दसैँ हरेक वर्ष परिवर्तित हुँदै गइरहेको संस्कृतिविद् गोविन्द टन्डन बताउनुहुन्छ । उहाँका अनुसार अलिकति पाको उमेरकाले दसैँ पुरानो शैलीको भएन भन्ने गुनासो गर्छन् । युवापुस्तालाई यसबारेमा चिन्ता गर्ने फुर्सद नै छैन । उहाँले भन्नुभयो, “अहिलेका युवापुस्तालाई विदेश कसरी पुग्ने भन्ने दौडधुपले मात्र सताइरहेको छ । यसले गर्दा नेपालमा अब दसैँ मात्र होइन, अन्य चाडपर्वमा पनि चिन्ता गर्नुपर्ने बेला आएको छ ।” पहिलाको जस्तो चङ्गा उडाउने, पिङ खेल्नेलगायतका संस्कृति अहिले घट्दै गइरहेको उहाँले बताउनुभयो । “चाडपर्व आउँछ जान्छ तर त्यसको सदुपयोग कसरी गर्ने भन्ने कुरा चिन्ताको विषय हो,” उहाँले भन्नुभयो ।
चाडबाडमा खानपान, लत्ताकपडा र पारिवारिक आत्मीयताको आदानप्रदानसँगै मनोरञ्जनको पनि उत्तिकै महत्व रहने रङ्गकर्मी सुनील पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “उहिले केटाकेटी र युवाका लागि दसैँमा मनोरञ्जन भनेकै पिङ, चमच्चा हुन्थ्यो तर अहिले त्यसको दर्शन दुर्लभ बन्दै गएको छ । अहिले आकाशमा चङ्गा नउडाउने मानौँ कसैले उर्दी जारी गरेको जस्तो लाग्छ ।” काठका लट्ठेपिङ, रोटेपिङ, चर्खेपिङ र चमच्चा बनाउने क्रम बिस्तारै हट्दै गएको उहाँको भनाइ छ । त्यसैले पनि दसैँको रौनकले आफूलाई खासै नछुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यस पटक दसैँमा पुस्तक पढ्ने सोच बनाएको छु । दसैँमा पूर्णिमाका दिन गुरुकुलमा जम्मा भएर टीका लगाउने चलन थियो तर यस पटक गुरुकुल छैन । त्यसैले त्यो पनि हुँदैन ।”
दसैँ एउटा परम्पराका साथै नेपाली संस्कृति भएको हास्य कलाकार मनोज गजुरेलले बताउनुभयो । “दसैँले आफन्तजनसँग भेट गराउने काम गर्छ,” कलाकार गजुरेलले भन्नुभयो, “दसैँको दक्षिणासँग जोडिएर आउने गतिवधि र पशुलाई बलि दिने चलन हटाउनु पर्छ । मासु खानका लागि दसैँ नै कुर्नु पर्छ भन्ने पनि छैन । म त शाकाहारी भएको धेरै भइसक्यो ।”
गायिका कुन्ति मोक्तानले भन्नुभयो, “हरेक चाड समयसँगै रूपान्तर हुँदै जान्छन् । उहिले वर्षभरिमा अघाउँदी मासु खाने र केटाकेटीले नयाँ नाना पाउने अवसर थियो दसैँ ।” अब दसैँको महत्व मनोरञ्जनका रूपमा स्थापित हुँदै गइरहेको छ । मनाउने शैली फेरिएको छ । अहिले मनोरञ्जनका अन्य उपाय उपलब्ध भएकाले पनि यसमा धेरथोर परिवर्तन हुन थालेको उहाँले बताउनुभयो ।
कलाकार दीपकराज गिरी दसैँ भन्नेबित्तिकै आफ्नो बाल्यकाल सम्झिनुहुन्छ । उहाँले भन्नुभयो, “बाल्यकालमा गरिएका रमाइलो दसैँ सधैँ दिमागमा आउँछ । नयाँ कपडा, मासु, पिङ धेरै मिस गर्छु ।” केही वर्षदेखि उहाँको दसैँ मनाउने शैली फेरिएको छ । उहाँले भन्नुभयो, “मेरो यस वर्षको दसैँ पनि फिल्म हलमा नै बित्छ ।” दिनमा दर्शकसँग भेटेर दसैँ मनाउने र बेलुका परिवारसँग रमाइलो गर्ने दीपकको योजना छ ।
दसैँले टाढा भएका आफन्तलाई मिलन गराउँछ । दसैँ सबैलाई एकै ठाउँमा जमघट गराउने चाड हो । यसलाई रमाइलो र उत्साहका साथ मनाउन जरुरी भएको नायिका वर्षा शिवाकोटीले बताउनुभयो । उहाँ भन्नुभयो, “यस पटकको दसैँ चलचित्र ‘छक्का पञ्जा ५’ को प्रचारमा नै बित्छ जस्तो छ । खासै त्यस्तो योजना छैन । परिवारसँगै बसेर टीका लगाउने हो । मलाई दसैँ खासै विशेष चाड लाग्दैन । साथीहरूसँग रमाइलो गर्छु । टीका लगाउँछु तर त्यस्तो स्पेसल केही पनि हुँदैन दसैँमा । घरमै यताउता गरेर दसैँ सकिन्छ ।”
निर्देशक दीपेन्द्र के खनालले यस पटकको दसैँमा खासै नयाँ केही नभएको र अन्य वर्ष जस्तै गरी मनाउने बताउनुभयो । आमाबुवाको तथा आफन्तको हातबाट टीका थाप्ने, पारिवारिक जमघट गर्ने । दसैँलाई सम्बन्ध पुनर्जागृत गर्ने चाडका रूपमा लिने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “म चलचित्र क्षेत्रमा काम गर्छु । परिवारसँग बसेर आफन्तसँग भेटघाट गर्ने समय नै हुँदैन । चिनेर पनि नचिन्ने जस्तै हुन्छ । त्यसैले दसैँलाई सम्बन्ध नवीकरणको अवसरका रूपमा लिन्छु र गर्छु । यसले नयाँ ऊर्जा थपिएको महसुस हुन्छ ।”
बाढीपहिरोले गर्दा यस पटकको दसैँ खासै उल्लासमय हुने जस्तो नदेखिएको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले बताउनुभयो । उहाँले भन्नुभयो, “बाटो ठिक भयो भने घर जाने योजना छ । नत्र यतै बसिन्छ । अहिले दसैँ मनाउने शैली फेरिएको छ । मनोरञ्जनका अन्य उपाय उपलब्ध भएकाले पनि यसमा धेरथोर परिवर्तन हुन थालेको छ ।” आफन्तसँगको भेटघाट र ठुलाको आशीर्वाद ग्रहण गर्ने संस्कृतिलाई भने यस चाडले जोगाइरहने उहाँको भनाइ छ । वर्षभरि काम गर्ने र दसैँको समय रमाइलो गर्ने, भेटघाटमा बिताउने तथा जीवनलाई स्फूर्ति दिलाउने हिसाबले यो संस्कृतिको विकास भएको जस्तो लाग्छ ।
केही दशकयता फजुल खर्च, जुवा र मदिरा सेवनलाई ज्यादा प्राथमिकता दिँदा दसैँ पारिवारिक मिलनको उत्सवबाट फुस्किएर विकृतितर्फ उन्मुख हुँदै गएको महसुस गायक युवराज चौलागाईंको छ । उहाँले भन्नुभयो, “पहिले दसैँ भनेको आमनेपालीलाई पुख्र्यौली गाउँघर फर्काउने चाडका रूपमा स्थापित थियो । गाउँ जाँदा दसैँको छुट्टै रौनकता, उमङ्ग र उत्साह भेटिन्थ्यो । दसैँमा गाउँघरमा बन्ने स्वस्फूर्त माहोलले जीवनका दुःख, कठिनाइ बिर्साइदिएको आभास हुन्थ्यो ।” अहिले त्यो हुँदैन । गाउँघर फर्किए पनि मानिसहरू घरमै मोबाइल र टेलिभिजनमा व्यस्त हुने, साथीभाइबिच मदिरा, भोजभतेर गरेर दसैँ मनाइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रविधिले यतिसम्म मानिसलाई नियन्त्रित गरिरहेको छ । चाडपर्वको रमाइलो, उमङ्ग र मौलिकतामा पनि नजानिँदो हिसाबले हस्तक्षेप भइरहेको छ । चाडपर्व, संस्कार, संस्कृति समयसापेक्ष हुनु पर्छ तर कुनै पनि चाडको मौलिकता नहराओस् भन्ने विषयमा चनाखो र जागरुक हुन आवश्यक छ ।”