• ११ असोज २०८१, शुक्रबार

थारू सङ्ग्रहालयमा आकर्षण

blog

दङ्गीशरण गाउँपालिका–३, चखौरास्थित थारू सङ्ग्रहालय ।

घोराही समाचारदाता 

घोराही, असोज १० गते । दाङमा निर्माण भएको थारू सङ्ग्रहालयमा पछिल्लो समय आकर्षण बढ्दै गएको छ । थारू जातिको कला संस्कृति संरक्षणसँगै अध्ययन अनुसन्धानमा सहयोग पुर्‍याउने उद्देश्यले दाङको दङ्गीशरण गाउँपालिका–३, चखौरामा निर्माण गरिएको थारू सङ्ग्रहालयमा अवलोकनसँगै अध्ययन अनुसन्धानको आकर्षण बढ्दै गएको हो । 

थारू समुदायसँग सम्बन्धित कला, संस्कृति र परम्पराको अवलोकन तथा अध्ययनका लागि दैनिक सयौँको सङ्ख्यामा मानिस पुग्ने गरेका छन् । दाङलगायत देशका विभिन्न जिल्लामा रहेका थारू समुदायका कला संस्कृतिलाई संरक्षण गर्न निर्माण भएको थारू सङ्ग्रहालय युवा विद्यार्थीको अध्ययनको केन्द्रसँगै समाज विकासका लागि खोज अनुसन्धान गर्नेका लागि सहयोगी केन्द्रका रूपमा विकास भएको छ । 

थारू समुदायको जन्म, मृत्यु, विवाहलगायतका संस्कारसँग जोडिएका परम्परालाई चित्र, मूर्ति, गरगहना र वेशभूषाबाट चित्रण गरिएको छ । पछिल्लो समय थारू सङ्ग्रहालय अवलोकनसँगै अध्ययन अनुसन्धानको केन्द्रका रूपमा विकास भइरहेको थारू सांस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष शान्ता चौधरीले बताउनुभयो । उपाध्यक्ष चौधरीका अनुसार चखौरामा रहेको थारू सङ्ग्रहालयमा दैनिक १५० जनासम्म आउने गरेका छन् । 

उहाँका अनुसार थारू सङ्ग्रहालयमा थारू जातिसँग सम्बन्धित कला, संस्कृति र परम्परासँग जोडिएका थारू समुदायको कला, संस्कृति, रीतिरिवाज, वेशभूषासहित परम्परागत रूपमा प्रयोग हुँदै आएका तर अहिले लोपोन्मुख अवस्थामा रहेका मूर्ति, नक्सा, गरगहना, पोषकलगायतका परम्परागत वस्तु संरक्षण गरेर राखिएको छ । त्यसै गरी थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने सामग्रीको अध्ययन तथा अवलोकनका लागि दैनिक रूपमा मानिस आउने गरेको उपाध्यक्ष चौधरी बताउनुहुन्छ । पूर्वदेखि पश्चिम नेपालका विभिन्न ठाउँमा बसोबास गर्ने थारू समुदायको कला, संस्कृति र परम्पराको अध्ययनका लागि मानिस आउने गरेको उहाँको भनाइ छ ।  उपाध्यक्ष चौधरीले भन्नुभयो, “सङ्ग्रहालयमा समाजका सबै थारू समुदायलाई समेट्ने गरी सामग्री राखिएको छ ।” थारू समुदायका पुराना वेशभूषा, चित्र, मूर्ति, नक्सा, गरगहना, सिक्का, माटोका भाँडा, दगौरा घरलगायत सामग्री सङ्ग्रहालयमा राखिएको छ । 

२०७५ सालदेखि सञ्चालनमा आएको उक्त सङ्ग्रहालयमा थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता पनि राखिएको उहाँले बताउनुभयो । तत्कालीन समयमा थारू राजाले कसरी राज्य सञ्चालन गर्ने गरेका थिए भन्ने झल्काउनका लागि दङ्गीशरण राजाको मूर्तिसमेत राखिएको छ ।

सबै क्षेत्रका थारूको इतिहास संरक्षण हुने गरी राखिएको भन्दै उपाध्यक्ष चौधरीले सङ्ग्रहालयमा राना, डगौरा, देउखुरी, चितवन, कैलाली कञ्चनपुर मोरङलगायत ठाउँमा बसोबास गर्ने थारू समुदायको कला, संस्कृति, परम्परा र इतिहासलाई देख्न पाइने बताउनुभयो । सङ्ग्रहालयमा अध्ययन र अवलोकनसँगै सङ्ग्रहालय रहेकै स्थानमा थारू परिकार खानासँगै नाचगान गरी रमाइलो गर्नका लागि थारू भान्साघरको समेत व्यवस्था गरिएको छ । सङ्ग्रहालय करिब पाँच बिघा क्षेत्रमा फैलिएको छ ।