• ११ असोज २०८१, शुक्रबार

सडक मर्मत नहुँदा यात्रुलाई सास्ती

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, असोज ५ गते । बर्खायामको बाढीपहिरोले बिग्रिएका ग्रामीण सडकमा यातायातका साधन चल्न नसक्दा यात्रुलाई आउजाउ गर्न समस्या भएको छ । 

चाडपर्व नजिकिँदै गर्दा नेपालगन्ज, काठमाडौँ, सुर्खेतलगायतका सहरमा पढ्न बसेका विद्यार्थी, श्रम रोजगारीका लागि भारत गएका सर्वसाधारण गाउँ फर्किन थाले पनि सडकमा यातायातका साधन चल्न नसक्दा गाउँघर पुग्न पैदल हिँड्नुपर्ने बाध्यता छ । आवतजावतमा सहजता ल्याउन खनिएका सडक मर्मत नगर्दा झन् जोखिम बढेको छ ।

नलगाड नगरपालिका–४ का वडाध्यक्ष बद्रीबहादुर पन्तका अनुसार नेपालगन्ज, सुर्खेत, काठमाडौँबाट आउने व्यक्तिले यातायातका साधन नपाउँदा कालीमाटीसम्म पैदल हिँड्नुपर्ने बाध्यता छ । चाडपर्व नजिकिएपछि स्थानीय तहको ढिलासुस्तीका कारण मर्मत गर्न नसकेको उहाँले बताउनुभयो ।  

उहाँका अनुसार कालीमाटीदेखि लहँ, भारगाउँलगायत विकट बस्ती पुग्न समस्या हुने गरेको छ । कार्यपालिकाको बैठक बसेको छैन, खाता सञ्चालनसमेत नहुँदा मर्मतको काम अघि बढ्न सकेको छैन । नलगाड नगरपालिका–५, कालीमाटीबाट बारेकोट गाउँपालिकासम्म पुग्ने सवारीसाधन पनि चल्न सकेका छैनन् । 

बारेकोट गाउँपालिका–५ का नवराज शाहीले चाडपर्व आउन केही दिन बाँकी रहे पनि स्थानीय तहको उदासीनताका कारण सडक मर्मत नभएको बताउनुभयो । स्थानीय सरकारले सडकको पहिरो पन्छाउन बेवास्ता गरेपछि जनताले दुःख पाएको गुनासो उहाँले गर्नुभयो ।