• १२ असोज २०८१, शनिबार

भ्रामक सूचनाबाट महिला झन् बढी प्रताडित छन् : परराष्ट्र मन्त्री राणा

blog

काठमाडौँ, असोज ६ गते । परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले भ्रामक सूचना (डिसइन्फर्मेसन्) बाट महिला झन् बढी प्रताडित भएका बताउनुभएको छ ।

क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकको शनिवार  समापनका क्रममा उहाँले भन्नुभयो “विश्वमा अहिले गलत सूचना अर्थात् भ्रामक सूचनाको बाढी नै आएको देखिन्छ । तथ्य र तथ्याङ्कमै नपुगी गरिने यस्ता सूचनाको सम्प्रेषणले  समाजलाई गलत दिशातर्फ उन्मुख पनि गराएको छ । यस्तो सूचनाका कारण पुरुषभन्दा अझ बढी महिला सिकार हुने गरेका पाइएको छ ।”

महिला नेतृत्व र भ्रामक सूचना विषयक सत्रलाई सम्बोधन गर्दै उहाँले आफू पनि नेपालमा यस्तै गलत सूचनाहरूको सिकार भएको अनुभव राख्नुभयो । यस्ता सूचनाहरूले आफ्नो व्यक्तिगत तथा राजनीतिक अर्थात् संस्थागत क्षति गर्न खोजिएको प्रसङ्ग उहाँले राख्नुभयो । 

विश्वका १६ देशका महिला विदेश मन्त्री सहभागी सो बैठकमा उहाँले भन्नुभयो “मसँग यस्ता धेरै उदाहरण छन् कि मलाई भ्रमपूर्ण सूचनासँग जोडेर, काल्पनिक घटना तथा प्रकरणहरू खडा गरेर म आफू कहीँ कतै संलग्न नै नभएका विषयमा जबरजस्ती तानेर दोषी देखाउने अनेक प्रयास भएका थिए । जुन कुराको कुनै प्रमाण नभएकाले कानुनबाट कहिल्यै पनि प्रमाणित हुन सक्दैन । अध्ययनबाट मैले पाएको छु नेतृत्वमा रहेका र जान चाहने महिलाका विरुद्धमा अन्यत्र पनि यस्तै हुने गरेको छ ।” 

प्रविधिले दिएको विकासलाई यसरी सूचनाको दुरुपयोगमा प्रयोग गर्न नहुने उहाँको सुझाव थियो । सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा अहिले तीव्र गतिमा विकास भइरहेको र यससँगै अनेक चुनौती पनि थपिएका उहाँको तर्क थियो । 

भर्चुअल दुनियाँमा विशेष गरी सामाजिक सञ्जालमा धेरैजसो महिलाविरुद्धमा यस्ता सूचनाहरू दिने गरिएको पनि उहाँले बताउनुभयो । यसबाट महिलाका विरुद्धमा अनेक प्रकारका दुर्व्यवहार हुने, विभिन्न प्रकारका हिंसा र उत्पीडन हुने पनि देखिएकाले यस्ता भ्रमपूर्ण सूचनाहरूबाट पुरुषभन्दा महिला बढी प्रताडित भएका पनि उहाँले बताउनुभयो । 

विभिन्न अध्ययनहरूले महिला राजनीतिज्ञ एवं नेतृत्वमा जान चाहनेहरूका विरुद्धमा यस्ता सूचनाहरू लक्षित हुने गरेका देखिएको पनि उहाँको भनाई थियो । 

अल्पसङ्ख्यक समूहका महिला राजनीतिकर्मी, नेतृत्वमा जान चाहने महिला, नारीवादी मुद्दाहरूको वकालतमा क्रियाशील महिला यस्तो प्रवृत्तिको अझ बढी सिकार हुने गरेका उहाँको भनाई थियो । 

यी समस्याको समयमै सम्बोधन गर्न नसकिए यसले महिला विरुद्धको हिंसा झन् बढाउने र महिला सशक्तीकरणमा हाल प्राप्त उपलब्धिलाई पनि खोस्न सक्ने खतरा रहेको उहाँले बताउनुभयो । 

डिजिटल दुनियाँको कुनै सिमाना नहुने भएकाले यो समस्याको समाधानका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेको र यसका लागि डिजिटल र सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरू समेतको सहकार्यमा बहुपक्षीय दृष्टिकोण अपनाउनु जरुरी रहेको मन्त्री डा राणाले बताउनुभयो । 

अर्को कुरा भ्रामक सूचनाले प्रायः: द्वन्द्व र हिंसा बढाउने, भेदभावको अवस्थालाई प्रश्रय दिने र मानवअधिकारहरूको उल्लङ्घन गर्ने भएकाले यसलाई रोकेर सही सूचनाको प्रवाहका लागि विश्वव्यापी सञ्जाल निर्माण गरेर कार्य योजनाका साथ अघि बढ्नुपर्नेमा पनि मन्त्री डा राणाले जोड दिनुभयो ।