• ७ मंसिर २०८१, शुक्रबार

‘अहिल्या’ माथि परिचर्चा

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, असोज २१ गते । शाश्वत आचार्य स्मृति प्रतिष्ठानले साहित्यकार किरण आचार्यको उपन्यास कृति ‘अहिल्या’ माथि आइतबार परिचर्चा गरेको छ । कार्यक्रममा समालोचक प्राडा गोपालप्रसाद अधिकारीले स्रष्टाको सिर्जना स्वतन्त्र रहने भएकाले स्रष्टाको रुचि र क्षमता जुन विषयमा छ, सोही विषयमा कलम चलाउँदा सिर्जना स्तरीय बन्ने बताउनुभयो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालले पछिल्लो समय पौराणिक तथा ऐतिहासिक विषयवस्तुमा सुन्दर सिर्जना आएको चर्चा गर्दै पौराणिक कथा र ऐतिहासिक विषयवस्तुमा आधारित ‘अहिल्या’ निकै उत्कृष्ट रहेको बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशिराम कार्कीले ‘अहिल्या’ उपन्यास आफैँमा स्तरीय र गम्भीर भएकाले यसबाट पाठकलाई धेरै ज्ञान प्राप्त हुने बताउनुभयो । 

समालोचक प्राज्ञ हरिप्रसाद तिमिल्सिनाले पौराणिक विषयवस्तुमा लेखिएको ‘अहिल्या’ मा उपन्यासकारको ठुलो मेहनत रहेको बताउनुभयो ।

समालोचक चरित्रा शाहले यो उपन्यास नारीप्रधान भएकाले लैङ्गिक विभेदलाई दह्रो रूपमा उठाइएको हुँदा नारीवादको वकालत गरेको देखिएको चर्चा गर्नुभयो । समालोचक लेकप्रसाद प्याकुरेलले ‘अहिल्या’ को मुख्य पात्र अहिल्या हुनुपर्नेमा गौतम ऋषि मुख्य पात्रका रूपमा आएको र यो कृति दुःखान्तमा टुङ्गिएको बताउनुभयो । 

उपन्यासकार किरण आचार्यले पौराणिक ग्रन्थकी पौराणिक पात्र अहिल्या अन्यायमा परेको महसुस भएकाले यही अन्याय चिर्न ‘अहिल्या’ लेखेको बताउनुभयो । कार्यक्रममा प्राडा जनार्दन शर्मा आचार्य, साहित्यकार नवीन अभिलासी, खगेन्द्र गिरी कोपिला, जितबहादुर शाह, धीरेन अनुपम, खेम बगर, चन्द्रावती अधिकारीलगायतले रचना वाचन गर्नुभएको थियो ।