• १९ पुस २०८१, शुक्रबार

गाईको महत्व उजागर गर्न महायज्ञ

blog

रेसुङ्गा चौतारा गौशालामा रहेका गाईहरु । तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, असोज २३ गते । गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा गाईको महत्व उजागर गर्न महायज्ञ सञ्चालन गर्न लागिएको छ । 

रेसुङ्गा संरक्षण समितिले यहाँस्थित रेसुङ्गा चौतारा गौशालामा आगामी कात्तिक ८ गतेदेखि १६ गते गाईतिहार अर्थात् औंसीका दिनसम्म गोकथा, श्रीमद्भागवत पाठपारायण तथा कथा प्रवचन ज्ञान महायज्ञ गर्न लागिएको अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो । 

गाईको संरक्षण गर्न गाईको महत्व, गाईबाट व्यक्ति तथा पर्यावरणमा पर्ने सकारात्मक प्रभावका साथै सोंचको विकासका लागि यसको महत्व बुझाउन र पितृहरुको उद्धारका लागि नौ दिनसम्म महायज्ञमा सञ्चालन हुने उहाँले बताउनुभयो । 

गाई र श्रीकृष्ण भगवानकाे अन्योन्याश्रित सम्बन्ध रहेकाले त्यसलाई स्थापित गर्न महायज्ञबाट सहयोग पुग्नुका साथै रेसुङ्गाको पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने विश्वास लिएको उहाँले बताउनुभयो । 

पण्डित रमेश सुवेदीद्वारा प्रवचन गरिने यस महायज्ञलाई सफल बनाउन सबै गुल्मीबासीलाई आग्रह गर्नुहुँदै अध्यक्ष भुसालले गोकथा, श्रीमद्भागवत पाठपारायण तथा कथाप्रवचन ज्ञान महायज्ञ पहिलो पटक आयोजना गर्न लागिएको हुँदा तम्घासदेखि रेसुंङ्गा चौतारा गौशालासम्म कलशयात्रा गरिने बताउनुभयो । 

धार्मिक कार्यक्रमलाई सफल बनाउन रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल आयोजक समिति र नौ वटा उपसमिति गठन गरिएको छ । 

विगतदेखि नै गाईको संरक्षण गर्दै आएको यस समितिले २०४२ सालदेखि व्यवस्थित रुपमा रेसुङ्गा चौतारा गौशालामा स्थानीय जातका गाईहरुको पालन पोषण र संरक्षण गर्दै आएको छ । गाई संरक्षणका लागि रेसुङ्गा संरक्षण समितिले विगत पाँच वर्षदेखि मुठिदान अभियान समेत सञ्चालन गर्दैआएको छ । हाल यहाँ १५० भन्दा बढी स्थानीय जातका गाई छन् ।