• ११ असोज २०८१, शुक्रबार

उपलब्धि कमजोर पार्न खोजे संविधान संशोधन मान्य हुँदैन : पूर्वमन्त्री शर्मा

blog

सानीभेरी नदीमाथि निर्माण भएको गाराघाट पुलको उद्घाटन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवम् पूर्वमन्त्री जनार्दन शर्मा। तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, असोज ६ गते।  नेकपा (माओवादी केन्द्र)का उपमहासचिव, पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले गणतन्त्रका उपलब्धि कमजोर बनाएर संविधान संशोधन गर्न खोजे मान्य नहुने बताउनुभएको छ।  उहाँले राष्ट्रिय एजेण्डामा एकमत भएर राष्ट्रियता, समावेशीता लगायतका विषय थप बलियो बनाउन संविधान संशोधन गर्न सकिने बताउनुभएको छ।

राप्ती राजमार्ग अन्तर्गत रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१ र बाँफिकोट गाउँपालिका–१० जोड्ने गाराघाट पुल उद्घाटन गर्नुहुँदै शर्माले सत्तारुढ दलहरुले केन्द्रमा संविधान संशोधनको कुरा उठाएकोले यसलाई सकारात्मक रुपमा लिएको समेत बताउनुभयो।  

माओवादी केन्द्र उपमहासचिव शर्माले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुरु गरेका भ्रष्टाचार विरोधी कार्यहरु वर्तमान सरकारले निरन्तरता दिएर मुलुकमा सुशासनको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिनुभयो।   

पूर्वमन्त्री शर्माले ढिलै भए पनि गाराघाटमा निर्माण भएको पुलले विकास र सहज यातायात पहुँचमा टेवा पुग्ने बताउनुभयो।  उहाँले यस क्षेत्रका जनताको आर्थिक विकासका गतिविधिहरुलाई राप्ती राजमार्गले सहज बनाउने र यसको लाभ सबैले लिन सक्नुपर्ने उल्लेख गर्नुभयो।  जिल्लामा आएको बजेट फिर्ता गर्न नहुने तर गुणस्तरिय विकासमा लागिपर्नेमा उहाँले जोड दिनुभयो।  पुलबाट मान्छेको मात्रै आवातजावत नभएर यहाँ उत्पादित कृषि उपज निर्यात गरेर आर्थिक समृद्धि हाँसिल गर्न सक्नुपर्ने शर्माले बताउनुभयो।  



आठ वर्षपछि पुल निर्माण पुरा 

तीन वर्षमै सम्पन्न गर्ने गरी सम्झौता भएको गाराघाट पुल आठ वर्षपछि निर्माण भएको छ।  सडक डिभिजन कार्यालय चौरजहारी मार्फत आर्थिक वर्ष ०७२÷०७३ मा गाराघाट पुल निर्माणको ठेक्का खोलिएको थियो।  भ्याट रकम बाहेक आठ करोड ५० लाख ४८ हजार ७७८ रुपियाँमा काम सम्पन्न गर्नेगरी नागार्जुन कन्ट्रक्सन कम्पनीले तीन वर्षमै निर्माण सम्पन्न हुने गरेर २०७३ असार ३१ गते सम्झौता गरेको थियो।  

सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख तेजस्वी शर्माका अनुसार सम्झौता गर्दाको बेला पुलको डिजाइन ‘पायल’ फाउण्डेशनमा आधारित थियो।  तर यो फाउण्डेशनबाट उक्त स्थानमा पक्की पुल सम्भव नभएपछि बदलेर ‘ओपन’ फाउण्डेशन डिजाइन गरिएको थियो।  डिजाइन परिवर्तनपछि काम तीव्र पारेर पुल निर्माण सफल भएको डिभिजन प्रमुख शर्माले जानकारी दिनुभयो। 

निर्माण कम्पनीले विगतमा फाउण्डेशन परिवर्तनमा ढिलाई भएको, कोरोना लगायतका महामारीले सामाग्री ढुवानी र कामदार परिचालनमा समस्या भएकोले समयमै पुल निर्माण हुन नसकेको जनाएको थियो।  भेरीनदिमाथि पुल नहुँदा विशेष गरेर वर्षायाममा सर्वसाधारणहरुलाई आउजाउ र दैनिक उपभोग्य सामाग्री ढुवानीमा समस्या हुने गरेको थियो।  अब भने स्थानीयलाई सहज हुने भएको छ।  अब जिल्ला सदरमुकामबाट बाँफिकोट गाउँपालिका, आठबिसकोट नगरपालिका हुँदै डोल्पातर्फ जान तथा जिल्ला सदरमुकाम मुसीकोटतर्फ आउन सहज हुने भन्दै स्थानीयवासी खुशी भएका छन्।