• ११ असोज २०८१, शुक्रबार

पर्सामा सुरक्षित गर्भपतन सेवा लिने बढे

blog

पर्सा, असोज ८ गते । पर्सा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । सुनौलो परिवार नेपालले वीरगन्जमा सुरक्षित गर्भपतन सेवामा पत्रकार र सरोकारवाला निकायको भूमिका विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम गरेको हो । 

स्वास्थ्य कार्यालय पर्साकी पब्लिक हेल्थ नर्सिङ अधिकृत मिरा यादवका अनुसार पर्सा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने महिलाहरूको सङ्ख्या बढ्दै गएको छ ।

स्वास्थ्य कार्यालय पर्साले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०-८१ मा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या एक हजार ६७१ पुगेको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ११.५ प्रतिशतले बढी हो । 

यादवका अनुसार जनचेतना अभिवृद्धि र स्वास्थ्य सेवाको पहुँचका कारण सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढेको यादवको ठहर छ । उहाँ भन्नुहुन्छ, “पर्साका १४ वटै स्थानीय तहमा असुरक्षित यौन सम्पर्क, यसले पार्ने स्वास्थ्यसम्बन्धी समस्या, र सुरक्षित गर्भपतनका विषयमा निरन्तर सचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ, जसले गर्दा महिलाहरूमा सुरक्षित गर्भपतनको महत्त्वबारे व्यापक जनचेतना फैलिएको छ ।”

वीरगन्ज महानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाकी प्रमुख इन्दिरा लोहनीले ०८०-८१ मा गर्भपतन सेवा पाएका महिलाहरूमा २० वर्षभन्दा कम उमेरका  धेरै रहेको बताउनुभयो। एक वर्षमा २० वर्षभन्दा कम उमेरका १२९ जनाले पर्सामा मात्रै सेवा लिएका छन् । 

सुरक्षित गर्भपतनका लागि पर्सामा देखिएको मुख्य समस्या भनेको दक्ष जनशक्तिको अभाव नै हो । लोहनीका अनुसार दक्ष जनशक्तिको अभाव र तालिम प्राप्त जनशक्ति सूचीकृत नहुनु यहाँको मुख्य समस्या हो । 

लोहनीले फार्मेसीबाट परीक्षण बिना सर्वसुलभ रूपमा औषधी पाउनु वितरण हुने गरेको बताउनुभयो । उहाँले भारत र नेपालको सीमा नाका खुला हुँदा नेपालमा दर्ता नै नभएका औषधी ल्याएर मनलाग्दी बिक्री वितरण गर्दा समस्या बढेको स्पष्ट पार्नुभयो । 

प्रजनन स्वास्थ्य कार्यक्रम तथा सुरक्षित गर्भपतन सेवा किशोर किशोरीमैत्री हुन नसक्नु चुनौतीका रूपमा देखिएको लोहनीको भनाइ छ । उहाँका अनुसार गर्भपतन सेवाको पहुँच सीमित हुनुपनि एउटा चुनौतीका रूपमा रहेको छ । 

नारायणी अस्पतालकी प्रसूति रोग विशेषज्ञ डा.मञ्जु रायले सुरक्षित गर्भपतन सेवाले मातृ मृत्यु दर घटाउन महत्त्वपूर्ण योगदान दिनसक्ने बताउनुभयो ।  उहाँले भन्नुभयो, “असुरक्षित गर्भपतनको कारणले महिलामा जटिलता बढ्ने जोखिम छ, त्यसैले सुरक्षित गर्भपतन सेवाको पहुँचलाई अझ सुदृढ पार्नुपर्ने आवश्यकता छ ।”

मधेश प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ अधिकृत ठाकुरले तीन तहको समन्वय नहुँदा सेवा प्रवाहमा गम्भीर समस्या आएको बताउनुभयो । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले कानुन विपरीत गर्भपतनका औषधी बिक्री वितरण गर्नेलाई महानगरले दण्डित गर्ने बताउनुभएको छ । 

वीरगन्जमा कानुन विपरीत गर्भपतनका औषधी वितरण भइरहेको सुन्नमा आएको जिकिर गर्दै यदि मिडियाले सहयोग गरे महानगरपालिकाले कारबाही गर्ने प्रतिबद्धता गर्नुभयो । 

सिंहले असुरक्षित गर्भपतनको औषधीको बिक्री वितरण रोक्न महानगरले चाडै अनुगमन गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “असुरक्षित गर्भपतनको औषधी बिक्रीले महिलाको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छ, त्यसैले यसलाई रोक्न महानगर सक्रिय हुँदैछ ।”