• ११ असोज २०८१, शुक्रबार

दलित समस्या समाधानको माग गर्दै ज्ञापनपत्र

blog

नेपाल उत्पीडित जातीय मुक्ति समाजका पदाधिकारीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई मागपत्र बुझाउँदै ।

गोरखापत्र अनलाइन

काठमाडौँ, असोज ७ गते । नेपाल उत्पीडित जातीय मुक्ति समाजका पदाधिकारीले विभिन्न माग राखी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई दलित समुदायको समस्या सम्बोधनको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । 

समाजका अध्यक्ष मनोहर विश्वकर्मा पौडेल तथा एमाले पोलिटब्युरो सदस्य जितु गौतम नेतृत्वको टोलीले मन्त्रालयमा गएर उपप्रधानमन्त्री पौडेललाई सो मागसहितको ज्ञापनपत्र बुझाएको हो । 

मागपत्रमा संविधानको धारा ४० (६) मा गरेका व्यवस्थाअनुसार भूमिहीन दलितलाई आवासका लागि आवास व्यवस्था गर्न माग गरिएको छ । त्यस्तै, सामाजिक सुरक्षा तथा परम्परागत पेसा, ज्ञान र सीपलाई आधुनिकीकरण गरी रोजगारी सिर्जनाको माग पनि उहाँहरूले गर्नुभएको छ । 

सोहीअनुसार, दलित विद्यार्थीलाई दिइने छात्रवृत्ति कार्यक्रमलाई थप विस्तार गर्न माग गरिएको छ । त्यस्तै, राष्ट्र निर्माणमा युवा परिचालन अभियानमा उत्पीडित दलित समुदायका युवाहरूको क्षमता अभिवृद्धि गरी परिचालन गर्न ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

त्यस्तै, गरिब निमुखा दलित समुदायका लागि विशेष कार्यक्रम बनाई लागू गर्न पनि माग गरिएको पोलिटब्युरो सदस्य जितु गौतमले जानकारी दिनुभयो । सो अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले राज्यको नीतिअनुसार आवश्यक व्यवस्था गरिने बताउनुभएको थियो ।