• ११ असोज २०८१, शुक्रबार

फरार तीनजनालाई दुबईबाट पक्राउ गरी काठमाडाैँ ल्याइयाे

blog

काठमाडौँ, असोज १० गते । ठगीसम्बन्धी कसुर मुद्दा र जबरजस्ती करणी कसुरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना फरार प्रतिवादी दुबईबाट पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा ठगीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पाँचथर मिक्लाजुङ गाउँपालिका–४ ठेगाना भएका ४२ वर्षीय भूपेन्द्र बोहोरा र काठमाडौँ नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी तथा जबरजस्ती करणी कसुरसम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–१० बस्ने २६ वर्षीय रोमन कार्की छन् । 

तीनैजनालाई सम्बन्धित मुद्दामा कारबाही गर्ने, गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । 

पक्राउ परेकामध्ये भूपेन्द्र बोहोरालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटबाट अनुरोध भएपश्चात् इन्टरपोल महासचिवालयबाट २०७९ जेठ १६ गते रेड नोटिस जारी भएको थियो । 

यस्तै, काठमाडौँ उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीबाट अनुरोध भएपश्‍चात इन्टरपोल महासचिवालयबाट २०७० साउन २४ गते कबिर बुढाथोकी र २०८१ असार १२ गते रोमन कार्कीविरुद्ध रेड नोटिस जारी भएको थियो ।

भूपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।