• ११ असोज २०८१, शुक्रबार

नेपालमा दूतावास स्थापना गर्न परराष्ट्र मन्त्रीको क्यानडालाई आग्रह

blog

तस्बिरः परराष्ट्रमन्त्रीको सचिवालय

काठमाडौँ, असोज ३ गते । परराष्ट्र मन्त्री डा‍ आरजु राणा देउवा र क्यानडाली विदेश मन्त्री मेलानी जोलीबीच बुधवार क्यानडाको ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा मन्त्री राणाले नेपालमा दूतावास स्थापना गर्न क्यानडालाई आग्रह गर्नुभएको छ ।

नेपाल–क्यानडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारीलगायतका विषयमा कुराकानी भएको थियो । क्यानडाली विदेश मन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्र मन्त्री डा‍ राणा क्यानडा पुग्नुभएको छ ।

 भेटका क्रममा उहाँहरूले दुई देशबिच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रही आएको बताउनुभएको थियो । नेपाल र क्यानडाले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउँदै छन् । 

त्यस भेटमा परराष्ट्र मन्त्री डा‍‍‍‍‍‍ राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानडाले पुर्‍याएको सहयोगको सराहना गर्नुभयो । नेपालको सांसदले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पास गरेको र यसबाट अब बाँकी रहेका शान्ति प्रक्रियाका कामहरू पनि पूर्ण हुने जानकारी मन्त्री डा राणाले दिनुभयो । 

साथै सो वार्तामा मन्त्री डा‍‌ राणाले नेपालमा पछिल्लो महाभूकम्प, कोभिड महामारीजस्ता अप्ठेरो अवस्थामा पुर्‍याएको सहयोगका लागि क्यानडा सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । नेपाललाई विभिन्न क्षेत्रमा विभिन्न शीर्षकबाट विगत लामो समयदेखि क्यानडाले पुर्‍याउँदै आएको आर्थिक सहायता तथा विकास साझेदारका रूपमा गर्दै आएको सहयोगको त्यस अवसरमा मन्त्री डा राणाले स्मरण गर्नुभयो ।