• ११ असोज २०८१, शुक्रबार

कृषिलाई निर्वाहमुखी होइन, प्रतिस्पर्धात्मक बनाउनुपर्छ: मन्त्री अधिकारी

blog

ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी कृषिमा प्रत्यक्ष वित्तीय लगानी (जिटुजी) को काठमाडौँमा शुभारम्भ कार्यक्रममा सहभागी हुनुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलगायत । तस्बिर : मन्त्री अधिकारीको सचिवालय

काठमाडौँ, असोज ७ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले निर्वाहमुखी कृषिलाई दिगो, उद्यमशीलता र प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रूपान्तरण गर्न सरकार लागि परेको बताउनुभएको छ । ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी (जिएफएसएस/यूएसएआइडी) कृषिमा प्रत्यक्ष वित्तीय लगानी (जिटुजी)को सोमबार काठमाडौँमा शुभारम्भ गर्नुहुँदै मन्त्री अधिकारीले दुई तिहाइ ग्रामीण जनताको जीविकोपार्जनको माध्यम कृषि रहेको बताउनुभएको हो ।

कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा लगभग २४५ योगदान पुर्‍याएको चर्चा गर्नुहुँदै  मन्त्री अधिकारीले भन्नुभयो, ‘‘कृषिमा उच्च लागत, कम उत्पादकत्व, मानव श्रममा आधारित, गुणस्तरीय कृषि सामग्रीहरू (बीउ, मल, सिँचाइ, मेशिन)मा सीमित पहुँच र अव्यवस्थित बजारहरूले बाधा पर्याइरहेको छ ।’’

किसानहरू र उद्यमीहरूले कृषि ऋण र सरकारी सहयोग सहज रूपमा पाउन नसकेको जानकारी दिनुहुँदै मन्त्री अधिकारीले त्यसलाई सहज, छिटो र छरितो बनाउन सरकार लागि परेको बताउनुभयो ।

जलवायु परिवर्तनको असर र प्रभाव कृषि क्षेत्रमा देखिन थालेको जानकारी दिनुहुँदै कृषिमन्त्री अधिकारीले विश्व नै यस क्षेत्रमा संवेदनशील हुनुपर्नेमा बेला आएको जिकिर गर्नुभयो । जलवायु परिवर्तनको असरले कृषि उत्पादकत्व र उत्पादनलाई घटाइरहेको बताउनुहुँदै मन्त्री अधिकारीले भन्नुभयो, ‘‘कृषि प्रणाली र खाद्य सुरक्षामा थप चुनौतीको रूपमा देखिएको छ ।’’

मन्त्री अधिकारीले कृषि क्षेत्रलाई व्यवसायीकरण र औद्योगिकीकरणतर्फ अग्रसर गराउन सरकारी, निजी, सहकारी र विकास साझेदारहरूको समन्वयात्मक प्रयास आवश्यक रहेको औँल्याउनुभयो । विकास साझेदार, निजी क्षेत्र, सहकारी र किसानका नव प्रवर्द्धनशील विचार, अनुभव र स्रोतहरूका सरकार हातेमालो गरेर अघि बढ्न चाहेको जानकारी दिनुहुँदै मन्त्री अधिकारीले सबैलाई सहकार्यका लागि आह्वान गर्नुभयो । 

सरकारले कृषिमा लगानीको दशक घोषणा गरेको काम गरी रहेको जनाउँदै कृषि मन्त्री अधिकारीले कृषिमा लगानी बढाउन आवश्यक र युवा पुस्तालाई आकर्षित गर्नका लागि आवश्यक कानुन संशोधनको तयारी पनि भइरहेको जानकारी दिनुभयो ।

ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजीले कृषिमा आधारित आर्थिक विकासलाई प्रोत्साहन गर्ने, उद्यमशील कृषिलाई मजबुत बनाउने, खाद्य र पोषण सुरक्षामा सुधार गर्ने, गरिबी घटाउने, र निजी क्षेत्रको लगानी बढाउने नीति वातावरण सिर्जना गर्न मद्दत पुग्ने दाबी उहाँले गर्नुभयो । नेपालको आर्थिक समृद्धिका लागि कृषिमा रूपान्तरण भएकोमा जोड दिँदै त्यसका लागि लिनुपर्ने नीति र बाटो बारे थप सुझावको पनि आफूले अपेक्षा गरेको उहाँले बताउनुभयो ।

यूएसएआइडीले पछिल्लो सात दशकदेखि नेपालमा गरिबी, भोकमरी र कुपोषण घटाउन योगदान पुर्‍याएको जनाउँदै मन्त्री अधिकारीले त्यसका लागि नेपाल सरकारतर्फबाट कृतज्ञता व्यक्त गर्नुभयो र आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राखेको बताउनुभयो । ‘‘नेपाल सरकारले जिएफएस्एस् र जिटुजी पहलहरूलाई सफलतापूर्वक कार्यान्वयन गर्न दृढ प्रतिबद्धता जाहेर गर्दछ, जसले समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय दृष्टिकोणमा योगदान पुर्‍याउनेछ भन्ने अपेक्षा गरेको छु,’’ उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत महामहिम डिन आर थोम्पसन, यूएसएआइडी नेपालको मिसन निर्देशक मिस क्याटी डोनोहोसहित विभिन्न व्यक्तिहरूको सहभागिता थियो ।