• ११ असोज २०८१, शुक्रबार

गाभरमा होटल र होमस्टेमा लगानी बढ्दो

blog

गाभरमा रहेको थारू भिलेज होमस्टे । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज ७ गते । स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्ने उद्देश्यले होमस्टे स्थापना गरिएको बाँकेको गाभर क्षेत्रमा पर्यटक बढ्दै जाँदा होटल व्यवसायमा लगानी थपिंदै गएको छ । 

बाँके राष्ट्रिय निकुञ्जको छेउमा रहेको गाभर भ्याली निकै रमणीय रहेको तथा त्यहाँबाट बाघलगायतका दुर्लभ जनावरसमेत देख्न सकिने हुँदा गाभरमा जाने पर्यटकको सङ्ख्या बढ्दै गएको हो । 

सोही कारणले त्यहाँ पर्यटन व्यवसायीले विभिन्न होटल, हाेमस्टे र अन्य पर्यटकीय क्षेत्रमा लगानी थपिरहेको गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो । 

उहाँका अनुसार गाभर क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत लक्षित गरी यहाँ सञ्चालित सामुदायिक घरबासले पनि धमाधम स्तरोन्नति गर्न थालेका छन् । यहाँ सुविधासम्पन्न रिसोर्ट पनि थपिएका छन् । 

पर्यटकलाई स्तरीय सेवा दिन लगानी थप गरी यहाँका होमस्टे र होटलको स्तरोन्नति भइरहेको गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष चौधरीले बताउनुभयो । आन्तरिक पर्यटकलाई अधिकतम सुविधा दिँदै बाह्य पर्यटकलाई समेत लक्षित गरी होमस्टेमा लगानी थप भइरहेको उहाँको भनाइ छ । 

बिशषगरी भारतका पर्यटकलाई लक्षित गरेर गाभर भ्यालीमा पछिल्लो पटक १२ करोड रुपियाँको लगानीमा सुविधा सम्पन्न बिसौनी ग्रिनरी रिसोर्ट सञ्चालनमा ल्याइएको छ । 

गाभरमा स्थानीय स्वाद, संस्कृति र परम्पराको संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले रिसोर्ट सञ्चालन गरिएको रिसोर्टका महाप्रबन्धक केशवप्रसाद चालिसेले बताउनुभयो । 

उहाँका अनुसार अर्गानिक माछा मासु तथा तरकारीका लागि पाँच बिघा क्षेत्रफलको जमिनमा होटलले आफ्नै अष्ट्रिज, हाँस, लोकल कुखुराको फार्म, माछापोखरी पनि सञ्चालन गर्दैआएको छ । 

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित बिसौनी रिसोर्टले पर्यटन प्रवर्धनका लागि पदयात्रा, गाडी, घोडा र साइकल चढेर जङ्गल सफारीको व्यवस्था गरेको महाप्रबन्धक चालिसेले बताउनुभयो । 

रत्न राजमार्गदेखि करिब ७०० मिटरभित्र मिनी गाभरक्षेत्रमा रहेको बिसौनी ग्रिनरी रिसोर्टमा मार्सी चामलको भात, थारु समुदायका परिकार, घोँगीसमेत पाहुनालाई उपलब्ध गराउने गरेको रिसोर्ट सञ्चालकको भनाइ छ । 

होटलका आकर्षक भवन संरचना प्रवेशद्वारमै रहेको झरना लगायतको हरियाली वातावरणले पाहुनालाई आकर्षित गर्ने गरेको छ । होटलका प्रबन्ध निर्देशक उपेन्द्रकुमार शाहीले हालसम्म १२ करोड रुपियाँ लगानी भइसकेको र अझै धेरै संरचना निर्माणका क्रममा रहेकाले लगानी थपिंदै जाने बताउनुभयो । 

गाभरमा बिसौनी रिसोर्ट सञ्चालनमा आएपछि अहिले यस क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । बर्दिया, सुर्खेत, नेपालगन्ज, र कोहलपुरलगायत छिमेकी भारतका नजिकका ठाउँबाट दैनिक रुपमा घुम्न र बस्न आउने पाहुनाको सङ्ख्या पनि बढ्दै गएको छ ।