• ११ असोज २०८१, शुक्रबार

जोशीलाई आज अदालतमा उपस्थित गराइँदै

blog

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमाबाट आइतबार राति ल्याइँदै छविलाल जोशी । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, असोज ७ गते । कास्कीको पोखरा महानगरपालिका –४, नालाको मुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक छविलाल जोशीलाई आज अदालतमा उपस्थित गराइँदैछ । 

आइतबार दिउँसो काठमाडौंको शङ्खमूलबाट प्रहरीले नियन्त्रणमा लिएपछि थप अनुसन्धानका लागि जोशीलाई राती साढे ९ बजे हवाइजहाजमार्फत पोखरा ल्याइएको हो । गोरखा मिडिया प्रालिले चलाएको ग्यालेक्सी फोरके टेलिजभिनमा गैरकानुनी रुपमा सहकारीको रकम लगानी भएको संसदीय छानबिन समितिको निष्कर्ष छ । 

समितिले प्रतिवेदन सरकारलाई बुझाएपछि आइतबार गृहमन्त्री रमेश लेखकले प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो । जोशी निवृत्त प्रहरी नायब महानिरीक्षक (डिआइजी) समेत हुनुहुन्छ । केही महिनाअघि कास्की प्रहरीले जोशीकै घरमा छापा मारी सूर्यदर्शन सहकारी र टेलिभिजनको कागजात नियन्त्रणमा लिएको थियो ।

काठमाडौं महानगरपालिका –१, नक्साल बस्ने ५९ वर्षीय जोशी विदेश जान लागेको गोप्य सूचना पाएपछि कास्की प्रहरीको अनुरोधमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो । जोशीलाई सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने कास्की प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो । 

“आज अदालत लगिन्छ, संसदीय समितिको प्रतिवेदन, प्रहरीले तयार गरेको प्रतिवदेन, अरु छानबिन समितिका प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्छाैं” प्रहरी प्रमुख थापाले भन्नुभयो, “सरकारको निर्देशनअनुसार कानुन कार्यान्वयन गर्न प्रहरी प्रतिबद्ध छ ।”

सूर्यदर्शनमा सेयर रकम, बचत, जगेडालगायतका कोषमा हुनुपर्ने रकम गैरकानुनी रुपमा अपचलन भएको छ । सहकारीको एक अर्ब ३५ करोड हिनामिना भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।  

संसदीय छानबिन समितिले सहकारीको रकम दुरुपयोगमा सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, जिबीका दाजु भूपेन्द्र राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछानेलगायतलाई कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

अभियुक्तमध्ये पाँच जना पुर्पक्षका लागि थुनामा छन् । १९ जनालाई विपक्षी बनाइएकोमा अझै १३ जना फरार छन् । २०८० साउन २२ गते १९ जनाविरुद्ध प्रहरीले जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो । त्यसयता सहकारी पीडितको आन्दोलन र पूरक जाहेरीपछि प्रहरीले सूर्यदर्शनबारे थप अनुसन्धान गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले काठमाडौंसमेत पुगेर अभियुक्तसँग बयान लि प्रतिवेदन तयार पार्नुभएको छ । 

गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशकसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ पर्ने चर्चा चले पनि अरु कसैविरुद्ध पक्राउ पुर्जी नलिइएको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीले गत वर्ष सात सहकारीको अनुसन्धान गरी अदालतमा मुद्दा दायर गरेको थियो । सबै मुद्दा विचाराधीन छन् । 

सहकारीको रकम ठगीका मुख्य अभियुक्त जिबी राई भने अहिले मलेसिया छन् । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा १, साँदी घर भएका राईको परिवार सामान्य खेतीकिसानी गर्थ्याे । जिबी सहकारी ठगीमा परेपछि परिवार कोही गाउँमा नरहेको वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिनुभयो । 

नेटवर्किङ व्यवसाय हुँदै देशका विभिन्न ठाउँमा सहकारी खोली धेरै ब्याज दिने प्रलोभन दिएर बचत जम्मा गरी योजनाबद्ध रुपमा उनले अपचलन गरेको खुलेको छ । ठाउँ ठाउँका सहकारीबाट गोर्खा मिडियामा रकम पठाई अपत्यारिलो तलव दिने गरेको संसदीय समितिको प्रतिवेदनले औंल्याएको छ । राई उनको परिवारका सदस्य र अरु प्रतिवादी र कतिपय उनीहरु सञ्चालक रहेको कम्पनीले सहकारीबाट गैरकानुनी रुपमा ठूलो रकम लगेको देखिएको छ ।