• २० असोज २०८१, आइतबार

विकल्प बन्न सकेन हवाई सेवा

blog

कालोपत्रे गरिएपछि प्रयोगविहिन अवस्थामा रहेको खोटाङको लामिडाँडास्थित विमानस्थाल । तस्बिर : सामाजिक सञ्जाल

काठमाडौँ, असोज १६ गते । सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने अधिकांश राजमार्ग बाढीपहिरोका कारण अवरुद्ध हुँदा हवाई सेवाले त्यसको परिपूर्ति गरेको चर्चा छ तर राज्यको अर्बौं लगानीमा निर्माण भएर सञ्चालनयोग्य रहेका नौ वटा विमानस्थल प्रयोगमा नै नआउँदा त्यो विकल्पले पूर्ण रूपमा काम गर्न सकेको छैन । 

अधिकांश सडकमार्ग अवरुद्ध भएपछि अहिले हजारौँ यात्रुले भोकभोकै सास्तीपूर्ण कष्टकर यात्रा गर्नु परिरहेको छ तर धावनमार्ग कालोपत्रे भएर जुनसुकै बेला प्रयोग गर्न सकिने अवस्थामा रहेका नौ वटा विमानस्थल सडक यात्राको विकल्पका रूपमा प्रयोगमा आउन सकेनन् ।

बागलुङको बलेवा, रुकुमको चौरजहारी, डोटी, खोटाङको लामीडाँडा, डोल्पाको मसिनेचौर, ओखलढुङ्गाको रुम्जाटार, कालीकोटको सुनथरालीसहित बैतडी र मनाङको विमानस्थल तत्काल उडान सञ्चालन गर्न सकिने अवस्थामा छन् तर विपत् र चाडबाडका बेलामा पनि ती विमानस्थल आकाशको फल मात्र बनेका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बरु कालोपत्रे हुनुअघि धावनमार्ग ग्राभेल भएका बेला ती विमानस्थलमा जहाज उडान अवतरण हुन्थ्यो तर कालोपत्रेपछि सडक यातायातको पहुँच, यात्रुको अभाव र महँगो हवाई भाडाका कारण उपयोगमा आउन सकेका छैनन् । ती विमानस्थल भएको क्षेत्रसँग अहिले सडक यातायातको पहुँच टुटेको छ । यस्तो बेला त्यहाँ उडान गर्न चाहने यात्रुको सङ्ख्या उच्च हुँदासमेत राज्यले प्रयोगमा ल्याउन सकेको छैन । 

उहाँले भन्नुभयो, “कालोपत्रे भएका धावनमार्ग एक हजार पाँच सय मिटरसम्म भएका भए ठुलो एटिआर जहाजले उडान भर्न सक्थे । हवाई भाडा सस्तो हुन्थ्यो । यात्रुले समेत आरामदायी यात्रा गर्न सक्थे तर राज्यसँग साना जहाजको सङ्ख्या कम छ ।”

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल देशभर तीन अन्तर्राष्ट्रियसहित ५५ वटा विमानस्थल छन् । हवाई पूर्वाधारको प्रभावकारी उपयोग नहुँदा उड्डयन क्षेत्रमा गरिएको पाँच, छ अर्ब लगानीको प्रतिफल प्राप्त गर्न सकिएको छैन । निर्माण भएर उपकरणसमेत जडान भएका विमानस्थल सञ्चालनमा आउन नसक्दा राज्यको अर्बौं लगानी त्यत्तिकै खेर गइरहेको छ ।

प्राधिकरणका सूचना अधिकारी भुलले वायुसेवा कम्पनीले उडान माग गरे ती विमानस्थल सञ्चालन गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “सडक र हवाई यातायात एकअर्काका परिपूरक हुन् । सडक बन्द हुँदा हवाई सेवाको प्रयोग र हवाई सेवा बन्द हुँदा सडकको प्रयोग गर्न सकिने अवस्था रहे पनि साना जहाजको अभाव, छोटो धावनमार्ग, महँगो हवाई भाडा र निजी कम्पनी नाफामूलक गन्तव्यमा केन्द्रित हुँदा ती विमानस्थल प्रयोगमा ल्याउन समस्या रहेको छ ।”

अहिले बिपी राजमार्ग अवरुद्ध हुँदा लुक्लाबाट रामेछापको विकल्पमा जनकपुरतर्फ उडान भइरहेको जानकारी दिँदै उहाँले पूर्वाधार तयारी अवस्थामा रहेका विमानस्थलमा वायुसेवा र यात्रुले माग गरे जनशक्ति खटाउन कुनै समस्या नरहेको बताउनुभयो ।   

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।