सयौँ वर्षअघि मानिस नेपाल खाल्डो (काठमाडौँ उपत्यका), चार भन्ज्याङ काट्न कुन बाटो भएर बाहिर जान्थे र भित्रिन्थे होलान् । युरोपेली पादरी र काश्मिरी मुसलमानहरू भारत, नेपाल हुँदै तिब्बत पुग्दथे । चिनियाँ भिक्षुहरू तिब्बतबाट नेपाल हुँदै भारत पुग्ने गर्थे । त्यसबेला भारतबाट बेलायतीले तिब्बतसँग व्यापार गर्दथे ।
सन् १८४९ मा अङ्ग्रेज अधिकारीका रूपमा कर्क पेट्रिक पहिलो पटक काठमाडौँ उपत्यका भित्रिएका थिए । त्यहीताका तत्कालीन श्री ३ जङ्गबहादुर राणा बेलायतको यात्रामा निस्किए । तत्कालीन समयमा थानकोट, चन्द्रागिरि पहाड हुँदै चित्लाङ, भीमफेदी, कुलेखानी, वीरगन्ज भएर भारतको रक्सौल पुग्ने एक मात्र बाटो थियो । तराईका जङ्गलमा शिकार खेल्न तत्कालीन श्री ३ महाराजहरूका परिवार, पाहुनापाछा र नातागोता पनि यही बाटो लावालस्कर लागेर जाने गर्दथे । चन्द्रशमशेर आफैँ पनि यही बाटो भएर वि.सं. १९६० मा बेलायत भ्रमणमा गएका थिए ।
त्यसरी आवतजावत गर्ने उतिबेलाको एउटै मात्र मुख्य बाटो भनेको चिसापानी गढीको थियो । चिसापानी गढीको बाटो जान थानकोट भएर चन्द्रागिरि पहाडको उकालो चढेर चित्लाङ, मार्खु, कुलेखानी हुँदै हिँडेर गढी पुग्न सकिन्थ्यो । त्यसपछि भीमफेदी, भैँसे, हेटौँडा अमलेखगन्ज (भिक्षाखोर) निस्केर तराईको सिमरा, परवानीपुर हुँदै वीरगन्ज भएर भारतको रक्सौल पुगिन्थ्यो । यो कुरा पुराना पुस्तालाई थाहा भए पनि आजका पुस्तालाई सय वर्षअघि नेपालमा पहिलो पटक चलेको रेल, रोपवे र सडकबारे थाहा नहुन सक्छ ।
तत्कालीन श्री ३ चन्द्रशमशेरले सय वर्षअघि अर्थात् १९८१ सालतिर रक्सौलबाट अमलेखगन्जसम्म रेल चलाउने, अमलेखगन्ज–धोर्सिङ, भीमफेदीसम्म मोटर बाटो बनाउने र धोर्सिङसम्म आइपुगेको सामान मातातीर्थसम्म रोपवेमा ल्याई राजधानी पुर्याउने योजना बनाए । त्यो योजना वि.सं. १९८१ मा सुरु भई वि.सं. १९८४ मा करिब तीन वर्षमै सम्पन्न पनि भएको थियो । यो योजना सम्पन्न हुनुअघि सामान ल्याउन लाग्ने समय १२–१५ दिन छोटिएर झन्डै एकै दिनमा काठमाडौँमा सामान आइपुग्ने भयो ।
श्री ३ चन्द्रशमशेरले त्यसबेला भारदारी बैठकसमेत बोलाई धोर्सिङदेखि मातातीर्थ रोपवे निर्माण गर्ने कि नगर्ने भन्ने सम्बन्धमा राय लिन वि.सं. १९८० मा कचहरी बोलाएका थिए । त्यस कचहरीमा उपस्थित भएका केही भारदारले भने भरियाको गरिखाने पेसा बन्द हुने भएकाले रोपवे बनाउने काम गरिनुहुन्नसमेत भनेको कुरा सरदार भीमबहादुर पाँडेले ‘त्यस बखतको नेपाल’ पुस्तकमा लेखेका छन् ।
वि.सं. १९८४ अघिसम्म रक्सौलको सामान काठमाडौँ उपत्यका ल्याउनु पर्दा त्यहाँबाट भरियाले बोकेर वीरगन्ज, परवानीपुर, सिमरा, अमलेखगन्ज, हेटौँडा, भैँसे हुँदै चिसापानी गढीको बाटो भएर कुलेखानी, मार्खु, चित्लाङको ठाडै उकालो चन्द्रागिरि पर्वत काटेर थानकोट आउनु पर्दथ्यो । यसरी भरियाले भारी बोकेर सामान ओसारपसार गर्न १२–१५ दिनसम्म लाग्दथ्यो । यसको अर्को विकल्प पनि थिएन ।
चन्द्रशमशेरलाई यति ठूलो योजना सम्पन्न गर्न आर्थिक स्रोत जुटाउने आँट भने त्यसबेला यसरी भएको देखिन्छ । प्रथम विश्वयुद्धपछि बेलायती सरकारले नेपाल सरकारलाई एक लाख ४० हजार पाउन्ड स्टर्लिङ अर्थात् त्यतिबेलाको नेपाली करिब २१ लाख रुपियाँ सहयोग गरेको थियो । त्यतिबेलाको समयमा यो रकम सानो पक्कै थिएन । त्यसैले यो खुसीको कुरा सुनाउन चन्द्रशमशेरले १९७७ सालमा टुँडिखेलको खरीको बोटमा ठूलो भेला बोलाई सहयोग प्राप्त भएको कुरा मात्र सुनाएनन्, यो पैसा आफूले रक्सौल–काठमाडौँ यातायात विकासमा खर्च गर्ने समेत घोषणा गरेका थिए ।
त्यसबेला रक्सौलदेखि अमलेखगन्जसम्म न्यारोगेजको बिजुलीबाट चल्ने रेल कोलकाताको मर्टिन एन्ड बरन कम्पनीले बनाएको थियो । अमलेखगन्जबाट धोर्सिङ, भीमफेदीसम्मको मोटर चल्ने सडक नेपाली सेनाले तयार पारेका थिए । यस काममा नेपाली सेनाका चिफ इन्जिनियर कर्णेल डिल्लीजङ्ग थापालाई जिम्मा लगाई पठाइएको थियो । धोर्सिङबाट मातातीर्थसम्म चल्ने रोपवे भने बेलायती कम्पनीद्वारा निर्माण गरिएको थियो भनी पाँडेले लेखेका छन् । यो नै नेपालकै पहिलो रेल र रोपवे (रज्जुमार्ग) थियो ।
वि.सं. १९८४ बाट रक्सौलको सामान न्यारोगेजको रेलबाट अमलेखगन्ज आउने भयो र त्यहाँबाट गाडीमा राखेर धोर्सिङ, भीमफेदीसम्म ल्याइने भयो । धोर्सिङबाट रोपवेमा राखेर चन्द्रागिरिको फेदैमा रहेको मातातीर्थको (हाल चन्द्रागिरि नगरपालिका) तत्कालीन १० नं. स्टेसनमा मालसामान ल्याइने व्यवस्था गरियो । त्यहाँबाट सामान सजिलै थानकोटसम्म चलेको मोटरबाटो भएर काठमाडौँ ल्याउन सकिने भयो ।
रेल, मोटरबाटो र रोपवे चलाउने कार्य तत्कालीन समयको क्रान्तिकारी काम नै मान्नु पर्दछ । रेल, बाटो र रोपवेले गर्दा विदेशबाट आउने सामान सहज रूपमा काठमाडौँ भित्रिन थालेको थियो । रोपवेबाट आउन नसक्ने सामान भने भीमफेदीबाट मानिसले बोकरै ल्याउने गर्दथे । त्यसताका काठमाडौँ उपत्यकाबाट बाहिर जाने बाटोका रूपमा थानकोटसम्म मात्र मोटर चल्ने बाटो थियो । तथापि त्यस समयमा काठमाडौँमा मोटरगाडी भने चलेकै थिए ।
त्यसबेला राणाहरू र केही ठूला साहुमहाजनले चढ्नका लागि ल्याइने गाडीलाई खोल्न मिल्ने पार्टपुर्जाहरू भीमफेदीमा खोली गाडीलाई पचासौँ जनाले नोल लगाई बोकेर ल्याइन्थ्यो । त्यसरी मानिसले बोकेर ल्याइएको गाडी राजधानी ल्याएर चुस्त दुरुस्त बनेपछि त्यसमा बल्ल मानिस बोक्ने गरिथ्यो ।
श्री ३ चन्द्रशमशेरले २८ वर्ष शासन गरे र वि.सं. १९८६ मङ्सिर ३० गते उनको मृत्यु भएको थियो । उनीपछि उनका भाइ ६४ वर्षीय भीमशमशेरले शासन सञ्चालन गरे । यहाँ यातायात क्षेत्रको कुरा गर्दा अर्को छुटेको अथवा नलेखिएको पाटो के छ भने भीमशमशेरले काठमाडौँमा पनि सामान बोक्ने रेल मातातीर्थको १० नं. स्टेसनबाट टेकु भन्सारसम्म चलाएका थिए । त्यसलाई आममानिसले ट्रली भन्दथे । त्यो रेल चल्नुभन्दाअघि धोर्सिङ, भीमफेदीबाट मातातीर्थसम्म रोपवेबाट आएको सामान भरियालाई बोकाएर वा गाडाबाट राजधानी पुर्याउने गरिन्थ्यो ।
१९८८ सालमा तत्कालीन श्री ३ महाराज भीमशमशेरले दाजुको कामलाई निरन्तरता दिन काठमाडौँका जनतालाई पनि रेल देखाउने र सस्तोमा चामल खुवाउने भनी मातातीर्थ १० नं. स्टेसनबाट रेल चल्ने लिक बिच्छ्याई टेकु भन्सारसम्म पुर्याएका थिए । यो रेल डिजेलबाट चल्ने थियो । रेल चल्ने लिक मातातीर्थ १० नं. स्टेसनबाट सुरु भई सतुङ्गल, तीनथानाको विष्णुदेवी मन्दिर, घट्टेपाखा हाल सिभिल होमको बस्ती, कलङ्की बोक्सी दह, गाङ्खेल हुँदै टेकु भन्सारसम्म चल्थ्यो । यसमा छदेखि १२ डिब्बा हुन्थे ।
हामीले देख्दा २०१६ सालतिर बन्द भएको रेलका लिक, ठाउँ ठाउँमा रहेका बाइपास, गुमज (तल मान्छे हिँड्ने माथिबाट रेल चल्ने बाटो) पछिसम्म पनि रहेका थिए । त्यस्तै तीनथाना–मच्छेगाउँ जाने बाटोमा पर्ने बल्खुखोला (इन्द्रावती) माथि रेल गुड्न बनाइएको फलामे जक्खु पुल थियो । त्यस पुलमा रहेको फलामको प्लेटमा फलामकै अक्षरले भीमशमशेरले पाएका मानपदवी, अलङ्कारसमेत उल्लेख गरिएको थियो ।
यो पुल इस्वी संवत् १९३० मा अमेरिकाको युएसए स्टिल प्रडक्स कम्पनीमा बनेको र वि.सं. १९८८ (इपु १९३१) मा पुल निर्माण गरिएको कुरा फलामका प्लेटमा लेखिएको थियो । सो पुल र प्लेटमा लेखिएको कुरा तीनथाना गाविसबाट २०५५ मा प्रकाशित तीनथाना परिचयमा पनि उल्लेख गरियो । सो बेलिब्रिज पुल सात–आठ वर्षअघि नयाँ पुल बनाउने क्रममा भत्कियो र सो पुलमा रहेको तिथिमिति लेखिएको स्टिल प्लेट भने हाल चन्द्रागिरि नगरपालिका वडा नं. १५ मा सुरक्षित राखिएको छ ।
सम्भवतः चन्द्रशमशेरले सुरुवात गरेर उनका भाइ भीमशमशेरको पालामा काठमाडौँसम्म सिधै सामान आइपुग्ने गरी बनाइएको संरचनाको बाँकी अवशेष अब यही स्टिल प्लेट होला । २०२२ सालमा जग्गाको नापनक्सा हुँदा मातातीर्थ १० नं. स्टेसनदेखि टेकु भन्सारसम्म रेल गुड्ने जग्गाका कतिपय ठाउँमा लिक मार्ग पनि नक्सामा देखाइएको पाइन्छ । कलङ्कीमा त अहिले पनि तत्कालीन समयमा रेल गुड्ने त्यसबेलाको रेलमार्गमा मोटरगाडी चल्ने बाटो बनाई त्यसलाई ‘लिकमार्ग’ भनेर संरक्षण गरिएकै छ ।
रोपवेको कुरा गर्दा त्रिभुवन राजपथ बनिनसकेको हुँदा रेलले मात्र सामान ओसार्न नभ्याएर हो कि १० नंं. स्टेसन, मातातीर्थबाट टेकु भन्सारसम्म प्रधानमन्त्री मोहनशमशेरको पालामा बेलायत सरकारको सहयोगमा काठमाडौँभित्र रोपवे पनि बनाइएको थियो । त्यो रातो देखिने भएकाले यसलाई रातो रोपवे भन्दथे । यो १० नं. स्टेसनबाट सतुङ्गल, नैकाप, ढुङ्गाअड्डा, कलङ्कीको बोक्सी दह हुँदै टेकु भन्सारसम्म विस्तार गरिएको थियो ।
बूढापाकाहरूको भनाइ अनुसार यो २००७ सालअघिको कुरा हुनुपर्दछ । यसबाट त्रिभुवन राजपथ बन्नुअगाडिसम्म सामान ल्याउने र लैजाने काम गरिन्थ्यो । पछिसम्म पनि पुरानो रोपवेको खम्बा, रोपवेको तार र कहीँ कहीँ तारमा झुन्डिएर रहेका सामान बोक्ने क्यारियर देख्न सकिन्थ्यो । पछि यसलाई राज्यस्तरबाटै कबाडी लगाई खाली गरियो ।
२०१२/१३ सालमा त्रिभुवन राजमार्ग पूर्ण रूपमा खुलेपछि भने काठमाडौँमा गुड्ने न्यारोबडीको मालवाहक रेल २०१६/१७ सालतिर बन्द भयो । त्रिभुवन राजपथ खुले पनि यसबाट काठमाडौँसम्म सामान ल्याउने र यताबाट लैजाने क्षमतालाई वृद्धि गर्ने हेतुले होला २०२१/२२ सालतिर अमेरिकी सहयोगमा हेटौँडादेखि टेकु भन्सारसम्म अर्को रोपवे बनाइएको थियो । यो रोपवे हेटौँडा, चित्लाङ, देउराली हुँदै मच्छेगाउँ कीर्तिपुर, ट्याङ्लाफाँट भएर टेकु भन्सार पुग्दथ्यो । यो नेपालकै बिजुलीबाट चल्ने रोपवे थियो ।
यसको निर्माण भएपछि यसले बिहान ६ बजेदेखि बेलुका ६–७ बजेसम्म निरन्तर उताको सामान यता र यताको सामान उता ल्याउने र लैजाने गर्दथ्यो । यसलाई कुनै झरीबादल, बाढीपहिरो केहीले पनि रोकावट गर्दैनथ्यो । सम्बन्धित निकायबाट यसको उचित संरक्षण र रेखदेखको अभावमा यो पनि अन्ततः बन्द भयो ।