अविनाश चौधरी
धनगढी, भदौ ३१ गते । चालु आर्थिक वर्षको दुई महिना बजेटबिनै गुजारा चलाएको सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेश सभामा संशोधित बजेट प्रस्तुत गर्ने भएको छ ।
तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेटलाई संशोधन गरेर प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि नयाँ बजेट ल्याउन लागेको हो । तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले ३१ अर्ब ३२ करोड ९८ लाख रुपियाँको बजेट सदनमा प्रस्तुत गरेको थियो । तर, मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिका कारण सो बजेट प्रदेश सभाबाट पास हुन सकेन ।
तत्कालीन सरकारले प्रस्तुत गरेको बजेट पारित हुन नसकेपछि सुदूरपश्चिम प्रदेश सरकार अहिलेसम्म बजेटविहीन छ । प्रदेश सरकारले चाँडै बजेट ल्याउने भने पनि विविध कारणवश ढिलाइ हुन गएको स्वीकार्दै मुख्यमन्त्री कमलबहादुर शाहले आज बजेट प्रस्तुत हुने केही दिन अगाडि पत्रकार सम्मेलन गरेर जानकारी गराउनुभएको थियो ।
अघिल्लो सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटको प्राथमिकता सदनबाट पास भएकाले त्यसैको आधारमा रहेर सामान्य पुनरवलोकन गरी बजेट प्रस्तुत गर्ने प्रदेश सरकारको तयारी छ । बजेट सार्वजनिक गर्नका लागि आज दिनको ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ । आज बस्ने प्रदेश सभामा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले बजेट प्रस्तुत गर्नुहुनेछ ।