• ११ असोज २०८१, शुक्रबार

रुकुमपश्चिमका भूकम्प पीडितहरुको अवस्था दयनीय

blog

सानीभेरी गाउँपालिका –२ गिठाकोटमा जस्तापाताबाट बनाइएका टहरा । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, असोज ७ गते । भूकम्पबाट बासस्थान गुमाएका रुकुमपश्चिमका पीडितहरुको दैनिकी दयनिय बन्दै गएको छ । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको ११ महिना पुग्नै लाग्दा पनि सुरक्षित आवास पाउन नसकेकोले दैनिकी दयनिय बन्दै गएको भूकम्पपीडितहरुको दुःखेसो गरेका छन् । 

भूकम्पले घरबारविहिन बनाएको सुरुको केहि महिना कठ्याङिग्रदो चिसो र त्यसपछि चर्को गर्मीको सामना गरेर दिन कटाउन बाध्य उनीहरुले अझैपनि सुरक्षित आवास पाउन नसकेको गुनासो गरेका छन् । आठबिसकोट नगरपालिका –१४ ज्यामिरकोटकी कल्पना विकले पुस माघको जाडोमा त्रिपालमूनि र गर्मीयाममा जस्तापाताको टहरामुनि कष्टकर दैनिकी बिताउनु परेको बताउनुभयो । सुत्केरी अवस्थाकी उहाँले उचित आवासको अभावमा वर्षदिन बिताएको जनाउनुभयो । चाहिएको बेला न्यानो र उपर्युक्त आवास नपाउँदा स्वास्थ्य अवस्था ज्याँदै कमजोर बनेको उहाँको भनाइ छ । 

सानीभेरी गाउँपालिका–४ की माया घर्तीले भूकम्पबाट लोग्ने र एक छोरा गुमाउनुका साथै व्यापार समेत गर्दै आएको घर भताभुङ भएको बताउनुभयो । त्यसबखत उहाँ सुत्केरी अवस्थामा पनि हुनुहुन्थ्यो । घर्तीले भन्नुभयो, ‘त्यस्तोबेला त्रिपालमुनि बसेर बाँच्यो, अहिले यस्तो उखरमाउलो गर्मीमा टिनको टहरामा बस्नुपरेको छ ।’ सरकारले घर बनाइदिने झुटो आश्वास मात्र दिएको उहाँको बुझाइ छ । अब फेरि हिउँदयाम सुरु हुने भएकोले बच्चा र आफ्नो स्वास्थ्य जोगाउन चिन्ता बढेको घर्तीले बताउनुभयो ।  

सानीभेरी गाउँपालिका–४ का वडा अध्यक्ष मनोज बुढाथोकीले सुरक्षित आवासको अभावमा बढी मात्रामा बालबालिका र जेष्ठ नागरिकको स्वास्थ्य अवस्थामा असर परेको बताउनुभयो । उतीबेला ओत लगाउन त्रिपाल र त्यसपछि अस्थायी आवासको प्रवन्ध भएतापनि समयमै पुनर्निर्माणको काम हुन नसकेको उहाँले जनाउनुभयो । संघीय सरकारले पुनर्निर्माणको लागि कार्यविधि नै ल्याउन नसकेकोले भूकम्प पीडितको आवास निर्माणको काममा ढिलाई हुन गएको वडा अध्यक्ष बुढाथोकीले उल्लेख गर्नुभयो । हिउँदको चिसो, वर्षाको झरी अनि उखरमाउलो गर्मी सहन बाध्य यहाँका भूकम्प पीडितहरुले बिजोकपूर्ण अवस्थामा दैनिकी बिताइरहेको उहाँको भनाइ छ ।  

जिल्ला प्रशासन कार्यालयले भने जिल्लाभर ३२ हजार ६११ वटा अस्थायी टहरा निर्माण भएको जनाएको छ । विनाशकारी भूकम्पबाट प्रभावित भएका ३२ हजार ९९६ घरधुरी लाभग्राहीको सूचीमा छन् । जसमध्ये ३२ हजार २०२ जनाले सरकारले दिएको अनुदान रकमबाट अस्थायी टहरा बनाएका छन् भने ४०९ वटा टहरा विभिन्न संघसस्थाले निर्माण गरिदिएका छन् । ५२३ वटा भने निर्माणधिन अवस्थामा रहेका छन् । 

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले अधिकांश टहराहरु जस्तापाताबाट नै निर्माण भएको जनाउनुभयो । गर्मीयाममा टिनको टहरामुनि भूकम्पपीडितहरु बस्नुपरेको उहाँले बताउनुभयो । सरकारले आवश्यक नियम तथा बजेट व्यवस्थापन गरेर पूनर्निर्माणको कार्य सुरु गर्ने बताएको तर कार्यान्वयनमा ढिलाई भईरहेका प्रजिअ पन्तले उल्लेख गर्नुभयो । त्यसका लागि जिल्लास्तरबाट हुने निर्णय, परिपत्र, आग्रह लगायतका सम्पूर्ण कार्यहरु नियमित गरिरहेको प्रजिअ पन्तले बताउनुभयो ।