• ११ असोज २०८१, शुक्रबार

सिद्धबाबा सुरुङमार्ग : दुई बाइपास छिचोलिए

blog

सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्ग । तस्बिर : रेखीराम राना

रेखीराम राना 

तानसेन, असोज ५ गते । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको कामले तीव्रता पाएको छ । एक हजार १२६ मिटर लामो सुरुङमार्गको आधाभन्दा बढी भाग खनेर सकिएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ५४५ मिटर लामो सुरुङ खनिएको हो । दुई वटा बाइपास टनेल छिचोलिएको छ । 

आयोजनाले हालसम्म तीन वटा बाइपास टनेल (सुरुङ) मध्ये दुई वटा छिचोलिएको (ब्रेक थ्रु) भएको जनाएको छ । आयोजनाकी इन्जिनियर सविता ज्ञवालीका अनुसार तीन वटा टनेलमध्ये पहिलो र तेस्रो टनेलको काममा ‘ब्रेक थ्रु’ भएको छ । 

तेस्रो नम्बरको बाइपास टनेलको १२३ मिटर सुरुङ खनिएको छ । यस्तै पहिलो नम्बरको बाइपास टनेलको १३७ मिटर खनेपछि ‘ब्रेक थ्रु’ भएको ज्ञवालीले जानकारी दिनुभयो । दोस्रो बाइपास टनेल हालसम्म ११७ मिटर खनिएको छ र सो टनेल पनि केही दिनभित्र ‘ब्रेक थ्रु’ गर्ने आयोजनाले जनाएको छ । 

यस्तै मुख्य सुरुङमार्गका दुवैतर्फ गरी ५४५ मिटर टनेल खनिएको आयोजनाले जनाएको छ । कुनै समस्या नआए अबको तीन महिनाभित्र सुरुङमार्ग ‘ब्रेक थ्रु’ गर्ने आयोजनाको तयारी रहेको कार्यालयले जनाएको छ । 

आयोजनाका अनुसार उत्तरतर्फ २३७ र दक्षिणतर्फ ३०७ मिटर टनेल खनिएको छ ।  नेपाल सरकारले २०७८ फागुनमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनलाई सात अर्ब ३४ करोड २१ लाख रुपियाँमा सुरुङमार्ग बनाउने ठेक्का दिएको थियो । 

ठेक्का सम्झौता अनुसार सुरुङमार्ग निर्माणपछि पनि सोही कम्पनीले पाँच वर्षसम्म मर्मतको काम गर्नुपर्ने इन्जिनियर ज्ञवालीले बताउनुभयो । हालसम्म आयोजनाको कुल भौतिक प्रगति २२.८५ प्रतिशत रहेको छ भने वित्तीय प्रगति २६.४ प्रतिशत छ । 

दुई वर्षअघिदेखि सुरुङमार्गको बाहिरी भागमा काम गरिएको थियो भने डेढ वर्षअघिदेखि सुरुङ निर्माणको काम सुरु गरिएको थियो । हाल विस्फोटक पदार्थ प्रयोग गरेर चौबिसै घण्टा विस्फोट गरेर टनेलको काम अगाडि बढेको छ । 

सिद्धार्थ राजमार्गको दोभानदेखि सिद्धबाबासम्म झन्डै तीन किलोमिटर सडक क्षेत्र पहिरोको उच्च जोखिममा छ । यहाँ वर्षायाममा पहिरो झरिरहने समस्याले दैनिक यात्रा गर्ने यात्रु असुरक्षित रहेकाले सुरक्षित यात्राका लागि सुरुङमार्ग निर्माण थालिएको हो । यस्तै रुपन्देही र पाल्पातर्फको गरी तीन किलोमिटर सडक चौडा गर्ने र माथिबाट खस्ने पहिरो र चट्टान खस्नबाट रोक्न ‘रकसेड’ प्रविधि अन्तर्गत काम भइरहेको छ । 

सडक निर्माण भएपछि यो सडक भएर यात्रा गर्ने पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ, अर्घाखाँची, रुपन्देही, नवलपरासीलगायतका यात्रुले सुरक्षित यात्रा गर्न पाउने छन् । अहिले बर्सात र हिँउदको समयमा पनि माथिबाट पहिरो खस्ने, बाटो अवरुद्ध हुने र सडकमा यात्रा गरिरहेका सवारीमाथि पहिरो खस्ने हो कि भन्ने भय छ ।