• ८ मंसिर २०८१, शनिबार

सुदूरपश्चिम र कर्णालीका भेडा च्याङ्ग्रा पोखरामा

blog

पोखराको यम्दीमा सडक छेउमा बिक्रीका लागि राखिएका च्याङ्ग्रा, भेडासँग व्यापारी राजेन्द्रबहादुर धामी । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, असोज २५ गते । पोखराको सिम्पानीदेखि याम्दीसम्मको सडक छेउमा केही वर्षदेखि सेता च्याङ्ग्रा, भेडा र पश्चिमी लबजका व्यापारीहरु देखिन्छन् । दसैँका लागि सुदूरपश्चिम र कर्णालीका व्यापारी यहाँ आएर भेडा, च्याङ्ग्राका व्यापार गर्दैआएका छन् ।

दसैँको घटस्थापनादेखि अष्टमी नवमीसम्म यहाँ कर्णाली र सुदूरपश्चिमका व्यापारीहरु व्यापारमा व्यस्त हुन्छन् । पश्चिम क्षेत्रबाट भेडा, च्याङ्ग्रा आएपछि मुस्ताङी च्याङ्ग्राको विकल्प ग्राहकले पाएका छन् । मूल्यमा पनि प्रतिस्पर्धा भएको छ । 

बझाङको साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्रबहादुर धामी अहिले भेडा, च्याङ्ग्रा बेच्नै व्यस्त हुनुहुन्छ । “अब धेरै बाँकी छैनन्, बेचेर आजै फर्किने योजना छ” उहाँले भन्नुभयो ।

साइपालमा च्याङ्ग्रा पाल्ने उहाँले आधा आफ्नै गोठका र आधा गाउँमा किनेर पोखरा ल्याउनुभएको थियो । पहिलो चरणमा एकसय २० वटा च्याङग्रा ल्याएकोमा सबै बिक्री भएपछि दोस्रो पटक ६० वटा ल्याउनुभएको थियो । २०७४ को चुनावबाट पालिका अध्यक्ष जित्नुभएका उहाँले २०७९ मा टिकट पाउनुभएन । 

“पहिले जसलाई मैले हराएको थिएँ, अहिले उहाँ नै अध्यक्ष बन्नुभएको छ, म फुर्सद हुँदा यो मौसमी व्यापारमा छु” उहाँले भन्नुभयो । गाडीमा तीन दिन तीन रातमा पोखरा ल्याई भेडा, च्याङग्राले मुस्ताङकाजस्तो भाउ पाउन नसकेको उहाँको गुनासो छ । 

कर्णाली र सुदूरपश्चिमबाट पोखरामा यसपालिका एक हजार छसय जति भेडा, च्याङ्ग्रा ल्याइएको थियो । अधिकांश व्यापारी भेडा, च्याङ्ग्रा बेचेर फर्किइसकेका छन् । केही घर फर्किने तयारीमा छन् । नौगाड गाउँपालिकाबाट पोखरा आउनुभएका अर्का च्याङ्ग्रा व्यापारी सुवाससिंह ठगुन्नाले घर फर्किन लागेको सुनाउनुभयो ।

पोखरामा मुगु, दार्जुला, जुम्लाबाट पनि भेडा, च्याङ्ग्रा ल्याएका छन् । दसैँका लागि २० हजार जति भेडा, च्याङ्ग्रा पोखरा आएकोमा १८ हजार हाराहारी बिक्री भइसकेको व्यापारीहरु बताउँछन् । बाँकी भेडा, च्याङ्ग्रा र खसीबोका फ्रेस हाउसमार्फत् बिक्री हुने उनीहरुको भनाइ छ ।  

यहाँ खसीबोका भने कास्कीसहित स्याङ्जा, तनहुँ र लमजुङबाट ल्याइन्छ । अहिले पोखराको बजारमा च्याङ्ग्राको मासु प्रतिकेजी दुई हजारदेखि दुई हजार दुई सयसम्ममा बिक्री भइरहेको छ । खसीको मासु भने किलोको एक हजार दुई सय ५० रुपियाँ किलोमा बिक्री भइरहेको छ ।