• ११ असोज २०८१, शुक्रबार

नागरिकताभन्दा राहदानी लिने धेरै

blog

तनहुँ समाचारदाता

तनहुँ, असोज १० गते ।  तनहुँमा नेपाली नागरिकता बनाउनेभन्दा विदेश जाने अनुमतिपत्र अर्थात् राहदानी बनाउने सेवाग्राही धेरै भएका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा नागरिकता लिनेभन्दा राहदानी लिनेको सङ्ख्या धेरै रहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

महिला र पुरुष दुवै बिदेसिने क्रम बढेसँगै नागरिकताभन्दा राहदानी बनाउने बढ्न पुगेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । गौतमका अनुसार १५ हजार ७७७ राहदानी वितरण गरिएको छ । छ हजार ७३४ महिला र नौ हजार ५३ पुरुष गरी सो सङ्ख्यामा राहदानी वितरण गरिएको छ ।

त्यस्तै १६ हजार ७४३ राहदानी सिफारिस गरिएको छ । सोही अवधिमा आठ हजार ९५५ नागरिकता वितरण गरिएको छ । तीमध्ये वंशजको आधारमा आठ हजार ९४६ र वैवाहिक अङ्गीकृतको आधारमा नौ जनालाई नागरिकता वितरण गरिएको छ । नागरिकता प्राप्त गर्नेमध्ये चार हजार ७२८ महिला र चार हजार २२६ पुरुष छन् । यसै गरी सात हजार ६६१ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ ।

 दैनिक ७५ देखि एक सय जना राहदानी बनाउन आउने र अधिकांश १८ देखि ४० वर्षसम्मका युवा रहेको प्रजिअ गौतमले बताउनुभयो । योग्यता अनुसारको जागिर, तलब नपाउँदा र घरमै व्यवसाय सञ्चालन गर्न लजाउँदा युवा बिदेसिने क्रम बढेको उहाँ बताउनुहुन्छ ।  प्रशासन कार्यालयभित्रै वैदेशिक रोजगारीको क्रममा नठगिऊन् तथा सुरक्षित रहने उपायबारे जानकारी दिने भन्ने मुख्य उद्देश्यले परामर्शको व्यवस्था गरिएको छ ।