• ११ असोज २०८१, शुक्रबार

डिभिजन कार्यालयको योजना कार्यान्वयनमा

blog

ठेक्का तयारीका लागि स्थलगत अनुगमनमा खटिएको सामाजिक विकास डिभिजन कार्यालय बाँकेको टोली । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, असोज ७ गते । सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जले चालु आर्थिक वर्ष २०८१–८२ का लागि बनाएको योजना कार्यान्वयन प्रक्रिया सुरु गरेको छ । बाँके र बर्दिया कार्यक्षेत्र रहेको कार्यालयले चालु आवका लागि दुई सयभन्दा बढी योजना कार्यान्वयनको प्रक्रिया सुरु गरेको हो ।

बर्दियामा चालु आवका लागि विनियोजन भएका योजना कार्यान्वयनका लागि स्थलगत अध्ययनको प्रारम्भिक काम सम्पन्न भएको कार्यालय प्रमुख उद्धव श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो, ‘बर्दियाको फिल्डको काम सकेर बाँके योजनाको फिल्डको काम जारी छ ।’ सामाजिक विकास डिभिजन अन्तर्गत अधिकांश योजना सामुदायिक विद्यालय, क्याम्पस र खेल मैदान छन् ।

पाँच लाखभन्दा माथिका योजना अनिबार्य प्रतिस्पर्धामा लैजाने प्रदेश सरकारको परिपत्र रहेको जानकारी दिंदै श्रेष्ठले सोहीअनुसार लागत स्टिमेट तयार गरी दसैं अगावै ठेक्का आव्हान गर्नेगरी काम अघि बढाइएको जानकारी दिनुभयो । 

पाँच लाख रुपियाँ बजेटको पनि धेरै योजना रहेकाले प्रारम्भिक काममा बढी समय खर्च हुने प्राविधिक कर्मचारीले बताएका छन् । साना योजनालाई निकटताको आधारमा गाभेर संयुक्त टेण्डर आव्हान गर्ने तयारी गरिएको छ । 

बाँके र बर्दियामा चालु आवमा सामाजिक विकास डिभिजन कार्यालय अन्तर्गत विकास बजेट करिब ३२ करोड रुपियाँ छ । चालु आवमा बाँकेमा प्रदेश स्थापनापछिकै सबैभन्दा बढी विकास बजेट विनियोजन भएको छ । 

लुम्बिनी प्रदेशसभा सदस्य तथा निवर्तमान सामाजिक विकासमन्त्री रत्न खत्रीले प्रदेश सरकार मातहत विनियोजन भएको बजेट समयमै गुणस्तरीय काम सम्पन्न होस् भनेर प्रदेशसभा सदस्यको नाताले आफूहरुले पनि नजिकबाट अनुगमन गरिरहेको बताउनुभयो ।