• ८ मंसिर २०८१, शनिबार

दसैँलाई बिस हजार खसीबोका र भेडाच्याङ्ग्रा

blog

पोखराको यम्दीमा सडक छेउमा बिक्रीका लागि राखिएका मुस्ताङबाट ल्याइएका च्याङ्ग्रा ।

फडिन्द्र अधिकारी 

लेखनाथ, असोज २२ गते । बडादसैँ सुरु भएसँगै खसीबोका र भेडाच्याङ्ग्राको बिक्री आकासिएको छ । कास्कीको पोखरा महानगरको सिम्पानीदेखि याम्दी पुलसम्म अहिले भेडाच्याङ्ग्राका अनेकौँ हुल छन् । पोखरा–१४ मा रहेको खसी बजारमा पनि चहलपहल बाक्लिएको छ । 

दसैँका लागि विभिन्न ठाउँबाट खसीबोका र भेडाच्याङ्ग्रा पोखरा ल्याइसकिएको छ । जिल्लामा यो अवधिका लागि २० हजार जति खसीबोका र भेडाच्याङ्ग्रा ल्याइने र १५ हजारदेखि १८ हजार बिक्री हुने व्यवसायी बताउँछन् । खसीबोका र भेडाच्याङ्ग्रा आपूर्तिको यकिन तथ्याङ्क नभए पनि सरकारी निकायको अनुमान पनि यसैसँग मिल्दोजुल्दो छ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका पशु विकास अधिकृत सहदेव पौडेल दसैँभरि कास्कीमा २० हजार जति खसीबोका र भेडाच्याङ्ग्रा खपत हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मुस्ताङबाट नौ हजार जति 

च्याङ्ग्रा र भेडा ल्याइएको छ भने पश्चिमतिरबाट पाँच हजार हाराहारी च्याङ्ग्रा र भेडा आएका छन् । खसीबोका भने कास्कीसहित स्याङ्जा, तनहुँ र लमजुङबाट ल्याइन्छ । तराई र भारतीय खसीबोका ल्याउनु परेको छैन ।”

हिमाली पाटन र बुकीमा चरेका भेडाच्याङ्ग्राको मासुको स्वाद तिख्खर र पृथक् हुने भएकाले उपभोक्ता दसैँमा यिनको मासु खाने गरेका छन् । घटस्थापनादेखि भेडाच्याङ्ग्रा बजारमा आइपुग्ने भए पनि फूलपातिको अघिल्लो दिनदेखि अष्टमीसम्म मुख्य व्यापार हुने मुस्ताङबाट आउनुभएका व्यापारी आशिष छन्त्यालको भनाइ छ । उहाँले भन्नुभयो, “केही वर्षदेखि पश्चिमबाट पनि धेरै च्याङ्ग्रा, भेडा ल्याउन थालिएको छ तर धेरैले मुस्ताङकै खोजेको पाएको छु ।”

पोखरामा मुस्ताङसहित डोल्पा, जुम्ला, बझाङ, बाजुरा, मुगु, गोरखालगायतका जिल्लाका किसान र व्यापारीले भेडाच्याङ्ग्रा ल्याएका छन् । अहिले पोखराको बजारमा च्याङ्ग्राको मासु प्रतिकेजी दुई हजार दुई सयदेखि दुई हजार चार सयसम्ममा बिक्री भइरहेको छ । खसीको मासु किलोको एक हजार २५० रुपियाँ  छ । 

बजारमा जोखेरभन्दा पनि मोलमोलाइ गरी सिङ्गै च्याङ्ग्रा, भेडा बिक्री भइरहेका छन् । यसपालि च्याङ्ग्रा २५ हजारदेखि रोज्जाको ४२ हजार रुपियाँसम्ममा किनबेच भइरहेको छ । दार्चुलाको नौगाड गाउँपालिकाबाट च्याङ्ग्रा लिएर पोखरा आउनुभएका सुवाससिंह ठगुन्ना यसपालि व्यापारमा घाटा बेहोर्नुपर्ने भन्दै चिन्तित हुनुहुन्छ । उहाँले भन्नुभयो, “उता ल्याउँदा मूल्य बढी प¥यो, यहाँ पोहोरभन्दा मोल कम छ । दुई दिन हिँडाएर, तीन दिन गाडीमा ल्याएको हो । यसपालि घाटा हुन्छ कि जस्तो छ, हेरम ।”

उहाँसँगै आउनुभएका जङ्गवीर बोहोरालाई दसैँ बाटैमा बित्ने कुराले पिरोलेको छ । उहाँ भन्नहुन्छ, “हाम्रो दसैँ कि पोखरामै कि बाटैमा हुन्छ । घर पुग्नै भ्याउँदैन ।” कास्कीका केही ठाउँमा स्थानीय सहकारीले खसीबोका प्रदर्शनी र बिक्रीसमेत गरेका छन् । अहिले कास्कीको बजारमा कुखुराको मासु ३८०, बङ्गुरको मासु सात सय र भैँसीको मासु ४५० रुपियाँ छ ।