• ११ असोज २०८१, शुक्रबार

चाडबाडले फर्काउँदै नेपाली

blog

चाडपर्व मनाउन भारतबाट फर्किएका नेपाली जमुनाहा नाका पार गर्दै । तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, असोज ५ गते । नेपालीहरूको महान् पर्व दसैँ, तिहार र छठ नजिकिएपछि कामका लागि भारत गएका नेपाली चाडपर्व मनाउन ठुलो सङ्ख्यामा स्वदेश फर्किन थालेका छन् । 

पश्चिम नेपालका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका अहिले हुलका हुल स्वदेश फर्किरहेको नेपाल–भारत नाकामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले चाडपर्व नजिकिएसँगै भारतबाट नेपाली स्वदेश फर्किने क्रम ह्वात्तै बढेको बताउनुभयो । 

उहाँका अनुसार भदौ महिनाको अन्तिम साताको तुलनामा असोजमा धेरै नेपाली स्वदेश फर्किरहेका छन् । हाल दैनिक करिब तीन हजारदेखि तीन हजार पाँच सयसम्म नेपाली चाडपर्व मनाउन स्वदेश फर्किरहेको प्रहरी निरीक्षक बुढाथोकीले बताउनुभयो । 

दसैँतिहार मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि नेपाल प्रहरीले विभिन्न प्रबन्ध मिलाएको पनि जमुनाहा प्रहरीले जनाएको छ । रिक्सा, ई रिक्सा, बस, हायस र होटेल व्यवसायीबाट स्वदेश फर्किने नेपाली बर्सेनि ठगिने र लुटिने हुँदा सो सम्भावनालाई ध्यानमा राख्दै नेपाल प्रहरीले सचेतना अभियान पनि चलाएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज बुढाथोकीले बताउनुभयो । भारतबाट फर्किने नेपालीको सहजताका लागि छिटै नाकामा ‘हेल्प डेस्क’ स्थापना गर्ने पनि प्रहरीले जनाएको छ । 

करिब २० जनाको समूहसहित चाड मनाउन नेपाल फर्किनुभएका बबई गाउँपालिका–३, दाङका हरिभक्त डाँगीले गत वर्ष आउन नपाएकोमा यस पटक दसैँतिहार मनाउनका लागि गाउँ जान थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “चाडपर्व त आफ्नै ठाउँमा रमाइलो गरी मनाउन पाइन्छ, अरूको देशमा के चाडपर्व ? आफन्तलाई सम्झेर रुने मात्र हो ।”

वनगाड कुपिण्डे नगरपालिका–६, सल्यानका सागर थापाले चाडपर्वको बेला आफ्नै गाउँ ठाउँमा रमाइलो हुने हुँदा फर्किएको बताउनुभयो । उहाँले नेपालमा रोजगारी नभएर बाध्य भई परदेश जानु परेको सुनाउँदै रोजगारी भए त स्वदेशमा रगत पसिना बगाइन्थ्यो भन्नुभयो । अहिले चाडपर्वका लागि स्वदेश फर्किन थालेका नेपालीहरूको फर्किने क्रम दसैँ र सोपछि पनि जारी रहने इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । कार्यालयका अनुसार दसैँतिहार जति नजिक आउँछ त्यति नै भारतबाट फर्किनेको सङ्ख्या पनि बढ्दै जान्छ ।