• ११ असोज २०८१, शुक्रबार

मङ्सिर १५ गतेसम्म १८ वर्ष पुगेकाले मतदान गर्न पाउने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ५ गते । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम सूचीकृत भई आगामी मङ्सिर १५ गतेसम्म १८ वर्ष पुगेकाले स्थानीय तह उपनिर्वाचनमा मतदान गर्न पाउने निर्णय गरेको छ । आयोगले स्थानीय निर्वाचन–२०७९ र प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन–२०८० देखि निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुगेकाको नाम मतदाता नामावलीमा समावेश गर्दै आएको छ । स्थानीय तहमा रिक्त रहेका ३९ पदको उपनिर्वाचन मङ्सिर १६ गते हुँदै छ । 

आयोग पदाधिकारीको बुधबारको बैठकले गत भदौ ३१ गतेसम्म देशभरबाट सङ्कलित तथा आगामी मङ्सिर १५ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण अद्यावधिक प्रक्रियामा लैजाने निर्णय गरेको छ । नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत असोज १८ देखि ३० गतेसम्म निवेदन दिन पाउने आयोगले व्यवस्था गरेको छ । मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन अद्यावधिक कार्यक्रम सञ्चालन गरिने आयोगले जनाएको छ ।

अद्यावधिक कार्यक्रम सञ्चालन गर्नुअघि आयोगले मङ्सिर १६ गतेको उपनिर्वाचनमा भाग लिन योग्यसहित देशैभरिका मतदाताको विवरण प्रकाशन गर्ने छ । आयोगले अन्तिम मतदाता नामावली कात्तिक २६ गते प्रकाशन गर्ने जनाएको छ ।

असोज १० गतेदेखि दल दर्ता 

स्थानीय तहमा रिक्त रहेका पदमा निर्वाचनका लागि असोज १० गतेदेखि राजनीतिक दल दर्ता हुने भएको छ । दल दर्ता असोज १६ गतेसम्म निर्वाचन आयोगको कार्यालयमा हुने छ । 

आयोग पदाधिकारीको बुधबारको बैठकले मङ्सिर १६ गतेका लागि घोषित उपनिर्वाचनमा भाग लिने दलको असोज २० गते दर्ता स्वीकृत गर्ने गरी निर्वाचन तालिका स्वीकृत गरेको छ । आयोगका अनुसार कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने र कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ । आयोगले मङ्सिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्दै १६ गते मतदान गर्नेलगायतका ६२ वटा क्रियाकलापसहितका निर्वाचन तालिका स्वीकृत भएको जनाएको छ । स्थानीय तहमा हाल ३९ पद रिक्त छन् । आयोगको सुझावमा मन्त्रीपरिषद्को भदौ ३० गतेको बैठकले मङ्सिर १६ गते स्थानीय तहमा रिक्त रहेको पदको निर्वाचन हुने घोषणा गरेको थियो ।