• ११ असोज २०८१, शुक्रबार

४७ करोड लागतमा रुपा रिङरोडकाे दोस्रो खण्ड शिलान्यास

blog

सन्तोष सुवेदी

कास्की, असोज ४ गते । कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट–ठूलीवेशी–देउपूरवेसी–पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले रूपा १ र ७ मा पर्ने उक्त रिङ रोडको दोस्रो खण्डको संयुक्त शिलान्यास गर्नुभयो । 

सङ्घ र प्रदेश सरकारले बराबर आर्थिक भार व्यहोर्ने गरि (समपूरक योजना) ४७ करोड १८ लाख ९१ हजार रूपियाँ लागतमा १६.१२९ किलोमिटर दूरीको यो बाटो बन्नेछ ।

शिलान्यास कार्यक्रममा बोल्दै निवर्तमान मुख्यमन्त्री अधिकारीले प्रदेश सरकार भएकैले यो सडक बन्न लागेकाले प्रदेश संरचनाको आवश्यकता पुष्टि भएको बताउनुभयो । प्रदेश सरकारकै सहयोगमा गाउँपालिकामा गाउँ–गाउँमा मोटरबाटो पुगेको उहाँले सुनाउनुभयो । "प्रदेश सरकार बन्नु पहिले ५० मिटर पिच बाटो थियो । अहिले धेरै ठाउँमा बाटो बनेको छ । अहिले केही टोलमा पिच बाटो बन्न बाँकी छ । यसले प्रदेश सरकार किन चाहिने रहेछ भनेर देखाउँछ," उहाँले भन्नुभयो ।

गाउँमा सडक पूर्वाधार पुग्ने तर मानिस सहर झर्ने परिस्थिति बन्नु दुःखद भएको उहाँलेले टिप्पणी गर्नुभयो । रूपा रिङरोड बनेपछि गाउँका उत्पादनलाई बजारसम्म पुर्‍याउने विषयमा ध्यान दिनुपर्ने अधिकारीको भनाइ थियो । "खेतबारी बाँझो रहन दिनुहुँदैन । बजारबाट किनेको खान्न भन्ने हुनुपर्छ । बजारबाट खाली आउने गाडीलाई यहाँबाट भरेर पठाउनुपर्छ । पोखराबाटै सामान बोकेर आउने अवस्था भयो भने हामी र भोलिको पुस्ताका लागि अभिशाप हुन्छ," उहाँले भन्नुभयो ।

भौतिक मन्त्री केसीले समयमै काम सक्न र जनतालाई दुःख दिने काम नगर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । काम गर्ने क्रममा निर्माण व्यवसायीलाई कुनै समस्या भए प्रदेश सरकारले त्यसलाई समाधान गर्न सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । निर्माण कार्यमा बजेट अभाव हुन नदिने मन्त्री केसीले सुनाउनुभयो । "अहिले बेगनास तालबाट रामकोटसम्म आउने सडक स्तरोन्नतिका लागि सङ्घ र प्रदेश सरकारबाट विभिन्न खण्डमा काम भइरहेको अवस्था छ । प्रदेशले काम गर्ने गरी छुट्टाइएको खण्डमा बजेट अभाव हुन नदिने तथा सघंले काम गरिरहेको खण्डमा समेत समयमा नै काम सम्पन्न गराउन मेरो पहल रहनेछ," मन्त्री केसीले भन्नुभयो ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले यो रिङरोडको काम सकिएपछि लमजुङ, तनहुँ र कास्कीको आवागमन धेरै सहज हुने विश्वास व्यक्त गर्नुभयो । सडकमा धेरै लगानी गरेको भनेर प्रश्न आउने गरेको तर उत्पादनलाई बजारसँग जोड्दा जनताको जीवनस्तर उकासिने भएकाले सडक आवश्यक रहेको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षमा रिङरोडको बाँकी ३५ किलोमिटर सडकलाई पनि बजेट विनियोजन गरिदिन प्रदेश सरकारलाई अध्यक्ष ओझाले आग्रह गर्नुभयो ।  

निर्माण कम्पनीका प्रतिनिधि भीमकुमार श्रेष्ठले काम गर्ने क्रममा स्थानीय स्तरबाट समस्या नभए समयभन्दा अघि नै काम सक्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्थानीय एकजुट भएमा काम गर्न सहज हुने सुनाउनुभयो ।

यो मोटर बाटो निर्माणको ठेक्का एम-एस जी.एन.सी.पी.एल–बी.बी.आर कन्स्ट्रक्सन जेभी, हेटौंडाले पाएको छ । यसका लागि गत साउन १७ मा निर्माण कम्पनीसँग सम्झौता भएको छ । निर्माणकार्य २०८३ साल माघ १६ सम्म सक्नुपर्ने सम्झौता भएको पूर्वाधार विकास कार्यालय कास्की प्रमुख सी.डी.ई सोभियत खड्काले जानकारी दिनुभयो । रिङरोडको पहिलो खण्डअन्तर्गत फैंचोकदेखि पोल्याङसम्म १० किलोमिटर, रूपा परियोजनाअन्तर्गत ९ किलोमिटर सडक बनिसकेको छ ।