• २० असोज २०८१, आइतबार

रामलीला हेर्नेको घुइँचो

blog

रामलीलामा रामसीतालगायतको भूमिका गर्नेको दर्शन गर्दै स्थानीय अगुवा । तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, असोज २० गते ।  नेपालगन्जको रामलीला मैदानमा दसैँको अवसर पारेर रामलीला मञ्चन भइरहेको छ । भारत वृन्दावनबाट कलाकारले रामलीला प्रदर्शन गरिरहेका छन् । नेपालगन्ज र सो वरिपरिका क्षेत्रबाट हरेक दिन राति ठुलो सङ्ख्यामा रामलीला हेर्न आउने गरेका छन् । 

रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाका अनुसार रामलीला महोत्सवमा ठुलो सङ्ख्यामा नेपाल र भारतका समेत स्थानीय मध्यरातसम्म सहभागी हुने गरेका छन् । लीलामा धनुषयज्ञ, रावण वध, भरतमिलाप र रामको शुभ राज्याभिषेक जस्ता दृश्यको मञ्चन गरिन्छ ।

यस वर्षदेखि नेपाली कलाकारलाई समेत रामलीलामा सहभागी गराइएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले रामलीला मञ्चन नेपालगन्ज सहरको सांस्कृतिक पहिचान भएकाले आगामी वर्षबाट झन् भव्य बनाइने बताउनुभयो । प्रत्येक वर्ष दसैँकै अवसरमा रामलीला मञ्चन हुँदै आएको छ । नेपालगन्जको सांस्कृतिक परम्परालाई जोगाइराख्न सहयोग सङ्कलन गरेर रामलीला महोत्सव गरिँदै आएको रामलीला सञ्चालक समितिले जनाएको छ । 

१९२५ सालदेखि देखि नेपालगन्जको कुरैशी टोलको मैदान, टन्डन राइस मिल हुँदै अहिले रामलीला मैदानमा रामलीला मञ्चन भइरहेको छ ।