सन्तोष गौतम
म्याग्दी, असोज १० गते । ढोरपाटन सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ । एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ । २०४४ सालमा घोषणा गरिएको यो नेपालको एकमात्र सिकार आरक्ष हो ।
यो आरक्ष पर्यटनका लागि मात्र नभएर ढोरपाटनको जैविक, सांस्कृतिक, पर्यटकीय, धार्मिक लगायत धेरै अवसरहरू छन् । हरेक वर्षको वसन्त र शरद्याममा ढोरपाटनमा सिकार खेल्न विश्वका सौखिन र धनाढ्य सिकारीहरू आउँछन् । कम्पनीहरूले ठेक्का प्रतिस्पर्धामार्फत सरकारलाई राजस्व तिरेर सिकार गर्न पर्यटक ल्याउँछन् । यहाँ ३२ प्रजातिका स्तनधारी वन्यजन्तु र १३७ प्रजातिका पन्क्षीहरू छन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ, घुस्तुङ ब्लगमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा १९ वटा नाउर र ११ वटा झारल सिकारबाट चार करोड २६ लाख ८८ हजार ७०० राजस्व सङ्कलन भएको छ । आव २०६७/६८ देखि हालसम्म ३९४ नाउर, झारल र रतुवाको सिकार भएको छ । सन् २०२२ मा नाउरको गणना गर्दा ७९ वटा झुण्डमा एक हजार २९० भेटिएका थिए ।
आव २०७९/८० मा १९ नाउर र ११ झारल, २०७८/७९ मा १७ नाउर र आठ झारल, २०७७/७८ मा १० नाउर र छ झारलको सिकार भएको थियो । सिकार कम्पनी ग्लोबल सफारी काठमाडौँका सिकार गाइड मानबहादुर पुनका अनुसार स्पेन, अमेरिका, रसिया, अमेरिका, जर्मनी, फ्रान्स, बेलारुसलगायत देशका सिकारीहरू सिकार खेल्न आउँछन् । “विश्वका धनाढ्य व्यक्तिहरू जङ्गली जनावरको सिकारको सोख पूरा गर्न करोडौँ खर्चेर ढोरपाटन आउने गरेका हुन्,” १३ वर्षदेखि सिकार गराउँदै आउनुभएका उहाँले भन्नुभयो, “युवादेखि ७४ वर्षका वृद्ध पनि सिकार खेल्न आउने गर्दछन् ।”
वार्षिक १५ हजार पर्यटकको आगमन
विदेशी सिकारीका अलावा पछिल्ला केही वर्षयता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरू ढोरपाटन घुम्न आउने क्रम बढेको छ । आरक्षका रेन्जर सागर सुवेदीका अनुसार आव २०८०/८१ मा १५ हजार ५७३ जनाले भ्रमण गरेको ढोरपाटनमा पर्या–पर्यटन शीर्षकमा रु। १९ लाख ३३ हजार ७०० राजस्व सङ्कलन भएको थियो ।
ढोरपाटन उपत्यकाको प्रवेशविन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकहरूको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति एक सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति रु एक हजार ५०० र अन्य देशकाले रु तीन हजारका दरले शुल्क तिर्नुपर्छ । गत आवमा रु। चार करोड ७१ लाख दुई हजार ६२८ राजस्व सङ्कलन भएको छ । अघिल्लो आव २०७९/८० मा रु। तीन करोड ४८ लाख राजस्व सङ्कलन भएको थियो । सहज यात्रा गर्दै सिकार गर्न पाउने अवस्था भएर बढी बढाउनमा सिकारी छानिने अवसरले राजस्व बढेको आरक्षले जनाएको छ ।
गत आवमा सार्क राष्ट्रका चार र अन्य देशका १०२ जना पर्यटक ढोरपाटन आएका थिए । सडक यातायात, होटल तथा घरवास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिमा रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक घरवास (होमस्टे)का सञ्चालक रामबहादुर घर्तीमगरले बताउनुभयो । ढोरपाटनमा रहेका २१ वटा होटल र होमस्टेमा दैनिक ३०० जना बास बस्न सक्ने क्षमता छ ।
ढोरपाटनको आकर्षण
सुन्दर पाटन, आकर्षक गाउँ, मनै लोभ्याउने हिमाल, पृथक् रहनसहन, परम्परागत रूपमा बनेका घर–गोठहरू र घोडचढी ढोरपाटनको थप आकर्षण र विशेषता हो । सिकार आरक्ष कार्यालय परिसरको सूचना केन्द्र छ । आरक्ष क्षेत्रमा पाइने वन्यजन्तुबारे जानकारीसहित विभिन्न जनावर र पशुपन्छीको छालासमेत सङ्ग्रहालयमा राखिएको छ ।
ढोरपाटनमा उत्तरगङ्गाको ढोरबराह मन्दिर, उत्तरगङ्गा, रुद्रताल, छेन्टुङ गुम्बालगायत मठमन्दिर रहेका छन् । जनैपूर्णिमा, शिवरात्रिलगायत विभिन्न पर्वमा यहाँ तीर्थालुको भिड लाग्छ । ढोरपाटन आरक्ष कार्यालयको तीन किलोमिटर पूर्वमा रहेको छेन्टुङ गुम्बा र तिब्बती बस्ती ढोरपाटनको अर्को आकर्षण हो । तिब्बती शरणार्थीका जनजीवन, संस्कृति र रहनसहन बुझ्न छेन्टुङ पुग्नुपर्ने गन्तव्य हो । ढोरपाटनबाट २२ किलोमिटर दूरीमा रहेको जलजलाबाट हिमाल, सूर्योदय र पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
ढोरपाटन उपत्यकाको पुरानो हवाई मैदान, उत्तरगङ्गा, स्यालपाखे, नवी र तिब्बती शरणार्थी क्याम्पसम्म घुम्ने गर्छन् । त्यसका साथै गुर्जाघाट, जलजला र माथिल्लो भागमा बुकीलगायतका बस्ती यहाँका अन्य रमणीय स्थान हुन् । पर्यटकहरूको बसाई लम्बाउनका लागि सहायक गन्तव्य पहिचान गरेर सङ्घीय, प्रदेश सरकार र नगरपालिकामार्फत पूर्वाधार निर्माण थालिएको ढोरपाटन पर्यटन प्रवर्द्धन विकास संस्थाका सचिव जीवन पुनले बताउनुभयो । यसवर्ष पाखाथरमा होमस्टे सञ्चालन, काडेको डाडाखेदी किटेनी जोड्ने पदमार्ग र गर्पाछेडाको बुकीमा ‘ब्लु सिप गोठ स्टे’ सञ्चालन गरेका छन् ।
बुकी, पशुपालन र पर्यटन
ढोरपाटन सिकार आरक्ष समुन्द्री सतहदेखि दुई हजार मिटर उचाइमा रहेको रुकुमको तकसेरादेखि सात हजार २४३ मिटर उचाइएको चुरेन हिमालसम्म फैलिएको छ । स्थानीयवासीले हिमाली क्षेत्रका पाटनहरूलाई बुकी भन्ने हुँदा त्यहाँ फुल्ने फूलहरूलाई बुकी फूल भन्ने गरिएको हो । बर्खायाम सुरु भएपछि पूर्वी रुकुम, म्याग्दी र बागलुङका किसानले पालेका गाईभैँसी, भेडा, बाख्रा, घोडालाई घाँस खुवाउन बुकीतर्फ उकालो लाग्छन् । बेँसीका खेतबारीमा बाली लगाएपछि ठुलो सङ्ख्यामा पालिने बस्तुभाउलाई पोसिलो घाँस खुवाउन बुकी लैजाने चलन रहेको छ । वैशाखमा लेकतिर उक्लिएका गोठालाहरू असोजमा मात्र बेँसी झर्ने चलन छ । गोठाला जनजीवनलाई नियाल्नका लागि बुकीको यात्रा रोमाञ्चक अवसर हो । पर्यटकहरू घोडा चढेर रमाउँछन् ।
बुकीको पोसिलो घाँस खाएका बस्तुभाउ निरोगी, मोटा हुने र दूध तथा मासुको उत्पादन बढी हुने किसान लछुमन थापा बताउनुहुन्छ । बुकीफुलको ढोरपाटन र आसपासका गाउँहरूमा मनाइने चाडपर्व, धर्म, संस्कार र संस्कृतिसँग गाँसिएको छ । भूमे पूजामा युवायुवतीहरूले फूल टिपेर एक अर्कालाई दिने चलन छ । साउने सङ्क्रान्तिमा बुकी फूल जम्मा पारेर लेक र गाउँका देवता पुज्ने गर्छन् । मगराँत क्षेत्रको प्रमुख मानिने उत्तरगङ्गा ढोरबराहमा जनै पूर्णिमामा लाग्ने मेला ढोरपाटनलाई बुकी फूलले ढाकेको समयमा लाग्ने गर्छ । ढोरपाटनमा ढकमक्क फूल फुलेर स्वर्गजस्तो बनेको जनैपूर्णिमाको दिन पारेर यहाँ बलि राजा प्रकट भएका र उनको स्वागतका लागि मेला लगाउने चलन रहेको छ । ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत मण्डिप पँगेनीका अनुसार साउनदेखि असोजको पहिलो हप्तासम्म बुकी फुल्ने गर्छ । “बर्खायाममा ढोरपाटनको आकर्षण नै बुकी हो,” उहाँले भन्नुभयो, “यहाँ पाइने फुलहरूको जात पहिचान र अभिलेखीकरणको काम थालेका छौँ ।”
संरक्षण अधिकृत पशुपति अधिकारीले आरक्ष क्षेत्रमा फाइने १३ प्रजातिका फरक-फरक फूलको तस्बिर र स्थानीय नाम सङ्कलन गर्नुभएको छ । ओठफुटे, काप्चुच्चे, दहीठेकी, दुधे, नाकेफुली, पुतली, प्याउली, फट्याङग्री, बिजौरी, बुकी (१), (२), (३), बोक्सी, मदाने र राके स्थानीय नाम गरेका फूलको तस्बिर सङ्कलन भएको छ । यीबाहेक कप्टेरी, भुइँपाटी, बटारे, घोप्टे, अतीसलगायतका फूलहरू पनि बुकीको पाटनमा फुल्ने गर्छन् । वर्षात्को समयमा मात्रै फुल्ने यी फूलहरू असोज लागेपछि सुक्न थाल्छन् । बुकी फूलको बारेमा वैज्ञानिक अध्ययन अनुसन्धान भएको छैन ।
सङ्कलन भएका तस्बिरहरूलाई सम्बन्धित विज्ञहरूको सहयोगमा अङ्ग्रेजी र वैज्ञानिक नाम पहिचान गर्ने तयारी गरेको संरक्षण अधिकृत पङ्गेनीले बताउनुभयो । आरक्षले फूलहरूलाई संरक्षण गर्न चरन क्षेत्रबाट ट्याक्टरमा गाईबस्तुको मल उठाउन रोकेको छ । सिमसार क्षेत्रमा गाईबस्तुले गोब्राउने भएकाले मलिलो माटोमा फूलका बोटबिरुवा सजिलै हुर्कन्छन् ।
यहाँसम्म कसरी पुग्ने ?
पोखरादेखि मध्यपहाडी लोकमार्ग भएर बस, गाडी वा मोटरसाइकलमा बागलुङ सदरमुकाम हुँदै झन्डै पाँच घण्टामा बुर्तिबाङ पुगिन्छ । बुर्तिबाङ पुगेपछि लोकमार्गलाई छाडेर अधिकारीचौर, बोबाङ हुँदै ३६ किलोमिटर कच्ची सडकमा जिप र मोटरसाइकलमा दुईदेखि तीन घण्टामा ढोरपाटन पुगिन्छ । म्याग्दीको बेनी हुँदै धवलागिरि गाउँपालिकाको मुनासम्म ४५ किलोमिटर सडकमा र त्यसपछि मरेनी जलजला हुँदै दुई दिन पैदलयात्रा गरेर ढोरपाटन पुगिन्छ । पूर्वी रुकुमको टकसेरा हुँदै पनि ढोरपाटन आउन सकिन्छ । गुरिल्ला पदमार्गले समेटिएको ढोरपाटन हुँदै डोल्पा पनि जान सकिन्छ ।
ढोरपाटन सिकार आरक्ष पुग्ने सडकको पहुँचमार्ग बागलुङको बुर्तीवाङबाट छ । ढोरपाटन घुम्न जाने धेरैजसोले बुर्तिबाङ–ढोरपाटन सडक प्रयोग गर्छन् । ढोरपाटनबाट लाभ लिनका लागि म्याग्दी हुँदै जलजला र ढोरपाटन जोड्ने सडक निर्माण कार्यलाई जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । “बागलुङको बुर्तिबाङभन्दा म्याग्दीबाट ढोरपाटन पुग्न ४० देखि ४५ किलोमिटर नै छोटो पर्छ,” उहाँले भन्नुभयो “बेनीदेखि दरवाङ, मुना, खोरिया हुँदै मरेनीसम्म पुगेको सडकलाई स्तरोन्नति गर्ने र मरेनीदेखि जलजला जोड्ने सडकको मार्ग खोल्ने कार्यलाई प्राथमिकता दिएका छौँ ।”
यस वर्षपनि मरेनी जलजला ढोरपाटन जोड्ने सडकका लागि सङ्घीय सरकारबाट रु। छ करोड ६० लाख विनियोजन भएको छ । ढोरपाटन उपत्यकादेखि छेन्तुङ, गुर्जाघाट हुँदै जलजलासम्म २२ किलोमिटर सडकको मार्ग खुलिसकेको छ । यो सडकमा पर्ने विभिन्न ठाउँका खोलाहरूमा कजवे, कल्भर्ट र मोटरेबल पुल बनाउन आवश्यक छ । ढोरपाटनदेखि पूर्वी रुकुम सडकले जोडिन नौ किलोमिटर मात्र बाँकी छ । म्याग्दी, ढोरपाटन र पूर्वी रुकुम सडकले जोडिएमा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प बन्न सक्छ । बागलुङ हुँदै पूर्वी रुकुम पुग्नुभन्दा म्याग्दीबाट जाँदा ६५ किलोमिटर छोटो पर्ने धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।
ढोरपाटनलाई सडक सञ्जालसँग जोड्ने र स्तरोन्नति गर्ने योजनालाई म्याग्दीका सबै राजनीतिक दल तथा सरोकारवालाहरूले प्राथमिकता दिएका छन् । गण्डकी प्रदेश सरकारले बेनी–दरवाङ सडक स्तरोन्नतिलाई पूर्णता दिने र दरवाङदेखि धारापानी ताकम मुना जोड्ने सडकलाई स्तरोन्नति गर्न प्राथमिकता दिएको पूर्वमन्त्रीसमेत रहेका प्रदेश सांसद रेशमबहादुर जुग्जालीले बताउनुभयो । उहाँका अनुसार धारापानीदेखि शिवाङ जोड्ने चार किलोमिटर सडक स्तरोन्नतिका लागि यस वर्ष रु २५ करोड विनियोजन भएको छ । दरवाङ धारपानी र शिवाङ– मुना सडक कालोपत्र गर्ने लक्ष्यसहित यसै वर्ष सङ्घीय र प्रदेश सरकारको साझेदारीमा कार्यान्वयन हुनेगरी रु एक अर्बको आयोजना भित्रिएको छ ।
बेनीदेखि मुनासम्मको सडक कालोपत्र र मुना खोरीया जलजला हुँदै ढोरपाटन सडकले जोड्न सकिएमा पोखरा, काठमाडौँका पर्यटक तथा रुकुम, जाजरकोटका बासिन्दालाई ढोरपाटन भित्र्याउन र आवतजावत गराउन सकिन्छ । यसबाट म्याग्दीको पश्चिमी क्षेत्रको समग्र विकासमा टेवा पुग्ने र आर्थिक समृद्धि हासिल हुने अपेक्षा गरिएको छ । रासस