• ११ असोज २०८१, शुक्रबार

अस्पतालमा ‘शुक्रबारे हाटबजार’

blog

धुलिखेल अस्पतालमा सुरु गरिएको ‘शुक्रबारे हाटबजार’ मा सामान खरिद गर्दै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी ।

केदार तिमल्सिना

बनेपा, असोज ७ गते । धुलिखेल अस्पतालले समुदाय र किसानलाई अस्पतालसँग जोडेर स्थानीय कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यले ‘शुक्रबारे हाटबजार’ सुरु गरेको छ । 

अस्पतालले दुई साता अघिदेखि पाइलटिङ प्रोग्रामको रुपमा शुक्रबारे हाटबजार सुरु गरेको हो । धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. विराज कर्माचार्यले पाइलटिङ प्रोग्रामको अस्पतालमा कार्यरत कर्मचारी र अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै दुई साता अघिदेखि अस्पताल हाताभित्र ‘शुक्रबारे हाटबजार’ सुरु गरेको बताउनुभयो । 

“धुलिखेल अस्पतालमा करिब पन्ध्रसय चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत तथा करिब एक हजार विद्यार्थी अध्ययनरत छन् । अस्पताल पनि एउटा ठुलो मार्केट भएकाले त्यहाँ कार्यरत कर्मचारी विद्यार्थीलाई लक्षित गरी हाटबजार सञ्चालन गरेका हौँ” डा. कर्मचार्यले भन्नुभयो । 

उहाँले अस्पतालमा सुरु गरिएको हाटबजार पाइलटिङ कार्यक्रम रहे पनि आगामी दिनमा व्यवस्थित रुपमा हाटबजार सञ्चालन गरिने बताउनभुयो । “दुई साताअघिदेखि सुरु गरिएको हाटबजारको विषयमा अस्पतालमा कार्यरत कर्मचारी र विद्यार्थीको सकारात्मक प्रतिक्रिया पाएका छौँ, अस्पतालमा कार्यरत अधिकांश कर्मचारी काठमाडौँबाट आवतजावत गर्ने भएकाले शुक्रबार सञ्चालन गरिने हाटबजारमार्फत उहाँलाई आवश्यक पर्ने कृषि उत्पादन खरिद गर्न सक्नुहुनेछ” प्रशासकीय निर्देशक कर्माचार्यले थप्नुभयो । 

उहाँले अस्पताल हाताभित्र अब हरेक शुक्रबार हाटबजार सञ्चालन हुने बताउनभयो । उहाँले अस्पतालमा सञ्चालन गरिने हाटबजारमा स्थानीयस्तरमा रहेका साना किसानले उत्पादन गरेका उत्पादनलाई प्राथमिकता दि स्थानीय समुदाय र कृषकलाई प्रवर्धन गर्ने अस्पतालको मुख्य योजना रहेको बताउनुभयो । 

“अस्पतालले विभिन्न जिल्लामा रहेका आउटरिच सेन्टरमार्फत स्थानीयस्तरमा रहनुभएका स्थानीय नागरिक तथा किसानलाई माइक्रोफाइनान्स र कृषिका विभिन्न तालिम सञ्चालन गरी कृषिसँग जोड्ने काम समेत गर्दैआएको छ” उहाँले भन्नुभयो, “अस्पतालले स्वास्थ्य मात्र नभ स्थानीयको जीविकोपार्जनलाई समेत जोड्ने काम गरेको छ ।” 

उहाँले अस्पतालमा हरेक शुक्रबार सञ्चालन हुने हाटबजारमा राखिने कृषिजन्य उत्पादन लगायतको विषयमा स्थानीय समुदाय र कृषकसँग छलफल गरेर हाटबजारलाई प्रभावकारी रुपमा सञ्चालन गरिने बताउनुभयो । 

गत शुक्रबार पाइलटिङ कार्यक्रमको रुपमा सातवटा स्टलहरु राखिए पनि आगामी शुक्रबारदेखि हाटबजारमा स्टलको सङ्ख्या समेत बढ्ने अस्पतालले जनाएको छ । धुलिखेल अस्पतालले काभ्रेपलाञ्चोकको धुलिखेल, जिल्लाकै कोशीपारि, पाँचखाल, सिन्धुपाल्चोक, दोलखा, धादिङ, पर्वतलगायतका जिल्लामा १८ वटा आउटरिच सेन्टरमार्फत स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।