक रोका कोहलपुरस्थित कौसिल्या अस्पतालमा फार्मेसी असिस्टेन्टको रूपमा कार्यरत हुनुहुन्थ्यो ।