• ११ असोज २०८१, शुक्रबार

‘हेलो गर्भवती आमा’ कार्यक्रम

blog

सुर्खेत समाचारदाता

सुर्खेत, असोज १० गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा ‘हेलो गर्भवती आमा’ कार्यक्रम सुरु गरेको छ । नगरप्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर नगरपालिका–२ को दौलतपुर सहरी स्वास्थ्य केन्द्रबाट गर्भवती नरमा थापालाई फोन गरी उक्त कार्यक्रम सुरु गर्नुभएको हो । 

नगरपालिकाका १६ वटै वडाका स्वास्थ्य केन्द्रबाट आफ्नो क्षेत्रमा रहेका गर्भवती महिलालाई स्वास्थ्यकर्मीले फोन गरी गर्भवती आमा र बच्चाको स्वास्थ्य अवस्थाको ख्याल, खोप, पोषणलगायतका बारेमा जानकारी दिँदै स्वास्थ्य संस्थामा आउने जानकारी गराउने छन् । यस कार्यक्रममा नियमित गर्भजाँच, रगत, भिडियो एक्सरे, पिसाब तथा आवश्यक जाँच, खोप, पोषण तथा सरसफाइ, खतराका चिह्न, प्रसूतिको पूर्वतयारी र अन्य स्वास्थ्यको अवस्थाबारे परामर्श दिइने नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख भूपेन्ददेव गिरीले बताउनुभयो । 

‘हेलो गर्भवती आमा’ कार्यक्रमले गर्भवतीलाई स्वास्थ्य संस्थामा आठ पटकसम्म नियमित आउने बनाउने छ । यस्तै घरमै रहेको गर्भवतीले आफ्नो स्वास्थ्यको अवस्थाबारे स्वास्थ्यकर्मीलाई पनि जानकारी गराउने छन् । यसबाट उनीहरूको अवस्था कस्तो छ भन्ने प्रस्ट हुने गिरीले बताउनुभयो । विगतमा नियमित स्वास्थ्य संस्थामा आउन नचाहेका वा नभ्याएका गर्भवतीको खोजी पनि गरिने छ । वडामा रहेका स्वास्थ्य संस्थाले यस कार्यक्रमको एप्समा गर्भवतीको नाम इन्ट्री गरेर उनीहरूको सम्पर्क नम्बर पनि राखिने छ । 

वीरेन्द्रनगरका १६ वटै वडाका स्वास्थ्य संस्थामा नगरका करिब पाँच हजार आमालाई फोन गरिने छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले गर्भवती आमा र बच्चालाई बचाउन यो कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले महिला र गर्भको बच्चाको स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्दै नगरपालिकाले आमा सुरक्षा कार्यक्रम धेरै ल्याएको बताउँदै उहाँले नगरपालिकाको स्वास्थ्य अवस्थामा थप सुधार आउने उल्लेख गर्नुभयो । सो अवसरमा नगरप्रमुखले दौलतपुर सहरी स्वास्थ्य केन्द्रमा स्थापना गरिएको स्तनपान कक्ष पनि उद्घाटन गर्नुभयो । आमा स्वास्थ्यकर्मी तथा सेवाग्राहीले छुट्टै बसेर आफ्ना बच्चालाई स्तनपात गराउन यो स्तनपान कक्ष स्थापना गरिएको केन्द्रका इन्चार्ज पुष्कर खड्काले बताउनुभयो । सो वडामा २०४ जना गर्भवती आमा रहेका तथ्याङ्क छ । 

वीरेन्द्रनगर प्रथम

सुर्खेत जिल्लाको स्वास्थ्य क्षेत्रमा काम गरेका स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिका चौथो पटक पनि प्रथम भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले गरेको स्वास्थ्य सेवाको मूल्याङ्कनका आधारमा वीरेन्द्रनगर नगरपालिका यस पटक पनि प्रथम भएको छ । वीरेन्द्रनगरले कुल ५० पूर्णाङ्कमा ४०.८६ अङ्क प्राप्त गरी प्रथम भएको हो । 

वीरेन्द्रनगर नगरपालिकाका जनस्वास्थ्य प्रमुख भूपेन्द्रदेव गिरीले नगरको खोप लगाएको मात्रा, पोषणलगायतका अन्य कार्यक्रममा उत्कृष्ट सम्पादन भएकाले प्रथम हुन सफल भएको बताउनुभयो । वीरेन्द्रनगर नगरपालिकाले नगरबाट सुत्केरीलाई पोषणबापत एक हजार रुपियाँ दिँदै आएको छ । गत आर्थिक वर्षमा २१२ जना गर्भवती महिलालाई निःशुल्क भिडियो सेवा दिइएको छ भने २८४ जनालाई स्वास्थ्य संस्थामा रिफर गरिएको छ । यस्तै १७२ जनालाई पोषण कोसेली उपहार प्रदान गरिएको छ । त्यसै गरी एक हजार ४०४ जनालाई घरमै स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य परीक्षण गरिएको, १७८ जनाको निःशुल्क बिमा गरिएको जानकारी गिरीले दिनुभयो ।