• ११ असोज २०८१, शुक्रबार

सरकारलाई घेराबन्दी गर्ने प्रयास भएको छ : महासचिव पोखरेल

blog

दाङको लमहीमा एमालेको लमही नगर अधिवेसनको उदघाटन कार्यक्रममा महासचिव शंकर पोखरेल । तस्बिरः दिवाकर पोख्रेल

दिवाकर पोख्रेल

देउखुरी, असोज ७ गते । ने.क.पा. (एमाले) का महासचिव शङ्कर पोखरेलले मुख्य दुई दल मिलेर बनेको सरकारलाई घेराबन्दी गर्ने प्रयास भइरहेको बताउनुभएको छ । दाङको लमहीमा एमालेको लमही नगर अधिवेशनको आज उद्घाटन गर्दै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो ।

आफू सरकारमा हुँदा मनपरी गरेकाहरूले अहिले सरकार बाहिर भएपछि सरकारको विरोध गर्ने, घेराबन्दी गर्ने र अराजकता सिर्जना गर्ने प्रयास गरेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘हामी ठुला दलहरू मिलेपछि जनतामा देखिएको निराशा र कुण्डा अन्त्य भएको छ, अर्थतन्त्रका सकारात्मक परिवर्तन देखिन थालेका छन्, त्यस्तो बेलामा केहीले मन पराएका छैनन ।’

पूर्व सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका एमालेका महासचिव पोखरेलले राजनीतिक अस्थिरता अन्त्य गर्न आवश्यकताअनुसारको संविधान संशोधन गर्ने योजनाका साथ ठुला दलहरू मिलेर सरकार बनाएको बताउनुभयो । आफूहरू मिल्नुको अर्थ मुलुकको उज्यालो यात्राका लागि भएको भन्दै यो मुलुकमा नीतिको बहस आवश्यक रहेको औँल्याउनुभयो । 

उहाँले भन्नुभयो, ‘संविधान सभाबाट संविधान जारी भएपछि नेपालको राजनीतिमा नीतिको बहस हुनै छोड्यो, स्वार्थमा आधारित क्रियाकलाप अघि बढ्न थाले, कुनै पनि देशको विकासमा नीतिगत नेतृत्वको आवश्यकता पर्दछ ।’ 

देशको विकासमा दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व हुनुपर्ने तर्क गर्दै महासचिव पोखरेलले छिमेकी मुलुकमा भइरहेको विकास त्यसैको परिणाम भएको प्रस्ट पार्नुभयो ।