कोलम्बो, असोज २१ गते । सनथ जयसूर्यालाई सोमबार श्रीलङ्का क्रिकेटको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । उहाँले टि-२० विश्वकपबाट श्रीलङ्काको तुरुन्त बहिर्गमनपछि राजीनामा दिनुभएका क्रिस सिल्भरवुडको स्थान लिनुहुनेछ ।
पचपन्न वर्षीय जयसूर्या जुनदेखि अन्तरिम प्रशिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो र हालैको सफलताह।रुपछि सन् २०२६ मार्चसम्मका लागि उहाँ पूर्णकालीन प्रशिक्षकका रुपमा नियुक्त हुनुभएको हो । उहाँका यी सफलतामा इङ्ग्ल्यान्ड टेस्ट म्याच जित र घरेलु मैदानमा न्युजिल्यान्डविरुद्ध २-० को टेस्ट शृङ्खला जित समावेश छन् ।
जयसूर्याको नेतृत्वमा श्रीलङ्काले २७ वर्षमा पहिलो पटक भारतविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलासमेत जितेको थियो । श्रीलङ्काका पूर्वकप्तान जयसूर्याले आफ्नो नियुक्ति साकार भएको बताउनुभयो । “मलाई थाहा छ, यो चुनौतीपूर्ण काम हो तर म चुनौती लिन र टोलीसँग अघि बढ्न चाहन्छु”, उहाँले कोलम्बोमा पत्रकारहरुसँग भन्नुभयो, “मेरो खुशी व्यक्त गर्न मसँग शब्दहरु छैनन् ।”
उहाँका लागि तत्कालको चुनौती भनेको आगामी सातादेखि सुरु हुने वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय र तीन टि–२० खेलका लागि आफ्ना खेलाडीहरुलाई तयार पार्नु रहेको छ । “खेलाडीहरुलाई प्रशिक्षकसँग धेरै भरोसा र आत्मविश्वासको आवश्यकता पर्नेछ”, जयसूर्याले भन्नुभयो, “उनीहरूले जुनसुकै बेला मसँग सम्पर्क गर्न सक्नेछन् र मसँग कुनै पनि विषयमा छलफल गर्न सक्नेछन् ।”
उहाँले खेलाडीहरुले उनीहरुकै मातृभाषामा कुरा गर्न सक्ने भएकाले आफू विदेशी प्रशिक्षकहरुभन्दा फाइदामा रहेको बताउनुभयो । उहाँलाइई सर्वकालीन महान एकदिवसीय अन्तर्राष्ट्रिय ब्याट्सम्यानहरुमध्ये एकका रुपमा हेरिन्छ र श्रीलङ्काको सन् १९९६ को विश्वकप विजयमा उहाँको महत्त्वपूर्ण भूमिका थियो ।
श्रीलङ्का क्रिकेटका प्रमुख कार्यकारी अधिकृत एस्ले डि सिल्भाले केही विदेशी प्रशिक्षकहरूलाई छोटो सूचीमा राखिए पनि जयसूर्यालाई रोज्ने निर्णय गरेको बताउनुभयो । सनथलाई दिइएको पारिश्रमिकको प्याकेज विदेशी प्रशिक्षकलाई दिइने प्याकेजसँग तुलना गर्न योग्य रहेको उहाँले बताउनुभयो । यद्यपि उहाँले कति पारिश्रमिक दिइएको भन्नेबारे विवरण दिनुभएन ।
जयसूर्याले खेलको तीन ढाँचामा श्रीलङ्काका लागि पाँच सय ८६ पटक प्रतिनिधित्व गर्दै ४२ शतक र चार सय ४० विकेट लिनुभएको छ । सन् २०११ मा उहाँले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नुभएको थियो । रासस/एएफपी