• ११ असोज २०८१, शुक्रबार

भाइचारा र मेलमिलापले समृद्धि ल्याउँछ : प्रदेश प्रमुख देवकोटा

blog

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा स्वागत तथा सम्मान कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्बिर: अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, असोज ७ गते ।
 बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आपसी भाइचारा र मेलमिलापले खुसी र समृद्धि ल्याउने बताउनुभएको छ । मकवानपुर मुस्लिम समुदायले सोमबार हेटौँडा–४ जामे मस्जिदमा आयोजना गरेको प्रदेश प्रमुखहरूको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आफ्ना स्वतन्त्रता प्रयोग गर्दा अरूको स्वतन्त्रता हनन हुन दिएनौ भने मात्रै पनि समाज सभ्य र सुसंस्कृत हुने बताउनुभयो ।

नेपाल एक धर्म निरपेक्ष मुलुक रहेको स्मरण गर्दै संविधानको प्रस्तावनामै विविधतालाई आत्मसात् गरिएको उहाँको भनाइ छ । मौलिक हकसम्बन्धी व्यवस्थाको धारा १८ को समानताको हकसम्बन्धी व्यवस्था र मौलिक हक अन्तर्गतकै धारा २६ को धार्मिक स्वतन्त्रतासम्बन्धी हकले संविधानको विशिष्टता दर्साएको उहाँको भनाइ छ । मुस्लिम समुदायको विकास, एकता र सहयोगका लागि सदैव तयार रहेको बताउँदै आम्दानीको निश्चित हिस्सा दुःखी गरिबलाई दान दिने संस्कृतिको उहाँले प्रशंसा गर्नुभयो ।


स्वागत तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले सम्पूर्ण मुस्लिम समुदाय एक ढिक्का हुनुपर्ने बताउनुभयो । हक अधिकारको लागि एक ढिक्का भएर अगाडि बढेमात्रै पहिचान सहितको अधिकार प्राप्त गर्न सकिने उहाँको तर्क छ ।

धर्मको आधारमा अधिकार नखोजेको बताउँदै उहाँले समुदायको आधारमा अधिकार मागेको स्पष्ट पार्नुभयो । भारतमा जस्तो नेपालमा साम्प्रदायिक दङ्गाको सम्भावना नरहेको बताउँदै नेपालमा सबै धर्म, सम्प्रदायबिचमा धार्मिक एकता र सहिष्णुता रहेको जिकिर गर्नुभयो । हामी विदेशी होइनौ, हामी आदिवासी हौँ, हामी आएका होइनौँ तर हाम्रो संस्कृति मात्रै आयातित हो–प्रदेश प्रमुख मियाले हेटौँडामा भन्नुभयो ।

अगुवा महमद समिम खानको सभाध्यक्षतामा भएको कार्यक्रममा एकै मञ्चमा दुवै प्रदेशका प्रदेश प्रमुखलाई राखेर पहिलो पटक स्वागत सम्मान गरिएको थियो । कार्यक्रममा मुस्लिम समुदायका अगुवाहरूले उर्दू शिक्षालाई पनि सरकारले मान्यता दिनुपर्ने माग राख्नुभएको थियो ।