• ११ पुस २०८१, बिहिबार

आयो दसैँ

blog

वर्षायामको अविरल झरी, चारैतिर हिलो र किसान वर्गका लागि कृषि पेसामा अहोरात्र खट्नुपर्ने बाध्यताको अन्त्यसँगै शरद ऋतुमा हरेक वर्ष आउने दसैँको महत्व हिन्दुका लागि ठुलो छ । नेपालमा यो पर्वलाई राष्ट्रिय महोत्सवका रूपमा उल्लासमय वातावरणमा मनाउने चलन परापूर्व कालदेखि नै रहिआएको छ । संस्कृत भाषाको दशमी शब्दबाट प्राकृत हुँदै आएको तद्भव शब्दलाई नेपालीमा दसैँ भनिएको हो । सांस्कृतिक, धार्मिक, सामाजिक र पौराणिक महìव बोकेको दसैँको महिमा भगवान् रामले दानवी प्रवृत्तिका रावण वध गर्दाको प्रसङ्गसँग जोडिएको छ । अन्याय, अत्याचार, बेविचार र कुसंस्कारको प्रतीकका रूपमा चित्रित रावणको वध गरेर दैवी शक्तिको प्रादुर्भाव भएको अनुभूति दिलाउने यो पर्वलाई हिन्दुहरूले अगाध आस्था र गौरवका साथ मनाउने गर्छन् ।

आसुरी प्रवृत्तिको दमनपश्चात् सदाचार, सद्गुण र सद्विचारको परिकल्पना गरेको दसैँको महत्व जुनसुकै दृष्टिकोणबाट हेर्दा पनि कम देखिँदैन । परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर रिस, राग, ईष्र्या, छलकपट आदि सबै भुलेर मनाउने दसैँ पर्वलाई राष्ट्रिय चाडका रूपमा मनाइने गरिन्छ । काम विशेषले परिवारबाट टाढा हुन पुगेका आफन्तहरू पनि यो समयमा एकै ठाउँमा जम्मा भएर ठुलाले सानालाई आशीर्वाद दिनुका अतिरिक्त सानाले ठुलाप्रति आदरभाव देखाई ‘मिलिजुली खाँऔँ हाँसीखुसी बसौँ’ भन्ने भावना यो पर्वले दर्साउँछ । विश्वका हिन्दुहरूले दसैँलाई ठाउँविशेष आआफ्नै परम्परा अनुसार मनाउने गरेको पाइन्छ ता पनि यसको सारतत्व भनेको असत्यमाथि सत्यको विजय हो । आदर्श पुरुष भगवान् रामलाई सत्य र न्यायको प्रतीक मानेर असत्य, अत्याचारी र अन्यायको पर्याय राक्षसी स्वभावको रावणमाथि विजयको प्रसङ्गमा शक्ति स्वरूपा महामाया भगवतीको सहयोगबिना उक्त कार्य सम्भव नभएको बेहोरा शास्त्रमा उल्लेख छ । चैत्र र आश्विनमा गरेर वर्षको दुई पटक यो पर्व मनाउने चलन छ भए पनि विशेष उल्लास र उमङ्गका साथ असोजमा मनाइने दसैँको महत्व बढी छ । बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक र विशिष्ट खालको मौलिकताले भरिपूर्ण नेपाली परिवेशमा मनाइने दसैँ पर्व अन्य सम्प्रदायका सहिष्णु नेपालीका लागि पनि अनुकरणीय छ । समाजमा झाँगिँदै गएको आधुनिकतासँगै दसैँको सारतत्व र मौलिकतामा नै आँच आउन लागेको त होइन भन्ने आभास आउन लागेको छ । दसैँलाई राम्रो लगाउने, मिठो खाने र मनोरञ्जन गर्ने पर्वका रूपमा लिनुभन्दा पनि आपसी मेलमिलाप, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने गराउने सुअवसरका रूपमा लिनु पर्दछ । 

करिब ९० प्रतिशतको हाराहारीमा ॐकार परिवारको बाहुल्य रहेको नेपालमा दसैँलाई विशेष हर्ष र उल्लासका साथ मनाउने चलन पुरानै हो । सनातन हिन्दु धर्मशास्त्रमा विश्वास राख्ने हिन्दुहरूले दसैँ मनाउने क्रममा सर्वप्रथम आफ्ना स्वर्गीय नातागोतालाई सम्झने गर्छन् । आश्विन कृष्णपक्षको प्रतिपदादेखि कृष्णपक्षमै पर्ने १५ वटा तिथि र आश्विन शुक्लपक्षको प्रतिपदा तिथिलाई समेत गणना गरी हुन आउने १६ दिनको अवधिलाई पितृपक्षका रूपमा लिइन्छ । यो समयावधिलाई सोह्रश्राद्ध भन्ने चलन छ । यस अवसरमा आफ्ना दिवङ्गत पितृलाई सम्झेर दसैँको भागस्वरूप पिण्डदान, तर्पण आदि गरेर मृतात्माप्रति भक्तिभाव दर्साई पितृऋणबाट मुक्ति पाउने आशा राखिन्छ । उदार स्वभावका सहिष्णु हिन्दुहरू वर्षको एक पटक आउने दसैँ जस्तो महान् चाडमा परलोकमा पुगेका आफन्तलाई श्रद्धापूर्वक सम्झेर मात्र आफू दसैँ मनाउनमा व्यस्त हुन्छन् । पितृपक्षको समाप्तिसँगै नवरात्रको नौ दिनसम्म देवीको उपासना गरी शक्तिकी प्रतिमूर्ति दुर्गाको विशेष पूजा आराधना गरिन्छ । विशेष महत्वका साथ मनाइने दुर्गा पक्षको समाप्तिपछि पर्ने दशमीको दिनलाई विजया दशमीका रूपमा लिई सोही दिन दुर्गादेवीको प्रसादस्वरूप टीका, जमरासहित मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने चलन छ । नवरात्रिको अवसरमा बलि दिने प्रचलन नेपालमा व्यापक छ । दुर्गाको उपासनाबाट सत्यको जित र असत्यको पराजय भएको सम्झी उक्त दिनलाई विजयादशमीका रूपमा लिने हिन्दु शास्त्रीय मान्यता रहिआएको छ । सोही दिनदेखि कोजाग्रत पूर्णिमासम्म पनि देवीको प्रसादस्वरूपको जमरा र टीका आफ्ना मान्यजनको हातबाट ग्रहण गर्ने चलन   छ । न धेरै जाडो, न उग्र गर्मीको समय पारेर आउने शरद ऋतुको दसेँ हिन्दुहरूको विशेष चाड हो । नेपालका लागि दसैँ ठुलो राष्ट्रिय चाड भएकाले यस अवधिमा सार्वजनिक बिदा दिई सबै राष्ट्रसेवक कर्मचारीलाई थप एक महिनाको तलब पर्व खर्चका रूपमा दिने गरिन्छ । दसैँको पूर्वसन्ध्या (सोह्रश्राद्ध) मा स्वर्गवासी मृतात्माहरू पृथ्वीमा आएर आफ्ना जीवित सन्ततिले दिने पिण्ड, तर्पणका लागि कुरेर बसेका हुन्छन् भन्ने प्रसङ्ग विभिन्न हिन्दु शास्त्रमा उल्लेख गरेको भेटिन्छ । कथंकदाचित कुनै व्यक्तिले सोह्रश्राद्धको अवधिमा पिण्डदान गरेनन् भने पितृहरू रिसाएर अनिष्ट हुने कुरा शास्त्रहरूमा उल्लेख गरिएको छ । अतः सबै सनातनी हिन्दुले आश्विन कृष्णपक्षको १६ दिने अवधिमा मरेको तिथि अनुसार आफ्ना पितृलाई पिण्ड/तर्पण दिनु अनिवार्य हुन्छ । मरेर खरानी भइसकेका आफन्तलाई पनि सम्झेर उहाँहरूका नाममा पिण्डदान, तर्पण, जलदान सिदादान गर्नु पर्दछ भन्ने सिद्धान्त प्रतिपादन गर्ने हिन्दु दर्शन संसारकै उत्कृष्ट हो । देवताभन्दा दिवङ्गत पितृहरू ठुला हुन्छन् भन्ने मान्यता राख्ने हिन्दुहरू आफ्ना पितृहरूको सम्झनामा तिथि अनुसारको श्राद्ध, तर्पण र जलदान गरेर उहाँहरूले आफूप्रति लगाएको गुण सम्झने गर्छन् । दिवङ्गत पुर्खालाई श्रद्धापूर्वक गरिने पिण्डदानको कार्य समाप्त भएको क्षणलाई आनन्द मान्ने हिन्दुहरू सहिष्णु, सहृदयी र सद्भावको पर्यायवाची हुन् । पितृपक्षको समाप्तिपछि देवी दुर्गाको आह्वान गरी पवित्र स्थानमा घटस्थापना गरेर जौ, तिल जस्ता पवित्र अन्नहरूको बिजारोपण गरिन्छ । नौ दिनसम्म देवीको विशेष पूजा गरेपछि उम्रेको जमरा दशमीका दिन प्रसादस्वरूप ग्रहण गर्ने परम्परा छ । अर्को दुई हप्ता देवीपक्षको उपासना गरेर भक्तिमय वातावरणमा मनाइने दसैँलाई राम्रो लगाउने, मिठो खाने र इष्टमित्र, भाइसाथीसँग भेटघाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । विभिन्न सांस्कृतिक वैभवले भरिपूर्ण हाम्रो समाज धार्मिक सहिष्णुतामा विश्वास राख्ने हुँदा गैरहिन्दुहरूले पनि यो पर्वलाई श्रद्धासाथ मनाएको धेरै उदाहरण भेटिन्छ । देवी दुर्गाको उपासना गरी दैवी शक्ति आर्जन गर्ने सोह्रश्राद्धपछिको नौ दिनको अवधिलाई नवरात्रि भन्ने गरिन्छ । शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि नामले पुकारिने नौ वटी देवीको प्रतिपदादेखि नौ दिनसम्म विशेण पूजा गरिन्छ । विजयादशमीको दिन महिषासुर नामक राक्षसको वध भगवतीले गरेको खुसियालीमा नवदुर्गाको प्रसादस्वरूप रातो टीका र दुर्गा माताको प्रसादस्वरूप उमारिएको जमरा लगाई खुसियाली मनाइन्छ । आश्विन शुक्ल प्रतिपदा तिथिमा घटस्थापना गरेर कोजाग्रत पूर्णिमासम्मको १५ दिनको अवधिलाई दसैँको मुख्य पर्वका रूपमा मान्ने चलन छ । 

दसैँ, बडादसैँ, दसहरा, विजयादशमी, आयुध–पूजा आदिको नामले ठाउँ अनुसार सम्बोधन गरिने सांस्कृतिक पर्व दसैँ हिन्दुहरूलाई एकताको सूत्रमा आबद्ध गर्ने प्रमुख आधारस्तम्भ हो । समयको चक्रसँगै सदियौँदेखि मनाउँदै आएको दसैँ पर्वमा व्यापक फेरबदल आएको पाइन्छ । आजभन्दा सात दशकअघिको दसैँको सन्दर्भ र अहिलेको दसैँ मनाउने चलनमा आकाश जमिनको अन्तर छ । त्यतिबेलाको दसैँको आगमनसँगै ग्रामीण क्षेत्रमा घरआँगन कमेरो र रातो माटोले रङ्गिएका हुन्थे भने बारीका कान्लामा काँस फुलेर वातावरण नै सेताम्मे हुन्थ्यो । खर परालले छाएको ढुङ्गामाटोको परम्परागत घर त्योभन्दा तल पुछारसम्म लहलहाउँदो धान खेत, त्यसमाथि कोदो, मकै, फापर आदि गरिएका अन्नबालीको । सिरानमा आफू बस्ने घर, वरपर कल कल ध्वनिका धारा, स्वच्छ वातावरण, चराको चिरबिर आवाज सुन्दा त्यतिबेला स्वर्गको अनुभूति हुन्थ्यो । दसैँको सेरोफेरोमा फाँटमा धानका बालाहरू पहेँलपुर हुन्थे त्यसमाथि उदाउँदो अस्ताउँदाको सूर्यका किरण सोझै पर्दा लाग्दथ्यो कतै धानखेत नै सुनको पुञ्ज त होइन ! हरेक वर्ष दसैँको आगमनसँगै घैया धानका चिउरा कुट्न उर्गल लुसीको प्रयोग हुने गर्दथ्यो । त्यतिबेला धान कुट्ने, चिउरा कुट्ने मेसिन थिएन । चिउराका लागि बारीमा घैया धान लगाउने वा नयाँ धानको खेती गर्ने चलन थियो । त्यतिखेरको निर्वाहमुखी खेती प्रणालीले १२ महिना खान धौ धौ पर्दथ्यो । दसैँमा खाने चामलका लागि खेतमा थापाचिनियाँ, तौली आदि गरिएका धानको खेती गरिन्थ्यो । गाउँले बस्ती बाक्लो र रमाइलो हुन्थ्यो । चारैतिर उल्लासमय वातावरणमा शारदीय मौसममा पर्ने दसैँ र त्यसपछि लगत्तै आउने तिहार पर्व हिन्दुहरूका लागि स्वर्णिम अवसर हुन् । त्यतिबेलाको दसैँको अर्को महत्वपूर्ण पक्ष भनेको ग्रामीण समुदायमा जताततै देखिने रोटे, लिङ्गे, जाँते नामले सम्बोधन गरिने पिङले दिने आनन्दको क्षण अर्कै हुन्थ्यो । झन्डै एक महिनाअघिदेखि जोडिने पिङमा तँछाडमछाड गर्दै झुम्मिने गाउँलेको मनोरञ्जनको साधन भनेको पिङबाहेक अरू केही थिएन । ओराली, उकाली गर्न केही कठिन भए पनि स्वच्छ हावा, मनोरम दृश्य, निश्चल ग्रामीण बस्ती, त्यहाँभन्दा स्वर्ग खोज्न कहाँ जानु ! हिजोको गाउँको परिवेश आजकोसँग मिल्दैन । आजका गाउँ मानव बस्तीविहीन, उजाड र खण्डहर छन् । धेरै युवा विदेश र सहर पलायन भइसके, वृद्धहरू पनि सहारा खोज्दै गाउँ छोड्दै छन् । गाउँका बासिन्दा सुविधासम्पन्न सहरकेन्द्रित हुँदै गएकाले अब पहिलेको जस्तो दसैँको रौनक गाउँमा भेटिन्न ।       

Author

बलराम शर्मा चौलागाईं