• १५ असोज २०८१, मङ्गलबार

चल्दै गरेको रेलमा पुस्तक विमोचन

blog

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष एवं मुक्तक मञ्च मकवानपुरका संस्थापक अध्यक्ष डिबी बर्तौलाको तेस्रो मुक्तक कृति सोमबार चल्दै गरेको रक्सौल–दिल्ली सत्याग्रह एक्सप्रेस रेलको बग्गीभित्र विमोचन गरिँदै ।

मकवानपुर समाचारदाता

मकवानपुर, असोज १५ गते  । मुक्तककार डिबी बर्तौलाको तेस्रो मुक्तक कृति विमोचनमा नयाँ अभ्यास र प्रयोग गरिएको छ । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष एवं मुक्तक मञ्च मकवानपुरका संस्थापक अध्यक्षसमेत रहनुभएका बर्तौलाको मुक्तकसङ्ग्रह ‘उज्यालोका बाछिटा’ सोमबार चल्दै गरेको रक्सौल–दिल्ली सत्याग्रह एक्स्प्रेस रेलको बग्गीभित्र फरक ढङ्गले गरिएको हो । 

मकवानपुरका अग्रज साहित्यकार रमेश मोहन अधिकारीको अध्यक्षता तथा अर्का अग्रज साहित्यकार हयग्रीव आचार्यको प्रमुख आतिथ्यमा मुक्तकसङ्ग्रहको विमोचन गरिएको थियो । 

प्रमुख अतिथि आचार्यले मुक्तकसङ्ग्रह ‘उज्यालोका बाछिटा’ को फरक शैली र ऐतिहासिक रूपमा भएको भन्दै मुक्तकार बर्तौलाको रचना हास्यव्यङ्ग्य र सन्देशका दृष्टिले उत्कृष्ट हुने गरेको बताउनुभयो । 

सो अवसरमा साहित्यकारहरू राजबाबु पहाडी, विष्णुप्रसाद गौतम, माधव पोखरेल, मिथिला अधिकारी, किशन पौडेल र अप्सरा पुडासैनीले विमोचित सङ्ग्रहभित्रका मुक्तक वाचन गर्नुभएको थियो ।

मकवानपुर, कपिलवस्तु र बारा जिल्लाका साहित्यकार तथा साहित्य अनुरागीहरूको भारतको दिल्ली, आग्रा र वैष्णवोदेवीको भ्रमणका क्रममा उक्त कृति विमोचनको अवसर जुटाइएको थियो ।