• ८ मंसिर २०८१, शनिबार

अर्थतन्त्र सुधारको अध्ययन गर्न आयोग गठन

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज २३ गते ।  सरकारले मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारका लागि रायसहितको प्रतिवेदन पेस गर्न आयोग गठन गरेको छ । असोज २१ गतेको मन्त्रीपरिषद् बैठकको निर्णय मङ्गलबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गर्दै पूर्वसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

मन्त्री गुरुङले आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्न स्वीकृत दिने निर्णय भएको जानकारी दिनुभयो । मन्त्रीपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ का लागि विभिन्न आयोजना/निकायका लागि कुल २६६ राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।  

उपप्रधानमन्त्री एवं सहकारी विकासमन्त्री प्रकाशमान सिंह आगामी कात्तिक १९ गतेदेखि २३ गतेसम्म इजिप्टको कायरोमा आयोजना हुने ‘वल्र्ड अर्बान फोरम १२’ सम्मेलनमा सहभागी हुन स्वीकृत गर्ने र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल आगामी असोज २७ गते जर्मनीको बर्लिनमा आयोजना हुने कार्यक्रममा जान स्वीकृति दिने निर्णय भएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी आगामी कात्तिक १ देखि ३ गतेसम्म रुसमा आयोजना हुने कार्यक्रम जान स्वीकृति दिने र राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौडेल अधिकारी आगामी कात्तिक ६ देखि ८ गतेसम्म थाइल्यान्डको बैङ्ककमा आयोजना हुने कार्यक्रममा जान स्वीकृत प्रदान गर्ने निर्णय भएको छ । 

मन्त्रीपरिषद्को निर्णय सार्वजनिक भएपछि मङ्गलबार मन्त्री, सचिव र कर्मचारीहरूले दसैँको शुभकामना आदानप्रदान कार्यक्रम राखिएको थियो ।