• ११ असोज २०८१, शुक्रबार

जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट बालकको मृत्यु

blog

बिष्णुप्रसाद पोखरेल
दमक, असोज ५ गते ।
 जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट झापाको दमकमा एक बालकको मृत्यु भएको छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार दमक ३ उज्यालो टोलका ७ वर्षीय शिशिर नेम्वाङको शुक्रबार साँझ मृत्यु भएको हो ।

‘क्युलेक्स’ प्रजातिको लामखुट्टेले पानी जम्ने ठाउँमा फुल पार्ने समय भएकाले यो रोगको सङ्क्रमणको उच्च जोखिम रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । लामखुट्टेले सुँगुर र हाँसलाई टोकेर आफूमा यो रोग सार्छन् अनि सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेपछि जापानिज इन्सेफ्लाइटिस रोग लाग्ने गर्छ ।

दमक नगरपालिकाका स्वास्थ्य शाखाका नगेन्द्र भण्डारीका अनुसार जापानिज इन्सेफ्लाइटिस मानिसबाट मानिसमा भने सर्दैन । लामखुट्टेले टोकेको छदेखि १६ दिनमा रोगका लक्षण देखा पर्छन् । बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षाघात हुने, घाँटी कडा हुने, कम्पन हुने जस्ता जापानिज इन्सेफ्लाइटिस रोगका लक्षण हुन् ।

जापानिज इन्सेफ्लाइटिस बच्न झुल टाँगेर मात्रै सुत्न, हाँस, कुखुरा, सुँगुर जस्ता जनावरलाई घरदेखि टाढा राख्न, घर बाहिर निस्कँदा वा खेतबारीमा काम गर्दा हात पूरै छोपिने गरी कपडा लगाउन, घरको झ्याल, ढोकामा जाली राख्न, घर वरिपरिका पानी जम्न खाल्डाखुल्डी पुर्नेलगायतका काम गर्नुपर्ने भण्डारीले बताउनुभयो ।