• ८ पुस २०८१, सोमबार

डिजिटल दुनियाँको प्रभाव

blog

अहिले मानिसको दिनचर्यामा सबैभन्दा बढी प्रभाव डिजिटल उपकरणले पारेको देखिन्छ । इन्टरनेट र सामाजिक सञ्जाल जस्ता डिजिटल दुनियाँबिना अधिकांशको दैनिकी नै चलाउन गाह्रो बन्दै गएको छ । मानिसको आधारभूत आवश्यकता जस्तै बन्दै गएको डिजिटल दुनियाँका कतिपय फाइदा पनि होलान् तर पछिल्लो समय यसले सिर्जना गरेका समस्या पनि विकराल बन्दै छन् । विशेष गरी, युवापुस्तामा डिजिटल उपकरणहरूको लत बस्दै जाँदा यसले समस्या सिर्जना गरेको छ । अन्य नशालु पदार्थहरूको सेवन गरेसरी युवा यसको लतमा फसेका छन् । यसबाट उम्किन उनीहरूलाई गाह्रो बन्दै गएको छ । यस्ता उपकरणको अत्यधिक प्रयोग गर्दा विभिन्न किसिमका मानसिक, शारीरिक एवं स्वास्थ्यसँग सम्बन्धित समस्या देखा पर्न थालेका छन् । 

सूचना तथा सञ्चार प्रविधिको विकास विगत २० वर्षको अवधिमा द्रुतगतिमा बढ्दै गएको देखिन्छ । त्यसअघि चिठीपत्र र टेलिफोनमार्फत सूचना तथा जानकारीहरू आदानप्रदान हुँदै आएकोमा इन्टरनेटको विकासले यसको स्वरूपमा ठुलो परिवर्तन गरिदियो । सन् १९८० को दशकमा जब इन्टरनेट सुरु भयो, यसले सञ्चारको नयाँ युगको प्रतिनिधित्व गर्‍यो । अझ सामाजिक सञ्जाल र स्मार्टफोनको उदयपश्चात् यसको प्रयोगलाई अझ व्यापक बनाउँदै लग्यो । फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक, भाइबर, एक्स (ट्विटर), ह्वाट्सएप, युट्युब जस्ता सामाजिक सञ्जाल प्रयोगमार्फत जानकारी, विचार र अभिव्यक्ति आदानप्रदान हुन थालेपछि यसको स्वरूप बृहत् हुन पुग्यो । सामाजिक सञ्जालमार्फत छिटो एवं छरितो रूपमा देशविदेशका सूचना तथा जानकारीको आदानप्रदान हुने, सहज रूपमा साथीभाइ, घरपरिवार एवं आफन्तसँग सम्पर्क गर्न मिल्ने, आफ्ना सिर्जना र कलाकौशल सहज रूपमा पस्किन मिल्ने तथा व्यापार व्यवसायमा समेत सहयोगी देखिएकाले सुरुका दिनमा यसको प्रयोगलाई सकारात्मक दृष्टिकोणले हेर्न थालियो तर जब यसको प्रयोग आवश्यकताभन्दा बढी हुँदै गयो र दुरुपयोगसमेत हुन थालेपछि नकारात्मक प्रभावहरू देखिन थाले । 

अहिले अधिकांश मानिसको दिनचर्या सामाजिक सञ्जालबाट सुरु भएर यसैमा अन्त्य हुने गरेको देखिन्छ । बिहान उठेदेखि नसुत्दासम्म यसैमा रमाइरहेको देखिन्छ । विशेष गरी, युवापुस्ता यसैमा बढी झुम्मिरहेको पाइन्छ । स्मार्टफोन, कम्प्युटर, ल्यापटप र अन्य यस्तै डिजिटल उपकरणमा युवापुस्ताले लामो समय बिताउने गरेका छन् । पछिल्ला विभिन्न अनुसन्धानले दुईदेखि तीन घण्टासम्म लगातार स्क्रिनमा बिताउने व्यक्तिमा अन्य व्यक्तिको तुलनामा दुई गुणा बढी डिप्रेसन र एन्जाइटीको समस्या हुन सक्ने सम्भावना देखाएको छ । यस्ता व्यक्तिमा मानसिक स्वास्थ्य समस्या हुने जोखिम उच्च रहेको बताइएको छ । मानसिक स्वास्थ्यले व्यक्तिको मनोवैज्ञानिक, संवेगात्मक तथा सामाजिक तन्दुरुस्तीलाई बुझाउँछ । डिप्रेसनको समस्या भएका व्यक्तिमा यो तन्दुरुस्ती देखिँदैन । यस्ता व्यक्ति कोहीसँग बोल्न मन नगर्ने, एक्लै एकान्तमा बस्न खोज्ने, खान मन नगर्ने, निद्रा नलाग्ने, धेरै सोच्ने, अल्छी हुने, रुचि लागेका काममा रुचि घटाउँदै लाने, नकारात्मक मात्र सोच्ने, छिटो झनक्क रिसाउने जस्ता सङ्केत देखिने गरेका छन् । यसलाई डिजिटल डिप्रेसनको संज्ञा दिइएको छ । यसका केही उदाहरण हाम्रा छरछिमेक एवं विद्यालयमा समेत देखिने गरेका छन् ।

पछिल्लो समय फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालमा सम्प्रेषित सामाग्रीले प्रयोगकर्ताको सोचाइ, बुझाइ, व्यवहारमा गहिरो प्रभाव पारेको देखिन्छ । साथीभाइ, छरछिमेक एवं आफन्तद्वारा सम्प्रेषण गरिएका सामाग्रीको सत्यताको खोजी नगरी, जे देख्यो त्यसैलाई सत्य मान्ने प्रचलन छ । यसले उनीहरूलाई दुःखी बनाएको देखिन्छ । कतिपयले सम्प्रेषित सामग्रीलाई आफ्नो जीवनशैलीसँग तुलना गर्दै आफू अरूभन्दा पछि परेको अनुभूति गर्ने गरेको पाइन्छ । विशेष गरी, नेपालमा बस्ने युवा बेरोजगारी, घरेलु समस्या, विभिन्न आर्थिक, सामाजिक एवं राजनीतिक कारणले नैराश्य देखिएका छन् । यस्तो अवस्थामा आफूसँगै पढेका तथा एउटै उमेरका साथीभाइको सामाजिक सञ्जालमा देखिएको जीवनशैलीले उनीहरूलाई समेत छिटोभन्दा छिटो सफल हुने हतार देखिन्छ । छिटो सफलता प्राप्त गर्ने लोभले कतिपय ठगिने गरेका घटनासमेत बाहिर आएका छन् । आफूले सोचे अनुसारको हुन नसकेपछि उनीहरू खिन्न देखिन्छन् । यसै गरी कसैको चरित्र हत्या गर्ने, गाली बेइज्जती गर्ने, सामाजिक एवं राजनीतिक अशान्तिका घटनाक्रमसँग सम्बन्धित सम्प्रेषित सामग्रीले समेत उनीहरूलाई चिन्तित तुल्याएको छ । 

व्यक्ति लामो समय स्क्रिनमा बस्दा आँखा मात्र व्यस्त भएको देखिए पनि प्रयोगकर्ताको मनमस्तिष्कलाई समेत यसले नियन्त्रण गरेको हुन्छ । यसले उसको परिवार, आफन्त तथा मित्रजनबाट बिस्तारै टाढा लगेको उसलाई महसुस नै हुँदैन । उता आर्टिफिसिल इन्टेलिजन्स (एआई) ले इन्टरनेटको संसारमा प्रयोगकर्ताको इच्छा एवं रुचि अनुसारका सामग्री उपलब्ध गराएर मन्त्रमुग्ध पार्न सफल भएको देखिन्छ । यसले लामो समय व्यक्तिलाई डिजिटल दुनियाँमा रमाउन मद्दत गरेको छ । यसरी रमाउने बानीले मानिसलाई बाहिरी दुनियाँबाट अलग गर्दै लगेको देखिन्छ । जब मानिस एक्लो हुँदै जान्छ, उसमा मानसिक समस्या देखा पर्न थाल्छ । आफ्ना समस्या अरूलाई भन्न हिच्किचाउने, आफू मात्र सही हो भन्ने भावना जाग्ने र अटेरी स्वभावले व्यक्तिमा डिप्रेसनको सम्भावना बढ्दै गएको देखिन्छ । आफ्नो मनोभावनालाई नियन्त्रण गर्न नसक्दा दिमागले विभिन्न नकारात्मक कुरामा प्रोत्साहन गरेको देखिन्छ । यसपछि कतिपयले अप्रिय कदमसमेत चालेका घटना सुनेका वा देखेका छौँ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आव २०८०/८१ मा भएको आत्महत्या घटनाको तथ्याङ्क भर्खरै सार्वजनिक गरेको छ, जस अनुसार नेपालमा गत आवमा सात हजार २२३ जनाले आत्महत्या गरेका छन् । नेपालमा ६.५ प्रतिशत वयस्क र ३.९ प्रतिशत किशोरकिशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको प्रतिवेदनमा उल्लेख छ । यसमा एउटा प्रमुख कारण मानसिक रोगसमेत परेको छ, जसमा डिजिटल क्षेत्रको समेत महत्वपूर्ण भूमिका देखिन्छ । यसै गरी, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को तथ्याङ्क हेर्दा विश्वभरका किशोरकिशोरी मानसिक स्वास्थ्य समस्याको जोखिममा छन्  । १० देखि १९ वर्षमध्येका हरेक सात जनामा एक जनाले मानसिक स्वास्थ्य समस्या अनुभव गरेका हुन्छन्, जुन यस उमेर समूहमा १३ प्रतिशत हो  । डब्लुएचओका अनुसार १० देखि १४ वर्षका ३.६ प्रतिशत र १५–१९ वर्षका ४.६ प्रतिशतले चिन्ता विकार अर्थात् एन्जाइटी डिसअर्डरको अनुभव गर्छन्  । त्यस्तै, १० देखि १४ वर्षका १.१ प्रतिशत र १५ देखि १९ वर्षका २.८ प्रतिशतमा डिप्रेसन हुने अनुमान गरिएको छ । युवा अवस्थामा हुने बिरामी र अपाङ्गताको प्रमुख कारणमा डिप्रेसन, चिन्ता र व्यवहारगत विकार पर्ने गरेको बताइएको छ । 

युवा अवस्था जीवनकालको अद्वितीय र महत्वपूर्ण समय हो । यो अवस्थामा विकसित मानसिक स्थिति, सामाजिक र भावनात्मक अवधारणाले उनीहरूको भविष्य सुनिश्चित गर्ने गर्छ । युवा मुलुकको भविष्यका कर्णधार हुन् । यसै कारण मुलुकको भविष्यसमेत उनीहरूमै निर्भर हुन्छ । देशका युवा शारीरिक एवं मानसिक रूपमा स्वस्थ, सक्षम एवं उत्पादनशील भए मात्र मुलुकमा सकारात्मक परिवर्तनको आशा गर्न सकिन्छ । यसै कारण डिजिटल दुनियाँको कुलतबाट युवालाई टाढा राख्नु पर्ने आवश्यकता देखिन्छ । यसका लागि युवा स्वयम्लाई जिम्मेवार बनाउनुपर्ने आवश्यक देखिन्छ । उनीहरूलाई डिजिटल क्षेत्रका सकारात्मक एवं नकारात्मक पक्षबारे सुसूचित गराउन अभिभावक र समाजको समेत महìवपूर्ण भूमिका देखिन्छ । सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट यो समस्या केही हदसम्म न्यूनीकरण गर्न सकिने अनुमान गरिएको छ । यसबाहेक अन्य आवश्यक नीति तथा कार्यक्रमको तर्जुमाका लागि गृहकार्य गर्नुपर्ने देखिएको छ । यसै गरी मुलुकभित्रै रोजगारीको सिर्जना गर्दै युवालाई देश विकासमा अनिवार्य सहभागिताको अवधारणा अघि सार्नुपर्ने आवश्यकता छ ।

हरेक क्षेत्रका आआफ्नै गुण र दोष भए जस्तै डिजिटल क्षेत्रका समेत लाभ र हानिलाई पहिल्याउन सक्नुपर्ने आवश्यकता देखिन्छ । नयाँ नयाँ खोज एवं आविष्कारका सूचना प्राप्त गर्न, अध्ययन अध्यापन तथा खोज अनुसन्धानमा सहयोग पुर्‍याउन, पुराना सम्बन्धलाई ताजा बनाई राख्न, टाढा रहेका आफन्त, साथीभाइ तथा छरछिमेकलाई नजिक ल्याउन, सुख सबैसँग बाँड्न, दुःखमा सहारा बटुल्न आदिका लागि सामाजिक सञ्जाल एउटा माध्यम बन्न सक्नेमा दुईमत छैन । तथापि विज्ञानका उपलब्धि सकारात्मक कर्ममा उपयोग गरिए वरदान र नकारात्मक कर्ममा प्रयोग गरिए अभिशाप बन्ने तथ्यलाई समेत भुल्न नहुने देखिन्छ ।   

Author

धर्मराज भट्टराई