• १९ असोज २०८१, शनिबार

बिल विजकभन्दा बढी प्याज ल्याउने ट्रक नियन्त्रणमा

blog

प्रहरीले पक्राउ गरेको प्याज र ट्रक । तस्बिर सौजन्य: जिप्रका कपिलवस्तु

नारद कोहार

तौलिहवा (कपिलबस्तु), असोज १९ गते । जारी प्रज्ञापन (विल विजक) भन्दा बढी प्याज ल्याउने दुई वटा भारतीय ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार कपिलवस्तु नगरपालिका –२ बर्दहवास्थित मर्यादपुर तौलिहवा सडक खण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेको यु पी ५५ टी ७६४५ र यु पी ४० टी ९०९० नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको बताउनुभयो । 

उक्त ट्रकले भन्सार बिल विजकभन्दा बढी परिमाणको प्याज लोड गरी ल्याउदैगरेको गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । दुई वटै ट्रकलाई नियन्त्रणमा लिई नापतौल गर्दा भन्सार बिल विजकभन्दा ७.२३ टन बढी प्याज लोड गरेको अवस्थामा बरामद गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो । 

दुवै ट्रकमा लोड गरिएको हालको बजार मूल्यअनुसार ५७ लाख ७३ हजार मूल्य बराबरको ५७ हजार ७३० किलो प्याज र सो प्याज लोड गरिएका दुवै ट्रक तथा चालकलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको उहाँको भनाइ छ । बजारमा अहिले प्रतिकिलो एकसयको दरले प्याज विक्री भइरहेको छ ।