रमेश विश्वकर्मा
गुल्मी, असोज ९ गते । कारागार कार्यालय गुल्मीलाई सुधारगृहको रुपमा विकास गर्न थालिएको छ । कारागारलाई बन्दीगृह मात्र नभएर विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका व्यक्तिलाई सिप सिकाएर आय–आर्जनमा जोड्ने गरी कारागारलाई सुधारगृहका रुपमा विकास गर्न थालिएको हो ।
कारागारमा रहेका कैदीबन्दीलाई उद्यम र सीपमूलक कार्यहरुसँग जोड्दै सुधारगृहका रुपमा विकास गर्नका लागि विभिन्न प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । यस कारागारमा रहेका कैदीबन्दीको सिपलाई प्रयोग गरी उनीहरुलाई श्रमसँग जोड्न नयाँ अभ्यासको थालनी हुँदै आएको छ ।
पछिल्लो पटक प्रमुख जिल्ला अधिकारी शर्माको सक्रियतामा कैद जीवन बिताइरहेका कैदीबन्दीले सहज रुपमा पुस्तक अध्ययन गर्न पाउन् भन्ने उद्देश्यसहित पुस्तक र्याक निर्माण गरी पुस्तकको समेत व्यवस्था गरिएको छ । उद्यमशीलतामा व्यस्त रहे पनि लेख्न, पढ्न चाहना भएका कैदीबन्दीको लागि अध्ययनसँगै सोचाइमा परिवर्तन ल्याउनका लागि पुस्तक प्रदान गरिएको छ । सीप विकासका लागि विभिन्न प्रकारका काठका सामानको उत्पादन र बिक्री वितरणको व्यवस्था मिलाइएको छ ।
यस कारागार कार्यालयमा विगत १८ वर्षदेखि बाँसबाट बनाइने मुढा बुन्ने गरिए पनि हाल फर्निचरसँगै ढाकासम्बन्धी कपडा बुन्ने उद्योग सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । कैदीबन्दी उद्यमसँग जोडिएसँगै आय–आर्जन गर्न थालेका छन् । यसभित्रको उत्पादन र कार्य देख्दा त्यो कारागार नभई, विभिन्न उपभोग्य वस्तु उत्पादन गर्ने कारखाना हो भन्ने अनुभूति देख्न सकिने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।
कारगारको भित्री तथा बाहिरी भाग र कोठाहरुमा रङरोगन, कार्पेटिङ तथा ढलान गरी सहज बनाइएको छ । यहाँ भान्सा कोठाको विस्तार एवम् मर्मत सम्भार, राइस कुकर, विद्युतीय चुलोको व्यवस्थापन शौचालय मर्मतसम्भार एवम् विस्तार गरिएको छ । कारागारमा पुरुष तथा महिला कैदीबन्दीको सुताइलाई व्यवस्थित गर्न डबल टेकर खाटको व्यवस्था गरिएको छ । विद्युतीय गिजर, रेफ्रिजेरेटर टिभीको व्यवस्था गरिएको उहाँको भनाइ छ ।
मासिक ६० देखि ८० लाखसम्म कारोबार
यहाँ उत्पादित मुढा, ढाका र फर्निचरबाट मासिक सरदर ६० देखि ८० लाख रुपियाँसम्मको कारोबार हुने गरेको छ । सुरक्षा निकाय, प्रशासन र आन्तरिक प्रशासनको त्रिकोणात्मक सम्बन्धका कारण कैदीबन्दी तथा थुनुवाहरुलाई कारागारभित्रै सीप अनुसारको उद्यमसँग जोड्न सकिएको गुल्मी कारागारका प्रमुख जेलर रेश्मीराज पन्थी बताउभयो । हरेक महिना प्रतिव्यक्ति कालिगढहरुले मासिक १५ हजार रुपियाँसम्म र सहायकहरुले मासिक आठ हजारदेखि १२ हजार रुपियाँसम्म बुझ्ने गरेको उहाँले बताउनुभयो ।
बाहिरी कम्पाउण्ड नहुनु, भित्रीको कम्पाउण्ड पनि सानो भएका कारण सहज रुपमा उद्योग सञ्चालन गर्न नपाउनु नै मुख्य समस्या भएको जेलर पन्थीले बताउनुभयो । घरेलु कार्यालयमा यहाँको सिप अनुसारको साना उद्योग दर्ता गरी उद्योग नै सञ्चालन गर्न सकिए अहिलेको अवधारणा नेपाल कारागार ऐन २०७९ अनुसार खुला कारागारकै रुपमा व्यवस्थित गर्न सजिलो हुने भन्दै जेलर पन्थीले सिपमूलक कार्यक्रम सञ्चालन गरेर व्यस्त राख्न सकिए अपराध घट्दै जाने बताउनुभयो ।
क्षमताभन्दा बढी कैदीबन्दी
यस कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । २५ जनाको क्षमता रहेको यस कारागारमा १०७ जना कैदीबन्दी छन् । जसमा पुरुष कैदी ७८ जना, महिला कैदी पाँच जना, थुुनुवा पुरुष २२ जना र थुनुवा महिला दुई जना छन् । ४३ जनाले जबरजस्ती करणीसम्बन्धी कैद भुक्तान गरिरहेका छन् । चोरी सम्बन्धी १६ जना, कर्तव्य ज्यानसम्बन्धी १४ जना, सवारी ज्यानसम्बन्धी ७ जना, बहुविवाह ६ जना, जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरका २ जना कैदीबन्दी रहेका जेलर पन्थीले जानकारी दिनुभयो ।
त्यस्तै, ज्यान मार्ने उद्योग र हातहतियार खरखजाना तथा विस्फाेटक पदार्थसम्बन्धी १ जना, गौवध १ जना, ज्यान मार्ने उद्योगका ५ जना, अपराधिक उपद्रव (आगलागी) सम्बन्धी ८ जना, अप्राकृतिक मैथुनसम्बन्धी १ जना, नागरिकता, राहदानी र किर्तेसम्बन्धी १ जना, बैकिङ्क कसुर र वैदेशिक रोजगार सम्बन्धी १ जना, बालयौन दुरुपयोगसम्बन्धी १ जना गरी १०७ जना कैदीबन्दी अहिले कागारागारमा छन् ।