• ७ मंसिर २०८१, शुक्रबार

सुत्केरीको निधनपछि परिवारको बिचल्ली

blog

शिवराज ढुङ्गाना 

ढकारी (अछाम), असोज २२ गते । ढकारी गाउँपालिका–६, गलवालकी ३० वर्षीय सरिता जैसीले बिहीबार स्वास्थ्य संस्था नपुग्दै बाटोमा छोरालाई जन्म दिनुभयो । बच्चासहित सुत्केरीलाई स्थानीय ढुङ्गाचाल्ना स्वास्थ्य केन्द्र पुर्‍याइयो । स्वास्थ्यकर्मीले रक्तश्राव भइरहेका कारण जिल्ला अस्पताल लैजान भने । अत्यधिक रक्तश्रावका कारण जिल्ला अस्पताल मङ्गलसेन नपुग्दै सरिताको बाटैमा मृत्यु भयो । 

घरकी एक्ली सहारा सरिताको निधनपछि परिवार बिचल्लीमा परेको छ । शोक, भोकसँगै हप्ता दिन नपुगेको बालक र अरू तीन १३ वर्ष उमेर नकाटेका बालबालिका, आँखा नदेख्ने श्रीमान् र उमेर काटेकी सासूको भविष्य अन्योलमा परेको छ । सरिता एक्लैले कमाएर धानेको परिवार उहाँको निधनपछि सहाराविहीन भएको छ । घरको कमाइका आधार मृतकका ससुराको क्यान्सरका कारण दुई वर्षअघि मृत्यु भएपछि सबै जिम्मेवारी सरिताको काँधमा आएको थियो ।   

छ जनाको परिवार एक्लैले धानेकी सरिताको मृत्युपछि घरपरिवार अप्ठ्यारो अवस्थामा पुगेको छ । ५५ वर्षीय मृतककी सासू पद्मादेवी जैसी धरधरी रुँदै भन्नुभयो, “घरको खम्बा जस्तै थिइ, उ गइहाली, अब हामी कइका भरमा बाँचु ? साना केटाकेटी भया, छोराले आँखा देख्दैन, म बुढी भइहाल्याँ ।” परिवारमा कमाएर खुवाउन सक्ने कोही नभएकाले बिहानबेलुकी चुलो बाल्नसमेत गाह्रो छ । परिवारमा कमाउने खालको व्यक्ति नै नभएका कारण उनीहरूलाई घर चलाउन र केटाकेटीलाई विद्यालयमा पढाउन समस्या रहेको स्थानीय रतन जैसीको भनाइ छ । सरिताले जन्माएर पनि राम्ररी अनुहार नदेखेको बालकलाई दुध खुवाउने जिम्मा उहाँकै फुपूको छ । माइती आएर भर्खरै जन्मेको भदैयालाई दुध चुसाउन हस्तकलाको बाध्यता छ । भाउजुको शोकमा कपडा बारेकी हस्तकला जैसीले भन्नुभयो, “उसलाई बचाउन त पर्‍यो भनेर मैले दुध खुवाइरहेकी छु ।” 

हस्तकलाले आफ्नी डेढ वर्षकी छोरी पनि दुध चुसाउनुपर्ने बाध्यता छ । बच्चा रातितिर मात्रै रुन्छ, दिउँसो त मजाले सुत्छ । तीनदिने बालकको हेरचाहमा खटिएकी स्थानीय निर्मला देवकोटाले भन्नुभयो । सेतो कपडामा रहेका मृतकका श्रीमान् टेकराज श्रीमती वियोगमा आँखाबाट टिलपिल आँसु झार्नुहुन्छ । घरको सहारासँगै जीवनसङ्गिनी गुमाएका दृष्टिविहीन टेकराजका शब्द नै सितिमिति निस्कँदैन । परिवार नै एकोहोरो र टोलाएको अवस्थामा टिनले छाएको सानो घरको पेटीमा एक लाइनमा बसिरहेका देखिन्छन् । किरिया खर्चमा समेत चिन्तित रहेका बेलामा केही युवाले खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा राहतस्वरूप घरमै पुर्‍याइदिएपछि किरिया काट्न सहज भएको परिवारले महसुस गरेको छ । ढकारी गाउँपालिकाका उपाध्यक्ष नेत्रकला शाही मृतकको घरमै पुगेर केही रकम व्यक्तिगत रूपमा सहयोग गरेपछि गाउँपालिकाबाट परिवारमा केही सहयोग हुने आश्वासन दिनुभएको छ । साना बालबालिका, अपाङ्गता भएका र वृद्ध अभिभावक भएपछि कसैबाट सहयोग नभए परिवारमा सङ्कट आउने स्थानीयको अनुमान रहेको छ । बालबालिकाको शिक्षा र पालनपोषणको दीर्घकालीन व्यवस्थाका लागि पीडित परिवारको चाहना छ । 

परिवारको जिम्मा १२ वर्षीय मनीषाको काँधमा आइलागेको छ । मनीषाले तीन भाइ हुर्काउन, बुढी बज्यै र अपाङ्गता भएका बुवाको रेखदेख गर्नुपर्ने अवस्था सिर्जना भएको छ । साथीसँगै खेल्ने, विद्यालय जाने र परिवारको मायामा हुर्कने समयमा मनीषाले परिवार पाल्न भारी बोक्नु परेको छ । नौ र सात वर्षका भाइहरू युवराज र लक्ष्मण, बुवा टेकराज र बज्यै पद्माको सहारा १२ वर्षीय मनीषाले बन्नुपर्दा पढाइमा असर पर्ने देखिएको छ । आमाको निधनमा एकसरो लुगामा रहेकी मनीषाले भन्नुभयो, “घरमा कमाउन्या कोइ छैन, खाना पकाउन्यादेखि खेत, वनसम्मको काम मैले गर्नुपर्ने भयो, स्कुल जान्या समय पनि नहुन्या भयो ।” मनीषा पञ्चज्योति आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत छन् । उहाँका भाइ युवराज कक्षा ५ र लक्ष्मण ३ कक्षामा पढिरहेका छन् ।