• ११ असोज २०८१, शुक्रबार

लोकतन्त्रमा आफ्नो स्थान खोजे दलितले

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज ४ गते ।  देशभर संविधान दिवस मनाइरहँदा दलित समुदायले भने माइतीघर मण्डलाबाट ‘लोकतन्त्र आयो दलितलाई खोइ ? संविधान आयो दलितलाई खोइ ?’ जस्ता प्रश्न गर्दै राज्यको ध्यानाकर्षण गराउने कोसिस गरेको छ । संविधान दिवसमा मात्र होइन, राजनीतिक नियुक्तिमा दलित खोइ ? भन्ने प्रश्न पनि उनीहरूले गर्दै आएका छन् ।  विगत ४५ दिनदेखि माइतीघर मण्डलामा फलामे सिक्रीमा बाँधिएर धर्नामा बसेको दलितका लागि दलित अभियान नेपालले संविधान दिवसका अवसरमा जनप्रदर्शनसहित संविधान कार्यान्वयन र मानव अधिकारको प्रत्याभूतिको पनि माग गरेको छ । 

संयोजक खगेन्द्र सुनारसहितका युवाले चलाइरहेको ‘दलितलाई खोइ ?’ अभियानले माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म जनप्रदर्शनसहित कोण सभा गरेको हो । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई बहिष्करण गरिएको भन्दै युवाले सडकधर्ना सुरु गरेका थिए । 

‘दलितलाई खोइ ?’ लेखिएको ब्यानरमा आन्दोलन गरिरहेका दलित युवाले सरकार र राजनीतिक नियुक्तिमा दलितको समानुपातिक समावेशीको माग गरेका छन् । मन्त्रीपरिषद्मा क्याबिनेट मन्त्रीमा दलितलाई नसमेटिएको र सरकारले १८ जना राजदूत नियुक्तिको सिफारिस गर्दा एक जना पनि दलित नपारिएपछि अभियानले मण्डलमा सडकधर्ना गर्दै आएको थियो । अभियानका संयोजक सुनारले भन्नुभयो, “लोकतन्त्र आयो दलितलाई खोइ ? नयाँ सरकार आयो दलितलाई खोइ ? दलितका अधिकार कटौती गर्न पाइँदैन । सरकारमा र राजदूत नियुक्तिमा दलितको समानुपातिक सहभागिता हुनु पर्छ ।” 

बिहीबारको आन्दोलनमा बाग्लुङ, रुपन्देही, जाजरकोट, सुर्खेत, दैलख, बाँकेलगायतका ६० जिल्लाका दलित समुदायको सहभागिता रहेको सहसंयोजक रेम रसाइलीले जानकरी दिनुभयो ।