• ११ असोज २०८१, शुक्रबार

नियमित सरसफाइ अभियान

blog

सिद्धार्थनगर समाचारदाता

सिद्धार्थनगर, असोज १० गते । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नियमित चल्ने गरी सरसफाइ अभियान सुरु गरेको छ । चाडबाडलाई लक्षित गरेर बुटवलले बसपार्क, मुख्य सडक र सार्वजनिक स्थल सरसफाइ अभियान सुरु गरेको हो । अभियानको सुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यो अभियानलाई नियमित बनाइने बताउनुभयो । उहाँले बुटवललाई सफा राख्न सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । बुटवललाई सफा, सुन्दर र हरियाली सहरका रूपमा स्थापित गरी पर्यटकीय विश्रामस्थलका रूपमा विकास गर्न गत आर्थिक वर्षदेखि हरियाली र उज्यालो बुटवल अभियान सुरु गरिएको प्रमुख पाण्डेयको भनाइ छ ।

उहाँले भन्नुभयो, “बुटवलको ऐतिहासिक, व्यापारिक, आर्थिक महत्वलाई जोगाउँदै पर्यटकीय विश्रामस्थलका रूपमा विकास गर्ने मुख्य लक्ष्यसहित सरसफाइ तथा हरियाली अभियान र उज्यालो बुटवल अभियान सञ्चालन गरिएको हो । गत वर्ष चलाएको जस्तै यो पनि नियमित चल्छ ।” अभियानलाई सफल बनाउन नगरवासी, टोल विकास संस्था, राजनीतिक दल, सामाजिक सङ्घ संस्था तथा सरोकारवाला निकायलाई साथमा लिएर अगाडि बढेको उहाँले बताउनुभयो ।

अभियानमा सरिक हुन जनप्रतिनिधिसँगै कर्मचारी, नगरवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सामाजिक सङ्घ संस्था, राजनीतिक दल, स्वयंसेवी संस्थालाई आह्वान गरेको उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिनुभयो । नगर सफा रहे मात्रै नागरिक स्वस्थ रहने भएकाले घर घरबाटै सहर सफा राख्ने अभियान नियमित हुनुपर्ने धारणा राख्नुभयो । अभियान अन्तर्गत असोज ११ गते कालिका स्कुलदेखि बसपार्कसम्म, १८ गते बसपार्कदेखि ट्राफिक चोकसम्म, कात्तिक २ गते ट्राफिक चोकदेखि गोलपार्कसम्म, ९ गते गोलपार्कदेखि तल्लो सिद्धबाबा मन्दिरसम्म र कात्तिक २३ गते योगीकुटीदेखि कालिका स्कुलसम्म सरसफाइ हुने छ । यस्तै कात्तिक ३० गते कालिका स्कुलदेखि बसपार्कसम्म र भित्री सडक, वडा क्षेत्र र सार्वजनिक स्थलमा नियमित सरसफाइ गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिनुभयो । बुटवलले हरियाली, सरसफाइ अभियान गत वर्ष पनि चलाएको थियो ।