बडीमालिका समाचारदाता
बाजुरा, असोज २२ गते । बाजुरामा उत्पादन भएका स्याउ देशका विभिन्न सहरमा पुगेका छन् । बाजुरामा उत्पादन भएका स्याउ देशका ठुला सहर काडमाडौँ, धनगढी, नेपालगन्ज, सुर्खेत, लम्की, टीकापुर, बौँनिया, छिन्चुलगायतका सहरमा सस्तो तथा सुलभ मूल्यमा बिक्री भइरहेको कृषि ज्ञानकेन्द्र बाजुराले जनाएको छ ।
बाजुराको बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक गाउँपालिका, हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका र गौमूल गाउँपालिकाका विभिन्न स्थानमा पर्याप्त मात्रामा स्याउ उत्पादन हुन्छन् ।
यो वर्ष उत्पादन भएका स्याउलाई बजारीकरण गर्नका लागि कृषि ज्ञानकेन्द्र बाजुराले ढुवानी गर्ने भने पनि समयमै सुदूरपश्चिम प्रदेश सरकारको बजेट आएन त्यसैले ठेकेदार, सहकारी र समूहले स्याउ ढुवानी तथा बजारीकरणमा सहयोग गरेको कृषि ज्ञानकेन्द्र बाजुराका प्रमुख भूमिराज उपाध्यायले बताउनुभयो ।
यो वर्ष स्वामीकार्तिक गाउँपालिकाबाट २० ट्रक स्याउ जिल्लाबाहिर निर्यात भएको कृषि विकास शाखा प्रमुख विनोद शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाबाहिर मात्रै स्वामीकार्तिक गाउँपालिकाबाट २० ट्रक स्याउ निर्यात भएको छ । ठेकेदार, सहकारी र समूहले किसानको बारीमै गएर ‘ए’ ग्रेड स्याउको प्रतिकिलोग्राम ४५ र ‘बी’ र ‘सी’ को क्रमशः ४० र ३५ रुपियाँमा खरिद गरेका हुन् ।
सस्तोमा स्याउ बेच्दा पनि किसानले ८० लाखको स्याउ निर्यात गरेका छन् भने २० लाख बराबरको स्याउ जिल्लाभित्रै बिक्रीवितरण भएको छ । बुढीनन्दा नगरपालिकाको पाण्डुसैनमा उत्पादन भएको स्याउ पनि काठमाडौँ, धनगढी, नेपालगन्ज, महेन्द्रनगरलगायतका सहरमा उपलब्ध छन् । ‘ए’ ग्रेडको स्याउ प्रतिकेजी १२० र ‘बी’ र ‘सी’ को क्रमशः १०० र ८० रुपियाँमा बारीबाटै खरिद भएर देशका विभिन्न सहरमा बिक्रीवितरण भइरहेको स्याउ व्यवसायी उज्ज्वल रावतले बताउनुभयो ।
बुढीनन्दा नगरपालिकाको स्याउ उत्पादन हुने क्षेत्र पाण्डुसैनमा ७७६ हेक्टरमा स्याउ खेती गरिएको छ । यो वर्ष उत्पादन भएको ७७६ मेट्रिक टनमध्ये २५० मेट्रिक टन स्याउ बिक्री भइसकेको र बाँकी स्याउ जिल्लाभित्र तथा बाहिर निर्यात हुने क्रम जारी रहेको बुढीनन्दा नगरपालिकाको कृषि विकास शाखाले जनाएको छ ।
बर्सातमा स्याउ ढुवानीमा समस्या भए पनि बाजुराको स्याउको माग देशभर भइरहेकाले यो वर्ष बजारीकरणमा त्यति समस्या नभएको कृषि विकास शाखा प्रमुख भागेन्द्र मल्लले बताउनुभयो ।
उहाँले तुलनात्मक रूपमा गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादनमा वृद्धि भएको र किसानले सहजै उत्पादित स्याउको मूल्य पाइरहेको मल्लले बताउनुभयो । त्यस्तै जगन्नाथ, हिमाली र गौमूल गाउँपालिकामा उत्पादन भएको स्याउ भने जिल्लाभित्रै खपत भएको स्याउ व्यवसायी कृषकले बताएका छन् ।