• ७ मंसिर २०८१, शुक्रबार

शक्तिपीठमा दसैँको रौनक

blog

धीरेन्द्रप्रसाद साह

जनकपुर, असोज २३ गते। दसैँको पाँचौँ दिनसम्म आइपुग्दा मधेशका भगवतीका मन्दिर तथा शक्तिपीठमा भिडभाड बढ्दै गएको छ । प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका गरी आठ वटै जिल्लास्थित दुर्गा भगवती, काली भगवती, राजदेवी मन्दिरमा श्रद्धापूर्वक पूजापाठ, अराधना गर्न दर्शनार्थीको भिड बढेको हो । 

सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कङ्कालीनी मन्दिर, राजदेवी मन्दिर, डाक्नेश्वरी मन्दिर, सिराहा र धनुषाको राजदेवी मन्दिर, बाराको गढीमाई मन्दिर, पर्साको गहवाईमाई मन्दिरमा श्रद्धालु भक्तजनको सबैभन्दा बढी भिड लाग्ने गरेको छ । श्रद्धालु दिनभरि नै उपवास तथा निराहार बसेर नवरात्र पूजापाठ गर्ने गर्छन् भने कोही अरवा खाएर पूजापाठ गर्ने गर्छन् । 

छिन्नमस्तामा नाशा पूजा

दसैँमा सप्तरीको छिन्नमस्ता गाउँपालिकाको सखडास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा नाशा र तान्त्रिक विधिबाट पूजाआराधना गर्ने गरिन्छ । वर्षका चार वटै नवरात्रिमा ५६ प्रकारका परिकार बनाएर मध्यरातमा नाशा पूजा गरिन्छ । पूजामा विघ्नबाधा उत्पन्न हुन थालेपछि तान्त्रिकलाई बोलाएर तन्त्रमन्त्रद्वारा पूजा गराई भगवतीको सिंहासनमा एउटा जन्तर राखी बडादसैँको महाअष्टमीको राति तान्त्रिक विधिद्वारा पूजा गरिने चलन छ । 

यहाँ हिन्दु धर्मालवम्बी र अन्य धर्मालवम्बीका व्यक्तिहरू ढृढ इच्छाशक्ति एवं विश्वासका साथ विभिन्न मनोकामना लिएर पुग्ने गर्छन् । यहाँ भारतबाट समेत श्रद्धालु भक्तजन आउने गर्छन् । मन्दिरका पीठाधीश महाकान्त ठाकुरका अनुसार यहाँ आएर भाकल गर्नेहरूले त्यो पूरा भएपछि गच्छे अनुसार खसी, बोका, भेडा, परेवा, हाँस र माछाको बलि दिने गर्छन् । त्यस्तै यहाँ कुमारीलाई भोजन गराएर क्षमता अनुसार दक्षिणा दिएर कुमारीको जुटो प्रसादका रूपमा ग्रहण गर्ने चलन छ ।

छिन्नमस्ता भगवती मन्दिरमा पशुबलि गर्दा निस्केको रगतमा झिँगाा बस्दैन, रगत लुगामा बस्दा दाग लाग्दैन, पोखरीको पानीमा मिसिँदा रातो हुँदैन, बलि प्रदान गर्ने नाममा राखेका खसीबोका तन्दुरुस्त हुन्छन्, बलिका लागि खसीबोका किन्नुअगाडि कुकुर, स्यालले टोकेको छ, अछुतो छ भने मन्दिर पुग्दा नपुग्दै मर्ने गरेको भक्तजन बताउँछन् । 

बलि प्रदानको रगत पोखरीमा नबगाएमा अनिष्ट हुने, जुटो वा अपवित्र पूजा सामग्री कुकुर र कागले छोएर चढाउन नदिने, पवित्र पूजा सामग्री तथा प्रदान गरिएको बलि एवं चढाएको प्रसादलाई कुकुर र कागले नछुने जस्ता दैवी शक्ति रहेको पीठाधीश ठाकुरको भनाइ छ ।

छिन्नमस्ता भगवती १३० वर्षअघि गुफामा स्थानीय च्याखुरी नानी र चुनीलाल ठाकुरले भेटेपछि सफा गरेर भीक्षाटन रकमबाट सानो मन्दिर निर्माण गरेका थिए । मन्दिरभित्र मूल देवीका रूपमा भगवतीको कालो रङको बुट्टेदार मूर्ति छ । मूर्तिको पाउतिर राँगाको काटिएको टाउको प्रस्ट रूपमा ढुङ्गामा कुँदिएको छ । मूल मूर्तिको देबे्रपट्टि व्रmमशः दक्षिणकाली, महषिमर्दिनी र दाहिनेतिर व्रmमशः चामुण्डा, भैरवी र त्यस्तै कालो रङको प्रस्तर मूर्ति स्थापित छ । ती मूर्तिहरूलाई पञ्चभगिनी पनि भनिन्छ । 

कङ्कालिनीमा एक हजार राँगाको बलि

प्रसिद्ध शक्तिपीठमध्येको सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा नवमीको दिन करिब हजारको सङ्ख्यामा राँगा बलि चढाइन्छ । यहाँ सन्तानका प्राप्ति, स्वास्थ्य लाभका, सङ्कटबाट मुक्तिका लागि गरेको पूरा भएपछि महानवमीको दिन राँगाको बलि चढाइन्छ । राँगा बलिसाथ एक खसीबोका बलि अनिवार्य चढाइन्छ । यसबाहेक खसीबोका, परेवा, मिठाई तथा गरगहनासमेत चढाउने गर्दछन् । 

दस फिट गहिरो गुफामा राजदेवी 

राजविराजस्थित राजदेवीमाताको जमिनको सतहभन्दा करिब १० फिट मुनि (गुफा) मा अवस्थित छ । राजदेवी मन्दिरको सिंहासनमा कलात्मक ढुङ्गाका चौकसका टुव्रmाहरू राखिएका छन् । एउटा ढुङ्गाामा नारीको मूर्ति कँुदिएको छ । सिंहासनमा राखिएका अन्य स्तम्भका टुव्रmाहरूमा विभिन्न चित्र अङ्कित छन् । तत्कालीन समयमा सेनवंशी राजाका इष्टदेवी राजदेवी हुन् र सेनहरू देवस्थलमा प्रतिमा नभई शिलालाई पुज्ने गर्दथे । राजदेवीमाताको मन्दिरमा सप्तमीका दिन नेपाली सेनाको एक टोलीले फूलपाती भिœयाउने गर्दछ । यहाँ पनि सयौँको सङ्ख्यामा पशुबलि प्रदान गरिन्छ र श्रद्धाल ुभक्तजनको भिडभाड लाग्ने गरिन्छ ।

यस्तै भगवती मन्दिर, डाक्नेश्वरी भगवती मन्दिरलगायतका भगवती मन्दिरमा श्रद्धालु भक्तजनको ठुलो भिड लाग्ने गरेको छ भने विभिन्न पशुबलि पनि दिने गरिन्छ । खासगरी सप्तमीदेखि पूजाआराधना गर्ने, पशुबलि चढाउनेको अत्यधिक भिड लाग्नुका साथै मेला आयोजना गरिएको छ । 

राजदेवीमा महिलालाई निषेध

जनकपुरधामस्थित सबैभन्दा प्राचीन राजदेवी मातालाई मिथिलाका जनकवंशी राजाहरूको कुलदेवीका रूपमा पुजिन्छ । यस मन्दिरमा देवीको पूजापाठ गर्नका लागि दसैँभरि लाखौँको सङ्ख्यामा दर्शनार्थी आउने गरेका छन् । महाअष्टमीका दिन सबैभन्दा बढी बलि चढाइन्छ । यहाँ दसैँभरि नारीलाई भने पूजामा निषेध गरिएको छ । धनुषाको विभिन्न शक्तिपीठ प्रसिद्ध राजदेवी मन्दिर, सोनामाई मन्दिर, पिडरियामाई मन्दिर, दक्षिणकाली मन्दिर र बर्सौैं पुरानो सोनासती मन्दिर र नगरको विभिन्न चोकमा दुर्गाको प्रतीमा बनाएर पूजापाठ गरी बलि दिने गरिन्छ । 

गहवामाईमा गरेको भाकल पूरा हुने 

वीरगन्जको गहवामाई भगवती मन्दिरमा नवरात्रि बेलामा बिहान ४ बजेदेखि घुइँचो लागिसक्छ । अष्टमीको दिन देवीलाई पशुबलि पनि चढाइन्छ । पशुबलिमा धेरै जसो बोका चढाइन्छ । पर्साको गहवामाई मन्दिरमा दसैँमा विशेष पूजाका लागि पर्सा, बारा तथा रौतहट एवं भारतको विहार राज्यको करिब आधा क्षेत्रबाट दर्शनार्थी आउने गरेका छन् । माताअगाडि गरेको भाकल र मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसै गरी सिारहा, रौतहट जिल्लास्थित राजदेवी, दुर्गा भगवती र बाराको गढीमाई मन्दिरमा पूजा गर्ने श्रद्धालु भक्तजनको भिड बढेको छ । 

गढीमाइमा उत्तिकै भिड 

नेपालकै सबैभन्दा धेरै पशुबलि दिइने गढीमाई मन्दिरमा दसैँमा पशुबलि नदिइए पनि दैनिक भक्तजनले पूजाआजा गर्न आउने गरेको छ । यहाँ घटस्थापनादेखि पूर्णिमासम्म भक्तजनको भिडभाड रहने गर्दछ ।